
इटहरी । २७ वर्षअघि १३ सय रुपैयाँको लुगा सिउने मिसन बाकेर मोरङको दर्बेसाबाट सुनसरीको इटहरी पसेका सुशील परिवार अहिले करोडका मालिक भएका छन् । सीप सदुपयोग गरे पैसा कमाउन विदेश जानु नपर्ने मान्यता राख्ने महरा इटहरीका लागि मात्र नभई मुलुकभरका बेरोजगार युवाका निम्ति उदाहरणीय बनेका छन ।
इटहरी उपमहानगरपालिकाको मुख्य चोकबाट दक्षिणतर्फ इटहरी विराटनगर राजमार्गको पूर्वमा रहेको आकर्षण बस्त्रालय अगाडि एउटा लुगा सिउने मेशिन एरि बसेका महरालाई काम थालेदेखि एक दिन पनि खाली बस्नु परेको छैन । उनी १७ वर्षको उमेरमै विवाहबन्धनमा बाँधिई ०४७ मा १३ सयमा किलेको लुगा सिउने मेशिन बोकेर इटहरी झरेका थिए ।
गाउँमै ऋण खोजेर महराले छिमेकी गाउँ बिसनपुरबाट सेकेण्डहृयाण्ड मेसिन खरिद गरेका थिए । उनी इटहरी आउँदा कपडा पसल कमै मात्र खुलेका थिए । रेडिमेट कपडा पसल भर्खरै खुल्न थालेका थिए । जिन्सका रेडिमेट कपडा बेच्ने पसल धमाधम खुल्न थालेका थिए । इटहरी गएर केही फरक काम गर्ने सोंच बनाएर नै उनले मेसिन काँधमा बोकेर आएको स्मरण गर्छन् ।
गाउँबाटै ब्यापार गर्न इटहरी आएका शुभकामना र भट्टराई स्टोरका सञ्चालकको सुझावमा सुरुबाटै जिन्स पेन्ट फिटिङ, फुल फिटिङ, उध्रिएको कपडा सिलाउने लगायतका काम थालेको उनी बताउँछन् ।जुन स्थानमा उनी पहिले मेसिन राखेर काम गर्थे अहिले पनि त्यही (सडकपेटी) बसेरै ब्यवसायलाईं निरन्तरता दिइरहेका छन् । महराले ०५२ देखि ब्यवसायकि रुपमै जिन्स र कटन पेन्ट तथा सर्टको फिटिङ थालेका थिए ।
सुरुमा एउटा पेन्ट फुल फिटिङ गरेको ज्यालाबापत ३० रुपैयाँ लिने गरेको उनी सम्झिन्छन् । त्यतिबेला लिने ३० रुपैयाँ ज्याला अहिले बढेर ७० पुगेको छ । बजारमा चलेको फेसनअनुसार जिन्स पेन्ट चुज बनाउन र फुल फिटिङ गर्न सबैभन्दा बढी युवती आउने गरेको महरा बताउँछन् ।
विराटनगर र धरानबाट पनि ग्राहक आउने गरेको महरा बताउँछन् । उनले सिलाइ पेसाबाटै अहिलेसम्म १ करोडभन्दा बढीको सम्पत्ति जोडिसकेका छन् । जेठी छोरीलाई नर्स पढाइरहेका छन् । जिन्स तथा कटन पेन्ट फिटिङ गरेबापत मासिक लाख रुपैया भन्दा बढि कमाउँछन। महराले सिलाइ व्यवसायबाटै इटहरीमा दुई वटा घर जोडेका छन ।
इटहरीको सात धुर जग्गामा आफ्नै कमाइबाट अढाईतले पक्की घर निर्माण गरेका छन् १३ सय रुपैयाँको मेसिनले करोडपति भएकोमा महरा गर्व गर्छन् । उनी भन्छन ‘स्वेदशमा धैर्यपूवर्क पेसा–व्यवसायलाई निरन्तरता दिन सके विदेशमा कमाउन जानैपर्दैन । अहिलेको युवा पुस्ता एकैपटक धेरै आम्दानी लिने आशमा विदेश भौँतारिन्छ, जुन गलत हो ।’ करोडपति बनाउने मेसिन र कामप्रति गर्व गर्ने महरा सकुन्जेल सिलाइ पेसालाई निरन्तरता दिने बताउँछन् । कुनै पनि पेसाबाट रकम आर्जन गरेर मात्र नहुने र त्यसलाई सदुपयोग गर्न बचत आवश्यक रहेकोमा उनी जोड दिन्छन् ।
सीप, जाँगर र इच्छाशक्ति हुनेका लागि नेपालमा प्रशस्त अवसर रहेको दाबी महराको छ । काम गर्नेलाई कहिल्यै पैसा अभाव नहुने बताउँछन् महरा । नयाँ घर बनाएर १३ सयमा खरिद गरेको मेसिनलाई घरको माथिल्लो तलामा संग्रह गरी राख्ने योजना उनले सुनाए । २४ वर्षसम्म खासै नबिग्रिएको सिलाइ मेसिनबाटै अहिले पनि आम्दानी लिँदै आएको महराले बताए । उनी भन्छन, ‘मेरो जिन्दगीलाई कायापलट गराउने मेसिन नै यही हो, सोही कारण बिहान–साँझ मेसिनलाई पुज्ने गर्छु ।’ सञ्चारपाटी



