
बिर्तामोड / नेपाली काँग्रेसका केन्द्रीय नेताहरुले दुईतिहाई बहुमत प्राप्त कम्युनिष्ट सरकारले पार्टीकै संरक्षणमा चरम भ्रष्टाचार गरिरहेको आरोप लगाउँदै जनताको अपेक्षा अनुकुल कार्य गर्न नसकेको धारणा राखेका छन् ।
नेपाली काँग्रेस झापाको आयोजनामा बिर्तामोडमा सम्पन्न जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै काँग्रेस नेताहरुले बालुवाटार जग्गा प्रकरण, सुन तस्करी, वाइडबडी, एनसेल, फोरजी सेवालगायतका ठूल्ठूला भ्रष्टाचार काण्डका आरोपीहरुलाई सरकारले नै संरक्षण गरिरहेको आरोप लगाउँदै पार्टीकै संरक्षणमा पैसा कमाएर आगामी चुनाव जित्ने रणनीतिमा नेकपा लागेको आरोप लगाएका हुन् ।
चुनावअघि राष्ट्रियताको नारा जोडतोडका साथ उठाउने प्रधानमन्त्री केपी ओली र उनी नेतृत्वको सरकार लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत क्षेत्रमा सीमा समस्या देखिँदा बालुवाटारमा लम्पसार परेको भन्दै केन्द्रीय नेताहरुले प्रधानमन्त्रीस्तरबाटै कुटनीतिक क्षमता प्रदर्शन गरेर समस्या समाधान गर्न ओली सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा नेतृत्वको सरकारले राज्यशक्तिको चरम दुरुपयोग गरिरहेको बताउँदै एकथोक बोलेर अर्कै काम गर्नेलाई हितोपदेशले दुरात्मा भनेको चर्चा गरे । निर्वाचन अघिको नारा र अहिलेको कार्यशैली हेर्दा कम्युनिष्ट नेतृत्वको सरकार दुरात्माकै बाटोमा हिँडिरहेको उनको आरोप थियो ।
‘जनताले सडक, पर्यटन, ऊर्जाको विकास, नदीको तटबन्ध, रोजगारीजस्ता अवसर खोजेका छन्’–नेता पौडेलले भने–‘सरकार पानीजहाज, रेल, २ अर्ब लगानीमा भ्यू टावर निर्माण आदिको सपनामा अल्मलिएको छ ।’
राजनीतिमा गुुट उपगुट स्वभाविक हुने तर, गुटबन्दीको व्यवस्थापन नेतृत्वले गर्नुपर्ने सुझाव दिँदै उनले गुटबन्दी गर्ने नेताको मूल्याङ्कन कार्यकर्ताले गरेमा पार्टीभित्र अनुशासन सुध्रने भनाई राखे ।
काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री आफैंले गणतन्त्र, संवैधानिक सर्वोच्चता, प्रेस स्वतन्त्रता स्वीकार नगरेको आरोप लगाउँदै नियन्त्रित लोकतन्त्रान्त्रिक शासन व्यवस्थाका लागि संविधान विपरित ऐन÷कानून बनाइरहेको धारणा राखे ।
‘चीनमा प्रजातन्त्र छैन, अप्रजातान्त्रिक मुलुकको कानून सिकाउन सरकारका प्रतिनिधि तथा पार्टी प्रतिनिधिलाई चीन पठाउने खतरनाक सम्झौता सरकारले गरेको छ’–उनले भने–‘कुनैपनि मुलुकका कम्युनिष्ट शासकले लोकतन्त्र र संघीय शासन चाहँदैनन् ।’ खर्चमा मितव्ययिता नअपनाए संघीयता खतरामा पर्ने उनको भनाई थियो ।
भ्रातृ संस्था र पार्टीको महाधिवेशनपश्चात मात्रै काँग्रेस ट्र्याकमा आउने दावी गर्दै उनले भ्रातृ संस्थाहरुको निर्धारित समयमा अधिवेशन र संस्थालाई चलायमान बनाउन पार्टी नेतृत्वको ध्यानाकर्षण पनि गराए ।
कार्यक्रममा अर्का वक्ता धनराज गुरुङले भारतको मिचाहा प्रवृत्तिका विरुद्ध सारा नेपाली एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै एक चिम्टि माटो र राष्ट्रियताको संरक्षणका लागि गोली खान तयार रहेको उद्घोष गरे । ओली सरकार भारतसँग लम्पसार परिसकेको टिप्पणी गर्दै उनले भने–‘निर्वाचन अघि केपी ओलीको नाकमा रहेको राष्ट्रियताको नारा पित्तलमाथि सुनको जलप रहेछ, त्यो जलप अहिले पित्तलमा परिणत भइसकेको छ ।’
प्रधानमन्त्रीले बारम्बार गणतन्त्र खतरामा रहेको भन्दै दिएको अभिव्यक्तिप्रति संकेत गर्दै उनले प्रश्न गरे–‘गरीबले उपचार नपाएर, छोराछोरी पाल्न नसकेर आत्महत्या गर्ने अवस्थामा पुगेका बेला तीनै गरिब जनताबाट उठाएको करले राष्ट्रपतिलाई हेलिकोप्टर किन्दा कसरी गणतन्त्र खतरामा पर्दैन प्रधानमन्त्री ज्यू ?’
अर्का केन्द्रीय सदस्य तथा राष्ट्रियसभाका प्रमुख सचेतक सरिता प्रसाईँले काँग्रेसमाथि धावा बोल्ने सत्ताधारीहरु पाखा लागेको इतिहास बताउँदै नेकपा नेतृत्वलाई होसियार रहन चेतावनी दिए । नेपाली काँग्रेस विचार, सिद्धान्त र इतिहास बोकेको पार्टी भएको चर्चा गर्दै उनले एकजुट भए कसैले हराउन नसक्ने दावी गरे ।
काँग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले लोकतान्त्रिक विधि र संविधान मिचेर अलोकतान्त्रिक शासन गर्ने रणनीतिमा वर्तमान सरकार लागेको आरोप लगाउँदै सरकार र नेकपाप्रति जनताको मोह भंग भइसकेको धारणा राखे । सरकारका कामकारबाहीप्रति निराश बनेका जनताको मनोभावनाको सम्बोधन काँग्रेसले गर्नसके स्वतः पार्टीप्रति जनमत बढ्ने उनको भनाई थियो ।
कार्यक्रममा सांसद् महेन्द्राकुमारी सुब्बा, नेपाली काँग्रेस झापाका पूर्व सभापति तथा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, ओखलढुङ्गा सभापति प्रदीप सुनुवार, प्रदेश नं–१ का संसदीय दलका प्रमुख सचेतक केदार कार्की, युवा नेता रामहरि खतिवडालगायतले मन्तब्य राख्दै काँग्रेसभित्रका गुट उपगुट समाप्त पारेर नीति, कार्यशैली र क्रियाशिलताका आधारमा कार्यकर्तालाई अवसर दिन आग्रह गरेका थिए ।
नेपाली काँग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति राम कट्टेल र सञ्चालन तारावीर कटुवालले गरेका थिए ।
‘सीमा विवाद सुल्झाउन प्रधानमन्त्रीस्तरबाट वार्ता आवश्यक’
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले सीमा विवाद देखिएका ठाउँको दशी प्रमाण सुरक्षित गरेर समाधानका लागि प्रधानमन्त्रीस्तरबाट भारतसँग वार्ता गर्न सरकारलाई सुझाव दिएका छन् ।
नेपाल प्रेस युनियन झापाको आयोजनामा बिहीबार बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा नेता पौडेलले वार्ताबाट समाधान नभए दोस्रो चरणमा मात्रै सीमा विवादको मुद्धालाई अन्तर्राष्ट्रियकरण गर्न सुझाव दिए ।
‘छिमेकीको हेपाहा प्रवृत्ति र सीमा सुरक्षामा नेपालको लापरवाहीका कारण सीमा सुरक्षामा प्रश्न उठेको छ’–नेता पौडेलले भने–‘अहिले दुईतिहाईको बलियो सरकार छ, कसैले ढाल्छ कि भनेर डराउनुपर्ने अवस्था छैन, यो सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानीसहित सीमा विवाद देखिएका अन्य क्षेत्रमा नेपालको भूभागजतिका दशीप्रमाण फेला पारेर सरकार कडा रुपमा प्रस्तुत होस् ।’ राष्ट्रवादको नारा लगाएर सत्तामा पुगेका प्रधानमन्त्री केपी ओलीले देश र जनतालाई धोका नदिई राष्ट्रिय छवि प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिए ।
सीमा विवाद टुङ्ग्याउन सरकार अघि बढे त्यसमा सहयोग गर्न प्रतिपक्षी दल काँग्रेस तयार रहेको बताउँदै उनले सचिवस्तरको बैठकबाट सीमा विवाद नटुङ्गिने दाबी गरे ।
दुईतिहाई बहुमतको सरकार हुँदा पनि नेपालको विकास र दीर्घकालीन योजनाका लागि लगानी नभित्रिएको बताउँदै नेता पौडेलले यसबाट समृद्धिको लक्ष्य पूरा नहुने ठोकुवा गरे ।
‘सरकार पुरानै योजनाको शिलान्यास र उद्घाटनमा अल्मलिएको छ’–उनले प्रश्न गरे–‘यसले कसरी समृद्धिको यात्रा पूरा हुन्छ ?’
नेपालमा आर्य, मंगोल र आग्नेय परिवारका समुदायको समिश्रित संस्कृति रहेको बताउँदै उनले काँग्रेस सबैको संरक्षणको पक्षमा रहेको बताए ।
नेपाली काँग्रेस झापाका सभापति उद्वव थापाले राष्ट्रिय अखण्डता जोगाउने सवालमा सबै एकजुट भएर उभिन आग्रह गर्दै सीमा विवादका विषयमा राज्यको धारणा नआउनु दुःखद भएको टिप्पणी गरे ।
नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दू पूर्वेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कृष्ण हुमागाईंले गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस झापाका उपसभापति राम कट्टेल, कोषाध्यक्ष केशवराज पाण्डे, प्रवक्ता लोकराज ढकाल, नेपाल महिला संघ झापा अध्यक्ष सुशीला ढकाल, नेपाल ट्रेड युनियनका केन्द्रीय सदस्य उर्मिला पोखरेललगायतको उपस्थिति थियो ।जन संसद दैनिकबाट ।



