कृषि र किसान

सरकारको ‘एक स्थानीय तह, एक पशु प्राविधिक’ कार्यक्रम

पुष्प बराल

बिर्तामोड / सरकारले ‘एक स्थानीय तह, एक पशु प्राविधिक’ कार्यक्रम सञ्चालनमा ल्याएपनि औषधि र प्राविधिकको पक्षमा भने अभैपनि चुनौति रहेको छ ।

स्वयं पशुपंक्षी औषधि व्यवसायी र प्राविधिकहरुले यो क्षेत्र व्यवस्थित बन्न नसकेको बताएका छन् ।

बिर्तामोडमा आजभन्दा ४० वर्षअघिदेखि यो व्यवसाय सुरु भएतापनि हालसम्म व्यवस्थित बन्न नसक्दा कृषकहरुले उचित लाभ लिन सकेका छैनन् । नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ गठन भएको पनि सात कार्यकाल पूरा भएको छ । यतिका समयसम्ममा पनि ग्रामिण इलाकाका कृषकहरु प्राविधिक सेवा पाउनबाट बञ्चित भएका छन् ।

नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ मेचीका निवर्तमान अध्यक्ष विष्णु भट्टराईका अनुसार सरकारले ल्याएको विभेदकारी शहर केन्द्रीत औषधि पसल दर्ताका कारण ग्रामिण इलाकाका किसान मारमा परेका छन् । उनले शहर केन्द्रीत पसल दर्ता नभई ग्रामिण भेगमा समेत औषधि पसल खोल्न पाउनुपर्ने माग गरेका छन् । उनले भने–‘अहिले पनि कृषकहरुले शहरसम्म धाएर औषधि खरिद गर्नुपर्ने बाध्यता छ ।’

अन्य क्षेत्रमा जस्तै यस क्षेत्रमा पनि विकृति छ । मेची अञ्चलमा ५ सयको हाराहारीमा पशुपंक्षी औषधि पसल सञ्चालनमा रहेपनि करिब ३ सय पसल मात्र दर्ता हुनु बिडम्बना छ । पछिल्लोसमय पशुपालन क्षेत्रमा अधिकाँश नेपालीको आकर्षण बढ्दै गएको छ । योसँगै उपचार र औषधि सेवनकोे आवश्यकता वृद्धि भएको छ । तर, सरकारी निकायले निरन्तर नियमन र अनुगमन नगर्दा अनावश्यक औषधि प्रयोग, प्रविधिको मनपरि प्रयोग, एन्टिवायोटिक औषधिको असरलगायत समस्या उत्पन्न भएका छन् ।

मेची अञ्चलका पशु डाक्टर गंगाराम यादवका अनुसार एन्टिवायोटिक प्रयोगपछि कृषकलाई परामर्स नदिँदा त्यसको असर आम उपभोक्तालाई परिरहेको छ । यसप्रति व्यवसायी र प्राविधिक जिम्मेवार हुन आवश्यक छ ।

पछिल्लोसमय अग्र्यानिक उत्पादनको कुरा नउठेको हैन, तर प्राविधिकले त्यसको असरका बारेमा जानकारी नगराउँदा उपभोक्ता मन्द विष खान बाध्य भएका डा. यादवको भनाई छ । एन्टिवायोटिक प्रयोग गरेको कति समय पशुको दूध खानु हुँदैन भन्ने जानकारी नगराईँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर समस्या पर्नसक्ने डाक्टरको भनाई छ ।

झापा जिल्लालाई देशकै सुगम जिल्लाका रुपमा परिभाषित गरिएको छ । तर, राज्यले प्रदान गर्ने सेवा सुविधा भने पहुँचवाला व्यक्तिले मात्र उपयोग गरिरहेको स्थानीय तहमा कार्यरत् पशु प्राविधिकले बताएका छन् । सरकारी सेवा सुविधा तल्लो वर्गसम्म पुग्न सकेको छैन ।

तत्कालीन मेची अञ्चलका ४ जिल्ला दूध र मासुमा आत्मनिर्भर हुने अवस्थामा पुगेको छ । तर, त्यसको गुणस्तरमा सबैभन्दा जिम्मेवार पशु प्राविधिक हुने भएकाले जिम्मेवार भएर काम गर्न नेपाल पशुपंक्षी औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष चित्रबहादुर गुरुङले आग्रह गरेका छन् ।

व्यवसायीले पशुपंक्षीका लागि पसल दर्ताको निश्चित मापदण्ड बनाई विना दर्ताका पसललाई दर्ता प्रक्रिया सहज बनाउन र अति आवश्यक औषधिको सहज बिक्री वितरण गर्ने व्यवस्था मिलाईनुपर्ने माग गरेका छन् ।

यसैबीच, श्यामबहादुर निरौलाको अध्यक्षतामा नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ मेचीको नयाँ कार्यसमिति चयन गरिएको छ । संघको आगामी कार्यकालका उपाध्यक्षमा पुण्यप्रसाद भट्टराई, सचिवमा विश्वबन्धु बुढाथोकी र कोषाध्यक्षमा मदन खड्का छन् ।

त्यस्तै, सदस्यहरुमा दिनेश ढकाल, भीम निरौला, भुवन कार्की र जीवन सुवेदीलाई चयन गरिएको छ ।जनसंसद दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button