मूल खबर

छिमेकी देशले हाम्रो भूमिबाट आफ्ना सेना फिर्ता लैजाओस् –प्रम

तस्बिर साभार : विष्णु सापकाेटाकाे फेसबुक

काठमाडौं, मंसिर १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च जमिन कसैलाई मिच्न नदिइने स्पष्ट पार्नु भएको छ । आइतबार यहाँस्थित राष्ट्रिय युवा संघ नेपालको भेला उद्घाटन समारोहमा उहाँले सरकार आफ्नो देशको सीमाना रक्षा गर्न सक्षम रहेको बताउनुभयो ।
मुलुकको सीमाना रक्षा गर्ने र अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा सबै एकजूट भएर एकताको सन्देश प्रवाह भएको बताउँदै उहाँले जनताबाट प्राप्त बलियो समर्थनका लागि धन्यवाद ज्ञापन पनि गर्नुभयो ।
‘दशकौं अघि अतिक्रमित भूमिको विषयलाई लिएर अहिले भर्खरै सीमा मिचिएको जस्तो गरेर प्रचार भइरहेको छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो देशभक्त सरकार कसैलाई पनि हाम्रो एक इन्च पनि जमिन मिच्न दिंदैन, छिमेकी देशले हाम्रो भूमिबाट आफ्ना सेना फिर्ता लैजाओस् ।’ संसारसामु शान्तिप्रिय छवि भएको नेपालले आफूले पनि कसैको एक इन्च जमिन नमिच्ने र अरुलाई पनि आफ्नो जमिन मिच्न नदिने प्रधानमन्त्री ओलीले बताउनुभयो ।
‘कतिपयले नयाँ नक्सा छाप्न सुझाव दिनु भएको छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी नक्सा सच्याउनु भन्दा अगाडि अतिक्रमित भूमि फिर्ता लिन चाहन्छौं ।’
‘राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा सरकारलाई सबैको साथ रहेको छ । सरकारलाई प्राप्त बलियो समर्थनका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तर, आफूलाई अतिरिक्त देशभक्त देखाउन गरिने उत्श्रृंखल गतिविधि अनुचित छन् । हामी कुटनीतिक संवादबाट समस्याको समाधान गर्नेछौं ।’
‘कानुनी पूर्वाधार बनाउन हामीले धेरै समय लगाउनु परे पनि आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पु¥याउन सफल भएका छौं, आयात घटाउँदै निर्यात बढाएर व्यापार घाटा कम गर्दै लगेका छौं’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘उत्पादन बृद्धि र पूर्वाधार विकासमा हामी तीब्र गतिका साथ अघि बढेका छौं ।’
‘सरकारले राम्रै गरे पनि कम्युनिस्ट सरकार छ कसरी राम्रो भयो भन्नू भन्ने हिसावले एकथरीले आइडियोलोजिकल विरोध गरिरहेका छन्’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अर्काेथरी सबै कुरा राम्रो हुँदै गए पनि मैले त केही पाइनँ नि भनेर पनि विरोध भइरहेको छ ।’ उहाँले तथ्यमा आधारित विरोधले मात्र कमजोरीहरु सुधार्न सहयोग पुग्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले समाजवाद र पूँजीवादका चारित्रिक विशेषताबारे जानकारी दिंदै सोचाईमा सकारात्मकता, सिर्जनात्मकता र काममा रचनात्मकता अपनाउन युवा संघका कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button