मूल खबर

नयाँ मन्त्रीहरुको शपथका लागि शीतल निवासमा तयारी

काठमाडौं– मन्त्रिमण्डल हेरफेरको बारेमा निर्णय गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठक बालुवाटारमा जारी रहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले केही मन्त्रीलाई विदा गर्ने र केही मन्त्रीको जिम्मेवारी हेरफेर तथा नयाँ मन्त्रीको सिफारिसको निर्णय गर्ने छ ।

मन्त्रिमण्डल हेरफेर बारे नेकपा सचिवाल बैठकले अनुमोदन गरेपछि आजै नयाँ मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ दिलाउने तयारी रहेको छ ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मंगलबार(हिजो) बुधवार(आज) मन्त्रिमण्डल हेरफेर हुने बताएका थिए ।

मन्त्रिमण्डलमा हेरफेर गर्न नेकपाका दुई जना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विहान दुई घन्टा भन्दा धेरै बेर छलफल गरेका थिए । त्यस लगत्तै उनीहरु शीतल निवासस्थित राष्ट्रपति कार्यालय पुगेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग मन्त्रिमण्डल हेरफेरबारे परामर्श गरेपछि अहिले नेकपाको सचिवालय बैठक बसिरहेको छ ।

मन्त्रिमण्डलको हेरफेर हुने भएपछि शीतल निवासमा मन्त्रीहरुको शपथको तयारी गरिएको छ ।

शपथको तयारीका लागि प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डले राष्ट्रपति कार्यालयलाई अनौपचारिक रुपमा जानकारी गराएका छन् ।
‘औपचारिक रुपमा कुनै जानकारी आएको छैन’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो,‘तर हामी तयारी अवस्थामा बसेका छौं ।’

राष्ट्रपति कार्यालय श्रोतका अनुसार साँझ पाँच बजे नवनियुक्त मन्त्रीहरुको शपथको तयारी भएको भएपनि औपचारिक जानकारी भए प्राप्त भएको छैन ।खबरहब

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button