कला

अनमोल र प्रदीपलाई भिडाउने वितरकको प्रयास ‘विफल’

फिल्मीखबर, काठमाण्डौ,
अहिलेका जल्दाबल्दा अभिनेता हुन्, अनमोल केसी र प्रदीप खड्का । दुईलाई फिल्ममा लिन फिल्ममेकरबीच हानाथाप हुने गर्दछ । मेकरमा उनीहरुको नामले नै लगानी उठ्ने विश्वास छ । लोभलाग्दो फ्यान फलोइंग भएका यी दुई अभिनेताबीच केही समययता पारिश्रमिकको मामलामा एकअर्कालाई उछिन्ने होडबाजी चलेको छ । अहिले दुबै अभिनेताले एक फिल्मबापत ५० लाख लिने गरेको चर्चा छ ।

बेला-बखतमा अनमोल र प्रदीपको बक्सअफिस भिडन्तको खबरले पनि फिल्मवृत तात्ने गरेको छ । तर, अहिलेसम्म दुईको फिल्म बक्सअफिसमा भिडेका छैनन् । गत वर्ष प्रदीपको ‘लभ स्टेशन’ र अनमोलको ‘ए मेरो हजुर ३’ एकै मितिमा भिड्ने चर्चा चलेको थियो । तर, अन्तिम समयमा दुबै फिल्म एक हप्ताको अन्तरमा रिलिज भए । यस वर्ष पनि दुई अभिनेताबीच भिडन्तको अनुमान गरिएको थियो ।

अभिनेता प्रदीप खड्काको फिल्म ‘प्रेमगीत ३’ आउँदो चैत २८ मा रिलिज हुँदैछ । यो मितिमा अनमोललेको फिल्म ‘धुपौरे’ आउने चर्चा थियो । वितरक कम्पनी एफडी र रिच इन्टरटेनमेन्टबीच ‘धुपौरे’ लाई चैत २८ मा ल्याउने सहमति भएको थियो । यो मितिमा ल्याउन निर्माता पनि सहमत थिए । तर, हालै अनमोलले स्क्रिप्ट चित्त नबुझेको भन्दै फिल्मबाट हात झिकेपछि ‘प्रेमगीत ३’ सँग भिड्ने वितरकको तयारी विथोलिएको छ ।

प्राप्त जानकारी अनुसार, एफडी कम्पनीले ‘प्रेमगीत ३’ प्रदर्शनको अधिकार मागेको थियो । तर, निर्माता सन्तोष सेनले गोविन्दा शाही र मनोज राठीलाई फिल्मको प्रदर्शन अधिकार दिएपछि एफडी कम्पनीले चैत २८ मा प्रदर्शन गर्ने गरि ‘धुपौरे’ निर्माण गर्न निर्माता-निर्देशकलाई दबाब दिएको स्रोत बताउँछ । वितरकको दबाबमा निर्माण टिमले फिल्मको हत्तारमा छायांकन गर्न लागेको थियो ।

तर, अनमोलले स्क्रिप्टमा आएको परिवर्तनका कारण फिल्मबाटै हात झिके । उनले फिल्म छाड्नुको कारण छायांकनमा जान निर्माण टिमले गरेको हत्तारोलाई पनि मानिएको छ । उनले ‘धुपौरे’ छाडेपछि वितरक कम्पनी एफडी र रिचको ‘प्रेमगीत ३’ सँग भिड्ने रणनीतिमा तुसारापात भएको छ । तर, यी दुई कम्पनी कुनै हालतमा चैत २८ मा अर्को ठूलो फिल्म ल्याउने कसरतमा रहेको स्रोत बताउँछ ।

वर्षौदेखि नेपालमा वितरकका कारण निर्माताले नपाउनुको दुःख पाउने गरेका छन् । एकअर्काको फिल्म डुबाउन वितरकले गर्ने राजनीतिका कारण करोडौं लगानी गर्ने निर्माताहरु घर न घाटको भएका छन् । विदेशी फिल्मसँग भिड्न आँट नगर्ने तर आफ्नै देशको फिल्मसँग भिड्नका लागि निर्मातालाई बाध्य पार्ने वितरकका कारण नेपाली फिल्म क्षेत्रले फड्को मार्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button