खेलकुद

प्याराग्लाडिङ नहुँदा नेपाललाई कम्तिमा आधा दर्जन स्वर्ण घाटा

नेपालले रजत पदक जितेको त्यो दोस्रो थियो । समूहगत खेलमा त त्यो पहिलो र अहिलेसम्मकै दोस्रो रजत पदक थियो । त्यसअघि सन् १९९८ बैंकक एसियाडमा तेक्वान्दोकी सबिता राजभण्डारीले रजत पदक जितेकी थिइन् । सरकारको लगानी विना पनि प्याराग्लाडिङले दिलाएको सफलताले स्वभाविक रुपमा सबैलाई उत्साहित त बनाउने नै भयो ।

त्यसकै आधारमा आयोजकको नाताले नेपाल ओलम्पिक कमिटी (एनओसी) ले हौसिदै थप्न पाउने दुई खेलमा प्याराग्लाडिङ र क्रिकेट थप्यो । तर, अन्ततः साग सुरु हुन दुई साता पनि बाँकी नरहेको अवस्थामा अब प्याराग्लाडिङ इभेन्ट नै हटाइएको छ । २७ खेलबाट अब सागमा २६ खेल मात्र हुने भएको छ ।

नेपालले सबैभन्दा बढी पदक जित्ने सम्भावता रहेको प्याराग्लाडिङ अन्ततः नहुने भएको छ । नेपाल र पाकिस्तानले मात्र खेलाडीको नाम दर्ता गराएपछि सहभागी राष्ट्रको संख्या नपुग्दा प्याराग्लाडिङ स्वत: हटेको छ । बुधबार सम्म टिम दर्ताको अन्तिम नामावली बुझाउनुपर्ने थियो । सागमा अफिसियाल खेलमा ४ र नन-अफिसियन खेलमा कम्तीमा पनि ३ राष्ट्रको सहभागिता पछि मात्र खेल आयोजना गराउन पाउने प्रावधान छ । पुरुष र महिला एकल तथा पुरुष र महिला टिम इभेन्टको दुइ विधामा गरेर प्याराग्लाडिङमा ८ स्वर्ण पदक थिए । प्याराग्लाडिङमा क्रस कन्ट्री र एक्युरेसीमा गरि दुई इभेन्ट समावेश गर्ने तयारी थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले देशलाई बढी पदक दिलाउने उद्देश्यमा सहभागी अन्य राष्ट्रलाई सबै खाले सुविधा दिने प्रस्ताव समेत राखेको थियो । ‘हामीले यहाँ सबै सुविधा दिने, खर्च सबै बेहोर्ने र प्रशिक्षक समेत दिने प्रस्ताव गरेका थियौं’, राखेप सदस्य सचिव रमेशकुमार सिलवालले भनेका थिए, ‘त्यति हुँदा पनि प्याराग्लाडिङमा सहभागी राष्ट्रको संख्या बढ्ने अवस्था बनेन ।’

एनओसीका महासचिव निलेन्द्र राज श्रेष्ठले सहभागि राष्ट्रको सहभागिताका लागि हर सम्भव प्रयास गरेपनि सफल हुन नसकेको बताए । ‘स्वदेशमै प्याराग्लाडिङ हुने भएपछि उत्साहित खेलाडी वैशाखबाट तयारी सुरु गरेका थिए । जसमा २१ पुरुष र ६ महिला खेलाडी सहभागी थिए । अब खेल नहुने भएपनि केहि दिन यताबाट प्रशिक्षण रोकिएको छ,’ उनले भने ।

यति लामो तयारीपछि अन्तिममा खेल नहुने भएपनि स्वभाविक रुपमा खेलाडीहरु निराश भएको टोलीका प्रशिक्षक योगेश भट्टराईले बताए । ‘यो खेलाडी र देश दुवैका लागि घाटाको विषय हो । हामी पदक जित्ने ठूलो आशाका साथ तयारी गरेका थियौं’, उनले भने, ‘प्याराग्लाडिङ दक्षिण एसियामा खेल्ने नेपाल, भारत, पाकिस्तान र श्रीलंका हो । हामीले पनि पहल गरेका थियौं । आन्तरिक कारण देखाएर भारत र श्रीलंकाले भाग नलिए भएपछि खेल नहुने भयो,’ उनले भने ।

६ देखि ७ वटा स्वर्ण पदकको आशाका साथ तयारी थालिएको पनि उनले बताए । ‘प्याराग्लाडिङमा दक्षिण एसियामा हामी नै सबैभन्दा राम्रो छौं । तयारी पनि त्यस्तै थियो’ , भट्टराईले भने, ‘तर अन्तिममा निराश हुनु पर्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button