कला

‘सेल्फी किङ’ सँग भिड्दै विराजको ‘साङ्लो’

फिल्मीखबर, काठमाण्डौ,

सिंगल थिएटरका ‘बादशाह’ मानिने अभिनेता विराज भट्टले पहिलो पटक निर्देशन गरेको फिल्म ‘साङ्लो’ पूर्व घोषित मितिभन्दा दुई हप्ता अगाडि नै प्रदर्शनमा आउने भएको छ । आउँदो फागुन ९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्म अब माघ २४ गतेबाट देशैभर प्रदर्शन हुने तय भएको छ । यो मितिमा यसअघि नै अभिनेता विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ छ ।

फागुन ९ मा ‘धुर्मुस सुन्तली’ को अभिनय रहेको फिल्म ‘सेन्टी भाइरस’ आउने भएपछि विराजले ‘साङ्लो’ लाई दुई हप्ता अगाडि नै प्रदर्शन गर्न लागेका हुन् । अब, यो फिल्मको बक्सअफिसमा ‘सेल्फी किङ’ सँग भिडन्त हुनेछ । नयाँ प्रदर्शन मितिसहित शनिबार निर्माण टिमले ‘साङ्लो’ को नयाँ पोस्टर सार्वजनिक गरेको छ । जसमा विराज र नव-अभिनेत्री निकिता चाण्डक फिचर्ड छन् ।

विराज र निकिताको जोडी बाँधिएको यो फिल्मको बिहीबार पहिलो गीत सार्वजनिक हुँदैछ । फिल्मले किड्नी तस्करीको कथा वाचन गर्ने बताइएको छ । छायांकनको क्रममा डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको बजेटबाट १० लाख छुट्याएपछि यो फिल्म विवादमा तानिएको थियो । छायांकन अगाडि विराजले प्राविधिक कुटेपछि पनि फिल्म विवादमा घेरिएको थियो ।

फिल्ममा प्रकाश शाह नेगेटिभ रोलमा छन् । यसअघि उनले फिल्म ‘लभ स्टेशन’ मा पनि भिलेनको भूमिका निभाएका थिए । मानकृष्ण महर्जन छायाँकार रहेको ‘साङ्लो’ मा कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारहरुको पनि अभिनय छ । विराजले करीब ३ वर्षदेखि नेपाली फिल्ममा कमब्याक गर्दैछन् । उनी अभिनीत पछिल्लो फिल्म ‘जय परशुराम’ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button