काठमाडौं (हाम्रो खेलकुद) – नेपाली घरेलु क्रिकेट सिमित टि२० प्रतियोगितामा नै निर्भर छ । प्रमुख तीन फ्रेन्चाइज लिगले घरेलु प्रतियोगिताका मुख्य आधार हुन् । घरेलु प्रतियोगितामा लगातार छोटो फर्म्याट खेलेको खेलाडीले टियु क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय टि२० नखेलेको ६ वर्ष भन्दा बढि भएको छ ।
सन् २०१३ मार्च अप्रिलमा एसीसी टि ट्वान्टी कप यता नेपालमा कुनै अन्तर्राष्ट्रिय टि ट्वान्टी प्रतियोगिता भएको छैन । यसै साता देखी सुरु हुने १३ औं दक्षिण एसियाली खेलुकद(साग) पुरुष क्रिकेट प्रतियोगितासँगै झण्डै ७ वर्षपछि टियु क्रिकेट मैदानमा टि ट्वान्टी प्रतियोगिता फर्किने छ ।
एसीसी टि ट्वान्टी कपमा नेपालले फाइनलमा अफगानिस्तानसँग ७ विकेटले पराजित भएको थियो । समुह ए बाट नेपाल ४ खेलमा ३ मा जित र १ मा हारका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको थियो । घरेलु मैदानमा नेपालले पछिल्लो पटक सन् २०१७ मा केन्यासँग आईसीसी वोल्ड क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत दुई खेल खेलेको थियो ।

सागमा नेपाल सहित, भुटान, माल्दिभ्स, बंगलादेश र श्रीलंकाको यू२३ टोली छन् । सबै टोलीले एक अर्कासँग भिड्ने छन् । लिग चरणपछि शीर्ष दुई टोली स्वर्णका लागि भिड्ने छन् । तेस्रो र चौथो स्थानमा रहेको टोलीबीच काँस्य पदकको लागि प्रतिस्पर्धा हुने छ ।
सागमा क्रिकेट दोस्रो पटक हुन लागेको हो । सन् २०१० मा बंगलादेशमा ११ औं सागमा भएको थियो । कास्य पदकको लागि पाकिस्तानसँग भएको प्रतिस्पर्धामा नेपाल २ विकेटले पराजित भएको थियो ।



