मूल खबर

प्राकृतिक विपत्तिले उजाडिँदै किनारा बस्ती

शम्भु दाहाल

झापा / गाउँमा मेलापात गरेर जीविकोपार्जन गर्दै आएका बुद्धशान्ति–३ किनारा बस्तीका नरबहादुर रसाइलीको टाउको लुकाउने झुप्रो पनि अर्काको बारीमा छ ।

उनी पहिल्यैदेखिका सुकुम्बासी भने होईनन् । २०६४ सालमा हँडिया खोलाको भेलले रसाइलीको ३ कठ्ठा जमिन बगर बनायो । वर्षदिन नबित्दै सोही बस्तीकी पवित्रादेवी चौधरी र सुकमाया दर्जीलाई हँडिया खोलाले सुकुम्बासी बनायो । १ सय ५० बढी घरपरिवारको बसोबास रहेको वडा नम्बर ३ को किनार बस्तीका ४० घर अझै प्रकोपमा देखिन्छन् । ‘खोलामा बाढी आउँदा उर्लेर आउछ’ बुद्धशान्ति–१ किनार बस्तीका विमलकुमार ल्वागुनले भने–‘एकतिर बाँध बाँध्यो, अर्कोतिर हान्छ, बस्तीतिर खोला सरेको सरै छ ।’

सो गाउँपालिकाका अधिकाँश बासिन्दा कृषि पेशामा आश्रित भएपनि पछिल्लोसमय कतिपय स्थानीयले क्रमिक रुपमा व्यापार÷व्यवसायलगायत अन्य पेशा समेत अंगाल्न थालेका छन् । उक्त गाउँपालिकामा उत्पादिन अन्न केहीवर्ष अघिसम्म भारतमा समेत निर्यात हुने गरेको थियो । यस्तो अत्याधिक उर्भरभूमि र यसैमा आश्रित जनसंख्याको ठूलो हिस्सा ओगटेको बुद्धशान्ति गाउँपालिकाका स्थानीयले भौगोलिक अवस्थितिका कारण समय–समयमा विभिन्न किसिमका प्राकृतिक प्रकोपको सामना गर्दै आउनुपरेको छ । जसका कारण गाउँपालिकाको कृषि उत्पादकत्वमा समेत ह्रास आउन थालेको छ ।

पालिकाभित्रका ७ वटै वडा प्राकृतिक रुपमा अत्यन्तै संवेदनशील रहेको चुरे पहाड तथा भावर क्षेत्रमा अवस्थित छ । जसका कारण यस क्षेत्रलाई वर्षैपिच्छे बाढी, पहिरो, भू–क्षय जस्ता प्राकृतिक विपत्तिले पिरोल्दै आएको छ । इलामको दक्षिणी चुरे क्षेत्र हुँदै यस पालिकाको चुरे तथा भावर क्षेत्र भएर दक्षिण बग्ने गरेका केही ठूला खोला तथा खहरेका कारण पालिकाभित्रका खेतीयोग्य जमिन तथा मानव बस्तीहरुले हरेक वर्ष प्राकृतिक समस्या व्यहोर्न बाध्य छन् ।

पूर्वमा भारतको ब्रम्हपुत्र नदीदेखि पश्चिममा पाकिस्तानको इन्दुस नदीसम्म फैलिएको ‘शिवालिक भूपरिधि’ नेपालमा चुरे क्षेत्रका नामले परिचित छ । सो गाउँपालिकाभित्रको उत्तरी क्षेत्र यही भूपरिधिको ८ हजार २ सय ९५ हेक्टर चुरे क्षेत्रमा अवस्थित छ । सामान्यतयाः पूर्ण रुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरु यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रुपले यो क्षेत्र अत्यन्त संवेदनशील रहेको छ । चुरेको यहि संवेदनशीलताका कारण यस क्षेत्रका बासिन्दाले वर्षेनी विभिन्न किसिमका प्राकृतिक विपत्ति व्यहोर्दै आएका छन् ।

चुरे दोहनसँगै त्यसको प्रत्यक्ष प्राकृतिक असर उक्त गाउँपालिकाका विभिन्न मानव बस्तीमा देखिन थालेको छ । बुद्धशान्तिकै वडा नम्बर १ को दामा बस्तीका २० घरपरिवारलाई दामा खोलाले बसाईँ सर्ने अवस्थामा पुर्याएको छ । ४, ५, ६ र ७ नम्बर वडा हुँदै बग्ने टिमाई खोला दोहनका कारण खोला गहिरिएर वरिपरीका मानव बस्तीमा जोखिम बढ्दै गएको छ । शान्तिनगर, गडिगाउँ, सन्तपुर, सुनमाई, बर्ने, बाँझो खेत, किरिङ डाँडा, ढकाल गौँडा, सारु गाउँ, आयाबारीलगायतका गाउँ जोखिममा छन् । बुद्धशान्तिको पूर्वी सीमानामा रहेको खारखोलाले चुल्ठे, खारखोला गाउँ, बडाखाललाई हरेका साल ब्युँझाउने गरेको छ । वडा नम्बर ५ हुँदै बग्ने कुरुङ खोलाको बिझाई पनि यस क्षेत्रका बासिन्दाका लागि कम छैन । दामा नजिकैको बुदुने खोल्साले राजपैनीलाई जीर्ण पार्दै लगिरहेको छ । बिरिङ खोलाको बाढीले हरेक बर्खायाममा भोटेटार, देउराली, गिद्धे र होक्से जाने पैनी बगाएर लैजान्छ । यतिमात्रै होइन चुरे दोहनले खोला गहिरिँदा गाउँपालिकाका जमिन सिञ्चित गर्ने नहर, कुलोमा पानी उठ्न छाडेको छ । ‘खेतभन्दा खोला तल भयो’ बुद्धशान्ति–६ फेरेगाउँका खुसिंङवीर लिम्बूले भने–‘के खानु उब्जाउ हुन छाड्यो ।’

सो गाउँपालिकाको पश्चिम सीमानाको बिरिङ्ग खोला, शान्तिनगर र सुनमाईको मध्य भाग हुँदै बग्ने टिमाई खोलालाई पालिकाकै दुःखका रुपमा हेरिएको छ । बिरिङ, टिमाई, हँडिया, दामा, कुरुङ र खारखोलाकोे कटानले आसपासका बस्ती र खेतीयोग्य जमिननै जोखिममा पार्ने गरेको छ । इलामबाट वडा नम्बर १ र २ हुँदै बग्ने बिरिङ्ग खोलालाई झापाकै दुःखका रुपमा हेर्ने गरिएको छ । भोटेटार, देउराली, होक्से, गिद्धे, जयपुरका खोला नजिकका बस्तीका बासिन्दाको हरेक साल बिरिङ खोलाले आँशु बगाउँछ–कहिले घर खेत बगाएर त कहिले परिवारका सदस्यनै बेपत्ता बनाएर । ‘यहाँका बासिन्दाले खोलाका कारण साह्रै दुःख पाएका छन्’ बुद्धशान्ति–३ का युगप्रसाद कोइरालाले भने–‘यसको दीर्घकालिन समाधान खोज्न जरुरी भइसकेको छ ।’

हरेक वर्ष बर्षात्मा बिरिङ नदी वारिपारी ठूला–साना दर्जनांै पहिरो जाने गरेको छ । हँडिया र दामा खोलाको कटान र बाढीको बिझाई पनि १ नम्बर वडावासीका लागि कम छैन । वडा नम्बर १ र ३ को सीमाना हँुदै बग्ने हँडिया खोलाले हरेक वर्षजसो खेतीयोग्य जमिन कटान गर्दै आएको छ । उक्त नदीको कटानका कारण बुद्धशान्तिका विभिन्न ग्रामिण बस्तीहरु र खेतीयोग्य जमिन बाढीको चपेटामा पर्दै आएका छन् । यसलाई रोक्न जसरी बिरिङ खोलामा जनताको तटबन्धन कार्यक्रमले बाँध बाँधेको छ, त्यसरी नै बुद्धशान्तिका २ वटा खोलाहरुमा बाँध बाँध्न राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले योजना अघि सार्नुपर्ने बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मीरा भूर्तेल बताउँछिन् ।

पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म रहेको चुरे क्षेत्रको समस्या समाधान गर्न र चुरे क्षेत्र जोगाउनका लागि सरकारले समेत राष्ट्रपति चुरे संरक्षण कार्यक्रम तर्जुमा गरी वार्षिक करोडांै रकम विनियोजन गर्दै आएको छ । तर, यो कार्यक्रमले अहिलेसम्म बुद्धशान्तिका प्रभावित ठाउँहरुलाई भने अझै छुन सकेको छैन । यो कार्यक्रम अन्तर्गतका योजनाहरु हरेक साल तत्काल प्रभावित क्षेत्रमा मात्र सञ्चालन हुँदै आएको छ । समस्याको मूल स्रोत र त्यसको समाधानमा लक्षित कार्यक्रम सञ्चालनमा नआउँदा समस्या ज्यूँका त्यूँ रहेको स्थानीय जनप्रतिनिधिको अनुभव छ । ‘हाम्रो मात्रै लगानीले बुद्धशान्तिका खोला नियन्त्रण गर्न सक्दैनौँ’ बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भूजेलले भने–‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ ।’ उनले चुरे संरक्षण कार्यक्रमका योजना पहुँचका भरमा सञ्चालन भइरहेको आरोप लगाए ।

धान, मकै र गहुँ फल्ने समथर उर्वरभूमिदेखि चुरेका सुन्दर चुचुरा र डाँडाकाँडाले भरिपूर्ण झापा जिल्लाको उत्तरपूर्वमा अवस्थित एक सुन्दर गाउँपालिका हो– बुद्धशान्ति । तर, चुरे दोहनले गाउँपालिकाका बस्तीहरुमा जोखिम थपिँदै गएकोप्रति स्थानीय चिन्तित छन् ।

झापाको तरकारीको राजधानीको रुपमा परिचित साविक शान्तिनगर र कुनैबेला नेपालकै धेरै धान उत्पादन हुने साविक बुधबारे गाउँ विकास समिति मिलेर बनेको यो गाउँपालिका भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीय विविधताले भरिपूर्ण छ ।

७९ दशमलव ७८ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको बुद्धशान्ति गाउँपालिकामा ७ वटा वडाहरु छन् । जिल्लाको परिचयको जगका रुपमा रहेको ऐतिहासिक ठुटेबर, इलामको अग्र्यानिक उत्पादन पाउने पुरानो बुधबारे बजार, नेपालकै धेरै धान फल्ने हात्तीसुँढे, पर्यटकीयस्थल धारागोला यसै पालिकामा पर्दछन् । ४२ हजार ५ सय २५ कूल जनसंख्या रहेको यस पालिका पूर्वमा मेचीनगर नगरपालिका, पश्चिममा अर्जुनधारा नगरपालिका, उत्तरमा इलाम जिल्लाको रोङ गाउँपालिका र दक्षिणमा मेचीनगर र अर्जुनधारा नगरपालिकासँग साँध जोडिएको छ । उर्वरभूमिसँगै वन, खोलानाला, खनिज, प्राकृतिक, स्रोतसाधन, पानीका मुहान र जंगली जनावरले भरिपूर्ण बुद्धशान्तिका प्रभावित चुरे र भावर क्षेत्र बचाउन राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले यस गाउँपालिकासँग तत्काल सहकार्य गरेर काम थाल्नुपर्ने देखिन्छ । यती गर्न सके मात्र बुद्धशान्ति गाउँपालिकासँगै झापाका विभिन्न स्थानमा वर्षेनी निम्तिने प्राकृतिक विपत्तिको रोकथाम हुने देखिन्छ । जसले, सरकारको राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई समेत सार्थक बनाउन सहयोग पुग्ने अनुमान गर्न सकिन्छ ।  janasamsad daily

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button