स्वास्थ्य

जाडोमा गर्नै नहुने ७ गल्ती

मौसमी परिवर्तनले शरीरलाई धेरै प्रकारले प्रभाव पार्छ। अत्यधिक चिसोका कारण रुघा, खोकी, एलर्जी र ज्वरो जस्ता समस्या देखिन सक्छन्। मानिस कुनै निश्चित वातावरणसँग छिट्टै घुलमिल हुनुको साटो जाडोका कारण अधिकांश समय अल्छी बनेर बस्ने गर्छन्। जसका कारण जानीनजानी विभिन्न स्वास्थ्य समस्या निम्तिरहेका हुन्छन्। चिसोमा गर्नै नहुने सात गल्ती यस प्रकार छन्।

थोरै पानी पिउने
निश्चय नै गर्मी मौसममा जस्तो जाडोमा हामीलाई तिर्खा लाग्दैन। तर, जाडोसँग तिर्खाको कुनै सरोकार छैन। जाडो मौसममा थोरै शारीरिक गतिविधि गर्ने भएकाले हामी कम तिर्खा लाएको महसुस गर्छौं। बेलायतको डायबेटिक एसोसिएसनका अनुसार हाइड्रेड रहन जाडोमा हाम्रो शरीरलाई दैनिक दुई लिटर पानी आवश्यक पर्छ। डिहाइड्रेसनले मिर्गौला, अपच र पेट दुख्नेलगायत समस्या उत्पन्न हुन्छ। जाडो मौसममा अत्यधिक तातो पानी पिउनु हुँदैन। त्यस्तै, चिसो भन्दैमा अत्यधिक कफिनयुक्त खाना पनि खानु हुँदैन।

बढी लुगा लगाउने
जाडोबाट बच्न हामीले न्यानो जाकेट, स्विटर र अन्य बाक्ला लुगा लगाउँछौं। तर, धेरै लुगा लगाउनु पनि जाडोबाट बच्ने उत्तम उपाय भने होइन। अत्यधिक लुगाले बढी गर्मी हुने शरीरमा पसिना आउन सक्छ। जब पसिना पग्लिएर फैलन्छ, यसले हामीलाई झन् चिसो बनाउँछ। तसर्थ जाडोमा लुगा लगाउँदा मांसपेशीलाई न्यानो पार्ने तर धेरै लुगामाथि लुगा लगाउनु हुँदैन।

हातमा पन्जा र खुट्टामा मोजा
जाडोबाट बच्न हातमा पन्जा र खुट्टामा मोजा लगाउनु नराम्रो होइन। तर, चिसोलाई जित्ने यो नै राम्रो तरिका भने होइन। कुनै पनि मौसमसँग अभ्यस्त हुन हाम्रो हात र खुट्टा मात्र सहज अंग हुन्। हात र खुट्टालाई पनि ढाकेर बस्नुको अर्थ वायुमण्डलमा भएको वातावरणीय परिवर्तनलाई अंगीकार गर्न हामीले हाम्रो शरीरलाई अवरोध गरेका छौँ भन्ने अर्थ लाग्छ । जाडोमा मोजा लगाएर कहिल्यै पनि नसुत्नुहोस् । यसले मुटुबाट जोर्नीमा हुने रक्त प्रवाह र रक्त सञ्चालनमा प्रभाव पार्छ । मोजा लगाएर सुत्दा जोर्नीमा रगत जम्ने खतरा हुन्छ।

आनन्दका लागि खाने
तौलका बारेमा सबैभन्दा ध्यान दिने भनेको जाडो मौसममा हो। जाडोबाट बच्न हामी मीठामीठा र बढी चिल्लो, प्रोटिनयुक्त र जंक फुडलगायत खानेकुरा खाने गर्छौं। जाडोको समयमा हाम्रो शरीर पनि अल्छी बन्छ। हामीमध्ये धेरैजसो काम गर्न झन्झट मान्छौँ। शारीरिक गतिविधि कम गर्छौं, हिँड्ने र व्यायाम गर्ने भन्दा पनि जतिखेर पनि सिरकभित्रै बस्न मन पराउँछौँ। यो राम्रो बानी होइन। जाडोको समयमा न्यानो बन्न ताजा खानेकुरा विशेषगरी फलफूल र सागसब्जी खानुपर्छ। मौसमी फलफूल जस्तै: सुन्तला, अनार, बदाम इत्यादि खाएर पनि ज्यान तताउन सकिन्छ।

बढी सुत्ने
जाडोको समयमा हामी बढी सुत्न खोज्छौँ किनभने ब्ल्यांकेटभित्र छिर्नेबित्तिकै स्वाभाविक रुपमै निद्रा आउँछ। बिहान पनि हामी अबेरसम्म बेडमै सुत्न मन पराउँछौँ। त्यतिमात्र होइन, बिहानको खाना खाएपछि दिउँसो पनि घाम देखेपछि झुपुक्क सुतौँ जस्तो लाग्छ। अझ भनौँ, घाम छोड्नै मन लाग्दैन। जाडो सकिनेबित्तिकै सामान्य अवस्थामा फर्किन हामीले निकै प्रयत्न गर्नुपर्छ।

भित्रै बस्न मन पराउने
घाम लाग्दा घाम छोड्न मन नलागे पनि बिहान-बेलुकी अधिकांश समय भित्रै बस्न मन पराउँछौँ। बाहिर हिउँ परेका बेला भित्र बस्नु राम्रो कुरा हो। तर, बादल लाग्नेबित्तिकै जाडो मौसममा अधिकांश मानिस निष्क्रिय भएर भित्रै बस्न वा भट्टी पसलमा गएर ज्यान तताउन मन पराउँछन्। यो पनि राम्रो आदत होइन। जाडो मौसममा पार्कतिर घुम्दा वा काममा व्यस्त हुँदा रक्त सञ्चार तीव्र हुनुका साथै तपाईंलाई स्वाभाविक रुपमा न्यानो हुन्छ।

अनावश्यक क्रिम र लोसनको प्रयोग
जाडोमा हामीले गर्ने अर्को गल्ती नानाथरी क्रिम र लोसनको प्रयोग हो। छालालाई चिल्लो बनाउनु राम्रो भए पनि चिकित्सकको सल्लाहबिना जथाभावी मोस्चराइजेसन गर्नु उचित होइन। जथाभावी लोसन दल्दा छालाको एलर्जी हुनुका साथै छालासँग सम्बन्धित अन्य रोग लाग्न सक्छ।

स्वास्थ्य खबरपत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button