काठमाडौं,
अभिनेत्री रीमा विश्वकर्माले ‘नेपाल आइडल’ को दुई सिजनमा उद्घोषकको रुपमा काम गरिन् । जसले उनलाई दर्शकको ठूलो वर्गमा चिनायो । उनको उद्घोषण गर्ने शैली र सुन्दरताले धेरैलाई लोभ्यायो । तर, ‘नेपाल आइडल’ बाट हात झिकेर अहिले उनी कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा एंकरको रुपमा छिन् । यो शोले पनि दर्शकमाझ राम्रो क्रेज बनाउँदै गएको छ ।
उद्घोषकको रुपमा फलिफाप भए पनि फिल्मबाट भने रीमालाई सफलता मिल्न सकेको छैन । अभिनेत्री केकी अधिकारीसँग फिल्म ‘स्वर’ बाट एकसाथ अभिनयमा डेब्यू गरेकी उनले आधा दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी छन् । तर, दुर्भाग्य नै भन्नुपर्छ ! कुनैले बक्सअफिसमा आफ्नो जादू देखाउन सकेनन् । न त रीमाको अभिनयले नै दर्शकको मन जित्न सफल भयो ।
‘भिषा गर्ल’, ‘ऋतु’, ‘स्केप’, ‘भाले फाइट’, ‘बाटो मुनीको फूल २’ लगायतका फिल्ममा आफ्नो अभिनय कौशल देखाइसकेकी उनले दुई सयको आसपासमा भिडियोमा पनि काम गरिसकेकी छन् । अहिले उनी फिल्म ‘हिजो आजका कुरा’ नामक फिल्ममा व्यस्त छिन् । साकार पन्त निर्देशित फिल्ममा उनीसँगै अभिनेत्री द्वय केकी अधिकारी र ऋचा शर्माको पनि अभिनय छ ।
उनी पछिल्लो पटक फिल्म ‘मिस्टर नेपाली’ मा देखिएकी थिइन् । यसमा उनको जोडी अभिनेता भुवन केसीसँग बाँधिएको थियो । तर, दर्शकलाई यो फिल्म हलमा लागेको र उत्रिएकै थाहा भएन । फिल्म चल्दैन भन्ने बुझेरै उनी प्रचारमा समेत हिँडेकी थिइनन् ! अभिनेत्रीको रुपमा स्थापित हुन जति नै बल गरे पनि अभिनय गरेका सबै फिल्मले हलमा हावा खाँदा रीमालाई उद्घोषणमै चित्त बुझाउनु पर्ने बाध्यता छ । क्या तनाव !फिल्मीखबर,



