
काठमाण्डौ
‘पशुपति प्रसाद’ जस्तो व्यवसायिक र समीक्षात्मक रुपमा सफल फिल्मका दिएका दीपेन्द्र के. खनाल निर्देशित फिल्म भएका कारण ‘आमा’ दर्शकमाझ प्रतिक्षीत छ । फिल्म आउँदो फागुन ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्मको अधिकांश दृश्य पानीमा खिचिएको हो । तर, असारमा समेत दर्के पानी नपर्दा फिल्मको लामो समय छायांकन हुन सकेको थिएन ।
पानी नपरेकै कारण निर्धारित समयमा छायांकन सुरु हुन नसकेपछि आमाको भूमिकामा अनुबन्ध भएकी कलाकार सूर्यमाला खनालले फिल्म छाडेकी थिइन् । र, उनको ठाउँमा अभिनेत्री मिथिला शर्मालाई अनुबन्ध गरिएको थियो । फिल्ममा उनको छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्त छिन् । बिहीबार ट्रेलर सार्वजनिक भएको फिल्मको मूल कथा मिथिलाको वरिपरि घुमेको छ ।
अभिनेत्री मिथिलाले फिल्म ‘आमा’ आफ्नो लागि एउटा खुड्किलो बनेको बताइन् । ‘मैले धेरै फिल्ममा आमा बनेर अभिनय गरिसकेकी छु । तर, मलाई आजसम्म पनि सबैले दिदीको रुपमा नै सम्बोधन गर्नुहुन्थ्यो । दिदीपछि मेरो अपनाम यो फिल्मले परिवर्तन गराएको छ,’ उनी सुनिइन् । उनी यो फिल्म गरेपछि अहिले आफूलाई धेरैले दिदी नभइ आमा भन्न थालेको बताउँछिन् ।
मिथिला ‘आमा’ छाड्नुलाई सूर्यमालाको ‘ब्याडलक’ मान्छिन् । उनी भन्छिन्, ‘उहाँ (सूर्यमाला खनाल) निकै राम्रो कलाकार हुनुहुन्छ । उहाँले निकै राम्रो मौका पाउनुभएको थियो । तर, हजुरआमा हुनु परेका कारण ‘आमा’ मेरो पोल्टामा पर्यो ।’ ट्रेलरमा उनको मनछुने अभिनय देख्न सकिन्छ । निर्देशक खनाल फिल्ममा मिथिलाको अभिनयले पात्रलाई जीवन्त बनाएको बताउँछन् ।
उनले कार्यक्रममा भने- ‘मैले स्क्रिप्ट दिँदा सबै कलाकारहरु हर बखत मुडमा र ऊभित्र पात्र बाँचेको हुनुपर्ने सर्त राखेको थिएँ । त्यसमा सबै कलाकारले मैले भनेको जसरी नै पात्रमा डुबेर अभिनय गर्नुभएको छ ।’ उनले फिल्ममा सबै कलाकारले मनदेखि काम गरेको बताए । यो फिल्मका लागि अभिनेत्री सुरक्षा पन्तले पात्रमा डुब्न आफ्नो लोभलाग्दो कपाल समेत तिलाञ्जली दिएकी थिइन् ।फिल्मीखबर,



