
राजु पोखरेल
दमक / प्रधानमन्त्री केपी शर्मा ओलीको गृृहनगर झापाको दमकस्थित आकाशे पुल प्रभावकारी नभएको देखिएको छ । राजधानीमा जस्तो सवारीको चाप नभएका कारण पुल चढ्नुभन्दा पुलदेखि तल(सडक) बाटै मानिसहरु ओहोर–दोहोर गर्नेगर्छन् ।
बिहीबार बिहान दमकमा रहेको आकाशे पुल पुग्दा त्यस्तै देखियो, कोही पुलमाथि बसेर घाम ताप्दै गफगाफमा व्यस्त थिए भने कोही सेल्फी खिच्दै । खासगरी पुलबाट नहिँड्नुको कारण रहेछ, पुलमाथि पुग्दा बाटोनै पार गरिसकिने रहेछ, सवारीको चाप पनि छैन, सडक अवरुद्ध पनि छैन, को चढ्ने पुल ? झापाका सन्तोष विष्ट भन्छन्–‘दमकको यो पुललाई सबैले सेल्फी पुल भन्छन् ।’ यो पुलको प्रभावकारितामाथि अहिले प्रश्न उठ्न थालेको छ । आकाशे पुल प्रयोग नगरी बाटो काटिइरहेका एकजना वृद्धलाई सोध्दा उनले दमको रोगी भएका कारण पुलबाट बाटो काट्न नसक्ने जवाफ दिए ।
पुलमा रहेका विद्यार्थीहरुलाई पुल चढ्नुको कारण सोध्दा फोटो खिच्न भन्ने उत्तर दिन्छन् । यतिबेला फोटो खिच्न आउनेहरुको भीँडनै लाग्ने गरेको छ–पुलको दायाँ र बायाँ । प्रायः फेक्स राखिने भएकाले बिचमा बसेर फोटो खिच्दा कसैले देख्दैनन् ।
सडक क्रस गर्न सजिलो हुने भन्दै निर्माण गरिएको उक्त पुल युगल जोडीहरुको फोटो खिच्ने गतिलो स्थान बनेको छ । २ करोड लगानी गरेर जुन प्रयोजनका लागि पुल बनाइएको हो, त्यो प्रयोजनमा नआएपछि प्रेमी प्रेमीकाको फोटो खिच्ने स्थानमै पुल सीमित बनेको छ ।
स्थानीय माधव ढकाल भन्छन्–‘बाटो क्रस गर्न त्यत्रो पुलमाथि चढेर ओर्लने झन्झट कसैले गर्दैन, त्यसैले तलको जेब्रा क्रसिङबाटै सजिलो छ, यो पुलको त्यत्रो खाँचो थिएन ।’
‘काठमाडौँ बाहिर पहिलोपटक दमकमा आकाशे पुल निर्माण भएपछि यात्रुहरुलाई सहज हुने सोच थियो, तर जुन प्रयोजनका लागि बनाइएको हो, त्यो भएन, करौडौंको लगानी बालुवा पानी भएजस्तै भएको छ ।’ गौरादहका केदार खड्का भन्छन्–‘बरु त्यो पैसाले ग्रामिण सडकहरु स्तरोन्नती गर्न सकिन्थ्यो । दमकका गाउँ–गाउँ सबैतिर विकास कहाँ पुगेको छ र ? बर्खामा धुलाम्मे र वर्षामा हिलाम्मे हुने सडक पिच बनाइनुपथ्र्यो ।’
पुलका कारण ट्राफिक व्यवस्थापनमा केही सहज भएको इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख यज्ञ शर्मा बताउँछन् । उनका अनुसार पुलको सदुपयोग हुन सकेको छैन । शर्मा भन्छन्–‘यात्रीहरुले आकाशे पुलको सही सदुपयोग गर्नुपर्छ, अहिले त पुल सेल्फि खिच्न, डेटिङ बस्न मात्र प्रयोग हँुदै आएको छ ।’
२५ मिटर लम्बाई, २ दशमलव ५ मिटर चौडाई र ६ दशमलव ३० मिटर उचाई रहेको आकाशे पुलको २०७२ पुस १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको ७३ लाख २ हजार ५ सय ६३ र दमक नगरपालिकाको आन्तरिक स्रोतबाट ४० लाख ४८ हजार ८ सय ६३ रुपैयाँ गरी कूल १ करोड १४ लाख ४१ हजार रुपैयाँमा निर्माण गरिएको आकाशे पुल सेल्फी खिच्नकै लागि मात्रै त होइन भन्ने प्रश्न उठ्न थालेको छ ।janasamsadonline



