खेलकुद

पीपीएलमा आज दुई महत्त्वपूर्ण खेल हुँदै

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् ।

पहिलो खेलमा पारस खड्का कप्तान रहेको चितवन राइनोजले प्रदीप ऐरीको नेतृत्वमा रहेको विराटनगर टाइटन्ससँग खेल्दै छ । खेल विहान ९ बजेदेखी शुरु हुने छ । चितवन लगातार चौथो जित निकाल्दै फाइनल यात्रा बलियो बनाउन चाहन्छ । आजको खेलमा चितवन विजय भए प्ले अफमा पुग्ने पहिलो टोली बन्नेछ । तीनै खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेको चितवन उपाधिको बलियो दाबेदार टोली हो । चितवनले तीनै खेलमा ब्याटिङ र बलिङमा उत्कृष्ट प्रर्दशन गरेको छ ।

पहिलो खेलमा साविक विजेता पोखरा पल्टनलाई ६ विकेटले हराएको चितवनले दोस्रो खेलमा बुटवललाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । तेस्रो खेलमा चितवनले धनगढीलाई ५२ रनले पराजित गरेको थियो ।

बुटवलविरुद्ध २ सय ३ रन जोड्दै चितवन पीपीएलकै सर्वाधिक रन बनाउने टोली बनेको थियो । चितवनका कप्तान पारस खड्का, रोहन मुस्तफा, सन्नी पटेल, आरिफ शेख र बाबर हायतले उत्कृष्ट ब्याटिङ गरि रहेका छन् । बलिङमा भुवन कार्की र करण केसीको प्रर्दशन त्यस्तै उत्कृष्ट छ ।

विराटनगरलाई अघिल्लो चरणको यात्रा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । अन्यथा प्ले अफ अंक गणितीय संभावना मात्रै बाँकी रहन्छ । विराटनगरका ८ ब्याट्सम्यानले काठमाडौंविरुद्ध दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् । सुनिल धमला, मोहम्मद जैद आलम र प्रदीप ऐरी चल्न नसक्नु चिन्ताको विषय हो । जैद धनगढीविरुद्ध शून्य, पोखरा पल्टनविरुद्ध २६ र काठमाडौंसँग १ रनमा आउट भएका थिए ।

पुनित मेहराले उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । पुनितले पोखराविरुद्ध अविजित ६१ र काठमाडौंसँग ५३ रनको आक्रामक इनिङ खेलेका थिए । विराटनगरले आज दिलिप नाथको स्थानमा युवा खेलाडी लोकेश बमलाई मौका दिन सक्छ । विराटनगरका लागि पुनित प्रमुख खेलाडी हुन् ।

दोस्रो खेलमा धनगढी र बुटवल भिड्ने छन् । खेल १२:४५ देखी सुरु हुने छ । दुबैलाई प्ले अफ यात्रा बलियो बनाउन जित्नै पर्ने दबाब छ । पहिलो खेलमा विराटनगरलाई ५ रनले हराएको धनगढी दोस्रो खेलमा काठमाडौंसँग १ सय ६ रनले पराजित भएको थियो । चितवनसँग धनगढी ५२ रनले पराजित हुन पुगेको थियो । विदेशी खेलाडी श्रीमन्था विजयरत्ने, रोड्रिगो थोमस र अमित यादव चल्न सकि रहेका छैनन् । धनगढीका कप्तान दीपेन्द्र सिंह ऐरी प्रमुख हतियार हुन् ।

यता पहिलो खेलमा काठमाडौंलाई सुपर ओभरमा हराएको बुटवल दोस्रो खेलमा चितवनसँग १ सय १९ रनले पराजित हुन पुग्यो । तेस्रो खेलमा पोखरा पल्टनलाई ८ विकेटले हराएको बुटवलको बलियो मनोबल छ । पोखरालाई हराउन अफ्ताव उदीन अहमदले ७५ रनको योगदान दिएका थिए । बुटवलका लागि सोमपाल कामी फिट नहुनु चिन्ताको विषय हो । पोखरा विरुद्ध सिद्धान्त लोहनीले कप्तानी गरेका थिए । आजको खेलमा पनि सोमपाल खेल्ने संभावना कम छ । बुटवलको लागि हर्ष टोन्क, अभिनास बोहोरा, अफताब उदीन सिंह र शिवम सिंह प्रमुख खेलाडी हुन् ।

अंक तालिका

चितवन राइनोज ३ खेलमा जित सहित शीर्ष स्थानमा छ । ४ खेलमा समान २ मा जित र हार सहित ४ अंक जोड्दै काठमाडौं दोस्रो स्थानमा छ । ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंक जोड्दै वुटवल तेस्रो स्थानमा छ । ३ खेलमा २ मा हार र १ मा जित सहित विराटनगर चौथो स्थानमा छ । ४ खेलमा १ मा जित र ३ मा पराजित बेहोरेको साविक विजेता पोखरा पाँचौ स्थानमा छ । ३ खेलमा १ मा जित र २ मा हारका साथ धनगढी पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button