कला

कस्तो होला विपिनको ‘सेल्फी किङ’ ?

फिल्मीखबर, काठमाण्डौ,

अभिनेता विपिन कार्की फिल्म छनोटमा चुजी मानिन्छन् । उनलाई फिल्ममा साइन गराउन मेकरलाई ठूलो संघर्ष गर्नुपर्छ । स्क्रिप्ट र आफ्नो भूमिका राम्रो नलागेसम्म उनी फिल्ममा हात हाल्दैनन् । हरेक फिल्ममा भिन्न चरित्र र जुनसुकै भूमिकामा जीवन्त अभिनय गर्ने अभिनेताको पहिचान बनाएका उनलाई अझै पनि धेरैले असली नामभन्दा फिल्ममा निभाएको पात्रमार्फत चिन्ने गर्दछन् ।
असली नामभन्दा पात्रमार्फत चिनिनु एक कलाकारका लागि ठूलो सफलता हो । यसअर्थमा विपिन सफल अभिनेताको कोटीमा दरिइसकेका छन् । हिरोको पुरानो मानक भत्काएर जबर्जस्त रुपमा नेपाली फिल्ममा प्रवेश गरेका विपिनलाई ‘छड्के’ को विन्दू माझी, ‘ताण्डव’ को रक्साहा ड्राइभर, ‘सुन्तली’ को चोर र ‘पशुपतिप्रसाद’ को भष्मे डन चरित्रले ठूलो मासमा चिनाएको थियो ।
हरेक फिल्म र हरेक चरित्रमा भिन्न अवतारमा पदार्पण हुने विपिन पछिल्लो पटक फिल्म ‘जात्रै जात्रा’ मा देखिएका थिए । यो फिल्म जबर्जस्त हिट भयो । यसपछि उनी पर्दामा देखिएकी छन् । आउँदो माघ २४ गते उनको प्रमुख भूमिका रहेको फिल्म ‘सेल्फी किङ’ प्रदर्शनमा आउँदैछ । विशाल सापकोटाको डेब्यू निर्देशनमा बनेको यस फिल्ममा उनी हास्यकलाकारको भूमिकामा छन् ।
हालसालै सार्वजनिक भएको पोस्टर र टिजरमा देखिएको अभिनेता विपिनको भिन्न अवतारले फिल्मप्रति दर्शकमा कौतुहलता जागृत गरेको छ । कतिपयले भने यसलाई हलिउड फिल्म ‘जोकर’ बाट प्रभावित भएर निर्माण भएको आरोप लगाएका छन् । किनकि, ‘सेल्फी किङ’ मा अभिनेता विपिनको हुलिया हलिउड फिल्म ‘जोकर’ का अभिनेता वाकिन फिनिक्ससँग मिल्दोजुल्दो छ ।
तर, निर्माण टिमले कुनै फिल्मबाट प्रभावित भएर ‘सेल्फी किङ’ निर्माण नभएको दाबी गर्दै आएको छ । दर्शकको अनुमान सत्य सावित होला या निर्माण टिमले गरेको दाबी, त्यसका लागि भने माघ तेस्रो हप्तासम्म प्रतिक्षा गर्नैपर्ने हुन्छ । एक हाँस्यकलाकारले कला यात्राको दौरान आफूले पाएको सफलता र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा फिल्मले भन्छ ।
यसबीच, निर्माण टिमले विपिनको क्यारेक्टर तस्विर सार्वजनिक गरेको छ । जसमा उनलाई दर्शकसँग सेल्फी खिच्दै गरेकोदेखि जोकर हुलियामा डाक्टरसँग चर्काचर्की गर्दै गरेको देख्न सकिन्छ । त्यस्तै, एक तस्विरमा उनी पानी तान्ने मेशिन बनाउँदै देखिएका छन् । अर्को एक तस्विरमा आमाको भूमिकामा रहेकी भुवन चन्दलाई विपिनको टाउकोमा तेल लगाउँदै गरेको देख्न सकिन्छ ।
ड्रामेडी जनरामा निर्माण भएको फिल्ममा विपिन र भुवनका अलावा लक्ष्मी बर्देवा, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटालगायतका कलाकारको अभिनय छ । गत वर्षको व्यवसायिक र समीक्षात्मक रुपमा सफल फिल्म ‘प्रसाद’ का निर्देशक दिनेश राउतले यही फिल्मका निर्माता सुवास थापासँग मिलेर यो फिल्मको निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button