खबर

नेकपाद्वारा बन फडानीमा प्रतिबन्ध, अटेर गरे कारबाही गर्ने चेतावनी

कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलालीले बनभित्रका हरिया ठूला रूखहरू बन कार्यालयमार्फत ठेकेदार, बन माफिया हुँदै बन समितिका पदाधिकारीको मिलोमतोमा काठ तस्करी गरिरहेकाले बन फडानीमा प्रतिबन्ध लगाइएको जनाएको छ । पार्टीको इलाका नं. ७ का इन्चार्ज क्रान्तिले विज्ञप्ति जारी गरी पार्टीको प्रतिबन्ध अटेर गरिएमा कारबाही गर्ने चेतावनी दिएका छन् ।

क्रान्तिको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय भ्रष्ट दलाल केपी–प्रचण्डले विश्वकै उत्कृष्ट संविधानको नारा दिएर उनीहरूको गाउँगाउँको सिंहदरबारमा जनताहरूबाट दोहोरोतेहेरो महँगो कर असुलेर आफ्ना मुठीभरका भ्रष्ट, दलाल कार्यकर्ताहरूलाई वैचारिक भ्रष्टाचार गर्ने छूट दिएको छ । यो भ्रष्ट, दलाल सरकारले आज फेरि अर्को नयाँ आयाम वैज्ञानिक बन व्यवस्थापन कार्य योजना लिएर बनभित्रका हरिया ठूला रूखहरू बन कार्यालयमार्फत ठेकेदार, बन माफिया हुँदै बन समितिका पदाधिकारीको मिलोमतोमा काठ तस्कर गर्ने घृणित विचारबाट अघि बढिरहेको प्रस्ट देखिन्छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘यसरी स्थानीय बन उपभोक्तालाई भ्रममा पारेर जनताको जनजीविकालाई प्रत्यक्ष असर पर्ने गरी रूख कटानी हुन गइरहेको कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यसरी अन्तर्राष्ट्रिय मापदण्डविपरीत पर्यावरणको ख्यालै नगरी बन विनाश हुने गरी हुन गइरहेको रूख कटानी कार्यमाथि हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी कैलाली एरिया नं. ७ ले प्रतिबन्ध लगाएको यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौँ । साथै वैज्ञानिक बन व्यवस्थापनका नाममा भइरहेको रूख कटानी तत्काल रोक्न सम्बन्धित पक्षलाई आग्रह गर्दछौँ । उप्रान्त, नरोकिए दोषीमाथि कडा कारबाही गरिनेछ ।’ २०७६, ९ पुष बुधबार  ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button