खबर

ठूला सवारी लाइसेन्सको परीक्षा विधि परिवर्तन गरिने

ठूला सवारीसाधनको लाइसेन्सको परीक्षा विधि परिवर्तन गरिने भएको छ । सार्वजनिक सवारी दुर्घटना बढेपछि लाइसेन्सको परीक्षा प्रणाली परिवर्तन गरी थप व्यावहारिक बनाउन लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले सङ्घीय सवारी तथा यातायात व्यवस्था ऐनमा ठूला सवारीसाधनको लाइसेन्स परीक्षा प्रणाली परिवर्तन गर्न प्रस्ताव गरेको छ । लिखित र प्रयोगात्मक परीक्षालाई अझ व्यावहारिक बनाइने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

विभागले सङ्घीय सवारी तथा यातायात ऐनको मस्यौदा तयार गरी सङ्घीय संसद्को हिउँदे अधिवेशनबाट पारित गराउने योजना बनाएको छ । सार्वजनिक सवारीसाधन चालकलाई लक्षित गरेर नयाँ प्रणाली ल्याउन लागिएको हो । दैनिकजसो सार्वजनिक सवारी दुर्घटना हुन थालेपछि विभागले व्यावहारिक परीक्षण प्रणाली अपनाउन थालेको हो । विभागका अनुसार सवारीसाधन दुर्घटनाको ८० प्रतिशत कारण चालकको लापरबाही देखिएको छ । नयाँ परीक्षा प्रणालीका बारेमा महानिर्देशक हमालले भने, लिखित परीक्षामा निश्चित समयको कोर्स नै राख्न लागेका छौँ, तीन महिनाको कोर्स राख्न प्रस्ताव गरेका छौँ साथै सवारीसाधनको अवस्था, यात्रुसँग गर्ने व्यवहारलगायतका विषय समेटेका छौँ ।

अब सडकमै गएर ट्रायल पास गर्नुपर्ने व्यवस्था हुने छ ।

फिल्डमा गरिने प्रयोगात्मक परीक्षापास भएपछि लाइसेन्स पाउनका लागि छ महिना ट्रायल अवधि राखिने छ । यो अवधिमा ड्राइभिङ रिपोर्ट राम्रो भए मात्रै लाइसेन्स पाइने छ । रिपोर्ट राम्रो नभए पुनः तीन महिना ट्रायल अवधि थपिने हमालको भनाइ छ ।

विभागले यातायातले सङ्घीय ऐनमार्फत ट्राफिक जरिवाना पनि बढाउन लागेको छ । ट्राफिक नियम उलङ्घनको अवस्था हेरेर तीन गुणासम्म जरिवाना बढाउन प्रस्ताव गरिएको छ । न्यून जरिवानाका कारण नियम मिच्नेको सङ्ख्या बढेको र दुर्घटना बढाएको विभागको दाबी छ ।

गोरखापत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button