मूल खबर

हेमन्त सोरेनले गरे मुख्यमन्त्रीका रूपमा शपथ ग्रहण

भाईले गरे आफ्नै दाजुको हत्या

इस्लामपुर : रुपियाँको लागि भएको विवादमा एकजना व्यक्तिले आफ्नै दाजुको हत्या गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना आइतबार इस्लामपुर थाना अन्तर्गत गाइसाल ग्राम पञ्चायतको तालबस्ती इलाकामा घटेको हो। मृतक मोहम्मद अफजलको रूपमा चिन्हित गरिएको छ। आरोपी मोहम्मद मुन्नालाई पुलिसले पक्राउ गरेको छ। उक्त घटनामा मोहम्मद बान्चान र कमरून निसा घाइते भएका छन्। घाइतेमध्ये कमरून निसालाई प्राथमिक उपचारपछि छुट्टी दिएको छ भने अन्य घाइतेलाई अवस्था खराब भएपछि उत्तरबङ्गाल मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको छ। दुईजना दाजु-भाईमाझ शनिबार राति रुपियाँलाई लिएर विवाद हुँदा आवेशमा आएर मोहम्मद मुन्नाले आफ्नो दाजुलाई धारिलो हतियारले प्रहार गरेर गम्भीर घाइते बनाएपछि तत्कालै अस्पताल लगे तापनि चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए।

अमिताभ बच्चनले ग्रहण गरे दादा साहब फाल्के अवार्ड

नयाँ दिल्ली : अभिनेता अमिताभ बच्चनलाई आज राष्ट्रपति भवनमा आयोजित एउटा समारोहमा दादा साहब फाल्के पुरस्कार प्रदान गरियो। अस्वस्थ्य रहेको कारणले गर्दा गत आइतबार आयोजित नेशनल फिल्म अवार्ड समारोहमा अमिताभ बच्चन उपस्थित हुन नसकेकोले आज तिनलाई उक्त पुरस्कार प्रदान गरियो। दादा साहेब फाल्के अवार्ड-लाई भारतीय सिनेमाको सबैभन्दा प्रतिष्ठित अवार्ड मानिन्छ। गत सेप्टेम्बर महिनामा उक्त पुरस्कार अमिताभ बच्चनलाई दिनेबारे घोषणा गरिएको थियो। राष्ट्रपति रामनाथ कोविन्दको बाहुलीबाट उक्त अवार्ड ग्रहण गरेपछि आफ्नो सम्बोधनमा अमिताभले विशेष गरेर फिल्म उद्योगसँग संलग्न व्यक्तिहरू अनि भारतको जनतालाई धन्यवाद दिए।

हेमन्त सोरेनले गरे मुख्यमन्त्रीका रूपमा शपथ ग्रहण

राँची: झारखण्ड मुक्ति मोर्चाका कार्यकारी अध्यक्ष हेमन्त सोरेनले आज झारखण्डको मुख्यमन्त्रीका रूपमा शपथ ग्रहण गरे। तिनी राज्यका एघारौं मुख्यमन्त्री बने। तिनलाई राज्यपाल द्रोपदी मुर्मूले मुख्यमन्त्री पदको निम्ति शपथ दिलाए। हेमन्त सोरेन वाहेक कांग्रेसका विधायक आलमगीर आलम, रामेश्वर उरांव र आरजेडी विधायक सत्यानन्द भोक्ताले पनि मन्त्री पदको शपथ लिए।

हेमन्त सोरेनको शपथ ग्रहण कार्यक्रम रांचीमा विपक्षको उत्तरदेखि दक्षिण अनि पूर्वसम्मका नेताहरू सामेल थिए। शपथ ग्रहण समारोहमा विशेष गरेर पश्चिम बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीलगायत झारखण्डका पूर्व मुख्यमन्त्री शिबु सोरेन, कांग्रेस पार्टीका राहुल गाँधी तथा पार्टीका शीर्ष नेतृत्वहरू धेरै संख्यामा उपस्थित थिए। यसभन्दा अघि पनि नवौ मुख्यमन्त्रीको रूपमा हेमन्त सोरेनले आफ्नो सेवा पुऱ्याइसकेका छन्।

सडक दुर्घटनामा चालकको मृत्यु, चारजना घाइते

सिलगढी : सिलगढीको फुलबारी संलग्न उत्तरकन्यामा आइतबार राति सडक दुर्घटनामा चालकको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन्। प्राप्त जानकारीअनुसार फुलबारी संलग्न उत्तरकन्यामा एउटा सानो वाहनले ट्रकलाई ओभरटेक गर्दा दुर्घटनाग्रस्त भएको बताइएको छ। प्रत्यक्षदर्शीहरूको भनाइअनुसार उक्त वाहनले तीव्र गतिमा ट्रकलाई ओभरटेक गर्दा अनियन्त्रित भएर सडक किनारमा भएको एउटा रुख अनि बिजुलीको पोलमा ठोक्किँदा घटनास्थलमै चालक अभिषेक रायको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन्। घाइतेहरूलाई तत्कालै अस्पतालमा लगेपछि तीमध्ये दुईजनालाई प्राथमिक उपचार गरेपछि छुट्टी दिएको छ भने अन्य दुईजनाको अवस्था गम्भीर रहेकोले हाल अस्पतालमा उपचाराधीन अवस्थामा छन्। एनजेपी थाना पुलिसले मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।siliguritimes

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button