मेचीनगर / नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर मेचीनगरमा रहेका पर्यटकीय तथा धार्मिक स्थलको पहिचान वृद्धिका लागि युवाहरु एकजुट भएका छन् । नगरमा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको अध्ययन तथा अवलोकनसँगै प्रचार प्रसारका लागि मेचीनगरका युवाहरु पुस १६ गतेदेखि मोटरसाइकल र्यालीको आयोजना गरिने भएको हो ।
सत्तारुढ दल नेकपा सम्बद्ध युवा संगठन र विद्यार्थी संगठनले संयुक्त रुपमा आयोजना गर्ने मोटरसाइकल र्यालीले नगरका पर्यटकीय क्षेत्रको भ्रमण गरी प्रचार प्रसार गर्ने राष्ट्रिय युवा संघ नेपालका नेता सरोज मेहराले बताए । सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को पहिलो दिन पुस १६ गते करिब २ सय जनाको टोलीले मेचीनगर क्षेत्रका पर्यटकीय स्थलको भ्रमण गर्ने योजना रहेको नेता महराले बताए ।
मेचीनगर १३ स्थित उत्तर गंगा धार्मिक तथा पर्यटकीय क्षेत्रबाट शुरु गरिने र्यालीले प्रगती सामुदायिक वन, निचाझोडा सिमसार, बाल सुवोधनी विद्यालय, कालिका सिमसार, बाँसबारी सामुदायिक वन समूह, आदर्श मावि, पातागंगा, कृष्णथुम्की, मिनी माउण्टेन, सिएम कृषि फर्म र खुट्टिडाँगी सामुदायिक वनको भ्रमण गर्ने जनाइएको छ । यात्राको समापन खुट्टिडाँगी सामुदायिक वन समूह परिसरमा गरिने मेहराले जानकारी दिए । पर्यटकहरुलाई मेचीनगर क्षेत्रको पहिचानप्रति आकर्षित गर्दै नगरलाई चिनाउन र्यालीको आयोजना गरिएको युवा संघका नेता विनोद मण्डलले बताए ।
खुट्टीडाँगी सामुदायिक वन परिसरको सिमसार क्षेत्रमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वन समूहका अध्यक्ष टंक नेपालले युवाहरुले स्थानीय पर्यटकीय क्षेत्रको प्रचारका लागि नयाँ कार्यक्रम गर्न लागेकोप्रति खुसी व्यक्त गरे । यसप्रकारका कार्यव्रmमले भ्रमण वर्ष जस्तो गरिमामय उत्सवलाई थप टेवा पुग्ने उनको भनाई थियो ।janasamsad



