एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार हुने क्याटलान डर्बीमा बार्सिलोनाले चिर परिचित प्रतिद्वन्द्वी एस्पान्योलको सामना गर्दैछ । उक्त खेलमा बार्सिलोनाले चोटका कारण महत्त्वपूर्ण खेलाडी गुमाउने भएको छ ।
क्लबका नियमित गोलरक्षक मार्क आन्देर टेर स्टेगन घुंडाको चोटका कारण उपस्थित रहने छैनन् । उनी यसै साता साउदी अरेबियामा हुने स्पेनिस सुपरकपका लागि समेत उपलब्ध नहुने सम्भावना रहेको छ । बार्सिलोनाले सुपरकपको सेमिफाइनलमा एटलेटिको म्याड्रिडसँग खेल्दैछ। अर्को सेमिफाइनलमा रियल म्याड्रिड र भ्यालेन्सिया भिड्नेछन् ।
शनिबार एस्पान्योलविरुद्ध खेलका लागि भने बार्सिलोनाले १८ सदस्यीय टोली घोषणा गरिसेकेको छ । उक्त टोलीमा ब्राजिलियन मिडफिल्डर आर्थर पनि उपस्थित छैनन् । ग्रोइनको चोटका कारण आर्थर कम्तिमा तीन साता मैदानबाहिर रहने भएका छन् । फ्रान्सेली फरवार्ड ओस्मान डेम्बेले पनि चोटका कारण विश्राममा छन् ।
युवा मिडफिल्डर अन्सु फाती टोलीमा समेटिएका छन् । पछिल्लो समय पूर्ण फिट नरहेका मिडफिल्डर आर्टुरो भिडालसँगै सुपरस्टार जोडी लिओनेल मेस्सी र लुइस सुआरेज पनि टोलीमा छन् । लिगको शीर्षस्थानमा रहेको बार्सिलोनाले रियल म्याड्रिडसँग २ अंकको अग्रता लिएको छ। रियलले आज नै लिगको खेलमा गेटाफेसँग खेल्दैछ ।
१८ सदस्यीय बार्सिलोना टोली :
नेल्सन सेमेडो, जेरार्ड पिके, इभान राकीटिच, सर्जियो बुस्केट्स, लुइस सुआरेज, लिओनेल मेस्सी, नेटो, क्लेमेन्ट लेङलेट, एन्टोइन ग्रिज्मन, जोर्डी अल्बा, सर्जी रोबर्टो, फ्रान्की डे जोङ, आर्टुरो भिडाल, स्यामुएल उम्टिटी, जुनिओर फिर्पो, इनाकी पेना, कार्लेस पेरेज, अन्सु फाती
hamrokhelkud



