खबर

एशियाकै लामो झौलुङ्गे पुल एक वर्ष अगाडि निर्माण सकिदै

चन्द्रप्रकाश शर्मा
पोखरा । दुई दशक अगाडिदेखि चर्चामा रहेर असम्भव भनिएको एसियाकै लामो झोलुङ्गे पुलको निर्माण निर्धारित समय भन्दा एक वर्ष अगाडि नै सम्पन्न हुने भएको छ ।
२०७७ चैतमा सम्पन्न गर्नेगरी बागलुङ बजारको बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङ जोड्ने ५६७ मिटर लामो उक्त पुल निर्माण सुरु गरिएको पुल २०७६ फागुन भित्रै सम्पन्न हुने भएको हो ।
सात करोड ९७ लाख रुपियाँको लागतमा निर्माण सुरु गरिएको पुलको ९२ प्रतिशत काम सम्पन्न भएकाले निर्माण सक्नुपर्ने अवघि भन्दा एक वर्ष अगाडि नै सम्पन्न हुन लागेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्राविधिक टोपबहादुर बानियाँले जानकारी दिनुभयो । लामो समयदेखि उक्त स्थानमा झोलुङ्गे पुल निर्माण गर्ने चर्चा चलेपनि लठ्ठा तान्ने प्रविधि नभएकाले रोकिएको थियो ।
नेपालमा ३६० मिटर भन्दा माथिका पुल निर्माण नभएको र प्रविधि समेत नभएकाले लामो समय रोकिएको पुल नयाँ प्रविधि भित्रिएपछि निर्माण सुरु गरिएको थियो । सरकारले चीनबाट लठ्ठा तान्न प्रयोग गर्ने आधुनिक मेसिन खरिद गरेपछि पुल निर्माणमा सहजता भएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । ५६७ मिटर लामो र १६० मिटर अग्लो उक्त पुल एसियाकै लामो पुल रहेको दावी गरिएको छ । ‘विश्वमा सवारी साधन सञ्चालन हुने खालका पुलहरु समेत छन् तर यती लामो सिङ्गल स्पान झोलुङ्गेपुल भएको रेकर्ड भेटिएको छैन ।’ प्राविधिक बानियाँले भन्नुभयो ।
पुल निर्माणको जिम्मा पाएको थानी÷विएलटि÷हिमशिखर जेभी निर्माण कम्पनीले पुल सिलान्यासकै क्रममा छ महिना अगाडि काम सम्पन्न गर्ने घोषणा गरे पनि एक वर्ष अगाडिनै सम्पन्न हुने भएको छ । पुल निर्माणको सबैभन्दा जटिल लठ्ठा तान्न हुने भए पनि शनिबारसम्म पुलका सबै लठ्ठा तानेर सकिएको र अबको ४५ दिनभित्र अन्य सम्पूर्ण फिटिङका काम सकिने निर्माण कम्पनीले जनाएको छ ।
हिमशिखर निर्माण सेवाका नरहरी खड्काले पुलको पुल मुनी मालढुङ्गा–बागलुङ सडकको दुई ठाउँ र मालढुङ्गा–बेनी सडकको एक ठाउँ क्रस गरे लठ्ठा तार्नुपर्ने, विभिन्न ठाउँमा विद्युतका तारहरु भएका कारण सबै जोगाएर काम गरेको बताउनुभयो । ‘पुल निर्माणका बेला आएका सामान्य समस्या व्यवस्थापन गरेर लठ्ठा तानेर सकेका छौं, अबको ४५ दिनभित्र सबै काम सक्छौं ।’खड्काले भन्नुभयो ।
नेपालका धेरै ठाउँमा लामा झोलुङ्गे पुलहरुको माग भएको र यो पुल निर्माण सम्पन्न भएपछि अन्य ठाउँमा पनि पुल निर्माण विस्तार हुने प्राविधिकहरु बताउँछन् । पुल निर्माण सम्पन्न भए पर्वतको पाङ क्षेत्रवासीलाई बागलुङ बजारसम्म आउन सहज हुनेछ । कालिगण्डकी नदीको ठूलो खोंचको माथि पुल निर्माण हुनेभएपछि दुई घण्टाको यात्रा गर्नुपर्ने ठाउँमा ३० मिनेटमै पुग्न सकिनेछ ।गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button