
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका जिल्ला सभापतिहरूको भेला जारी छ। सभापति शेरबहादुर देउवासँग देखिएको पछिल्लो विवादबारे छलफल गर्न वरिष्ठ नेता पौडेलले जिल्ला सभापतिको भेला डाकेका हुन्।
परामर्श बैठक नाम दिइएको उक्त भेलामा ५१ जना जिल्ला सभापति उपस्थित रहेको कांग्रेस नुवाकोटका सभापति जगदीशनरसिंह केसीले बताए। पूर्वमहामन्त्री सिटौला भने भेलामा आएका छैनन् तर उनी पक्षीय केन्द्रीय सदस्यहरू भने उपस्थित छन्।
देउवाले गत पुस ११ गते बहुमतका अधारमा १४ औं महाधिवेशन कार्यतालिका ल्याएको, विधान मिचेर विभाग थपेको भन्दै पौडेल र सिटौला रूष्ट छन्। मंसिर २६ देखि पौडेल केन्द्रीय समिति बैठकमा पनि गएका छैनन्। पार्टी सभापति शेरबहादुर देउवाले विधान निलम्बन गरेर १४ औं महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको निर्णय फिर्ता गराउनु मुख्य उद्देश्य रहेको नेता केसीले बताए।
सभापति देउवाले केन्द्रीय समितिबाट एकलौटी रूपमा गरेको निर्णय सच्याउन पौडेल, महामन्त्री शशांक कोइराला र छुट्टै गुट चलाइरहेका सिटौलाले माग गर्दै आएका छन्। सभापति देउवालाई निर्णय सच्याउन दबाब दिन सोमबार जिल्ला सभापति भेला राखिएको हो।
भेलामा पौडेल समूहका केन्द्रीय सदस्य सहभागी छन्। सभापति देउवा समूहका जिल्ला सभापति भने भेलामा सहभागी भएका छैनन्।
लाेकपाटी न्यूज



