
मानबहादुर बोहरा, बझाङ ।
बझाङका अधिकांस ठाउँमा अझै पनि दर्जनौँ छाउगोठ रहेका छन् । पछिल्लो समय भने अभियान नै चलाएर छाउगोठ भत्काउन थालिएको छ। जिल्ला प्रशासनको निर्देशनमा प्रहरीले स्थानीय तह र स्थानीहरु सँगै समन्वय गरेर गाउँगाउँमा सचेतना कार्यक्रम गर्दै छाउघर भत्काउन सुरु गरेको हो । प्रहरीले पुस महिना यता मात्रै जिल्लाका विभिन्न गाउँका १ सय ५० भन्दा बढी छाउगोठ भत्काएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अहिले छाउप्रथा जडित समूदायमा प्रहरी, स्थानीय तह, सामाजिक संस्था, समुदाय र विद्यालयलाई सचेतना मूलक कार्यक्रम गर्न सरकारले निर्देशन दिएको छ । थलारा, खप्तडछान्ना, मष्टा, दुर्गाथली र जयपृथ्वी नगरपालिकाका विभिन्न ठाउँमा छाउघर भत्काएको र जयपृथ्वी नगरपालिकाको विभिन्न ठाउँमा छाउघर भत्काउन ताकेता गरेको बझाङ प्रहरी प्रमुख तथा डिएसपी गणेशबहादुर बमले जानकारी दिए । अहिलेसम्म सबैभन्दा बढी जयपृथ्वी नगरपालिकामा २३ भन्दा बढी छाउघर भत्काइसकेको बताइएको छ।
बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जिल्लाका ग्रामिण बस्तिहरुमा छाउगोठ व्याप्त रहेका कारण अब छाउ गोठहरुलाई हटाउन सबैले एकजुट भएर लाग्नुपर्ने बताए । छाउपडी गोठमा बस्ने र बसाल्न लगाउने जोकोहीलाई पनी तिन महिना कैद वा तिन हजार जरिवाना गरिने उनले बताए । आफूले छाउगोठ भत्काउनका लागि जनप्रतिनिधि र कर्मचारीहरुलाई समेत आग्रह गरिसकेको प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाई छ । छाउगोठ भत्काउन जत्तिको आवश्यकता छ त्यो भन्दा बढी आवश्यकता चेतनामा वृद्धी गर्न रहेको सामाजीक अगुवा धर्मजङ्ग सिंहले बताए । उनले भने, “छाउपढी मान्ने यी मान्छेका सोच भत्किनुपर्दछ । छाउगोठ आफैँ भत्किन्छन् ।”
सुदूरपश्चिममा महिनावारी हुँदा त्यसलाई देउतासँग जोडेर पाप र धर्मको दृष्टिकोणले छाउ बार्ने चलन रहँदै आएको छ । महिनावारी बार्ने क्रममा किशोरी तथा महिलाहरुलाई यस्तो खालको घाम नछिर्ने घरमा राखिन्छ । सर्वोच्च अदालतले २०६३ सालमै छाउपडीलाई कुप्रथा मान्दै त्यसलाई निर्मूल पार्न आदेश दिएको भए पनि कतिपय शिक्षित र सम्पन्न घरमै पनि महिलाहरु छाउगोठमा बस्न बाध्य छन् ।
यस्ता छाउगोठमा बस्दा खासगरी बझाङ सहित अछाम, बाजुरा लगायत सुदूरपश्चिमका जिल्लामा धेरै किशोरीहरुको ज्यान समेत गएको समाचारहरु आएका थिए । छाउप्रथा अन्त्यका लागि समय लाग्ने देखिए पनि गाउँघरमा भने छाउपडीविरुद्ध बिस्तारै आवाज उठ्न थालेका छन्।
कतिपय ठाउँमा छाउप्रथाविरुद्धको जनचेतना बढाउन स्थानीय महिला जनप्रतिनिधिहरू सक्रिय भएका छन् भने त्यसबारे कानूनी सचेतनाबारे प्रहरीले गाउँलेलाई जानकारी दिइरहेका छ । गाउँघरमा मात्रै होइन वडा अध्यक्षहरुको सहभागितामा महिनावारी हुँदा छाउघरमा बसे कस्तो शारिरीक तथा मानसिक असर पर्छ भन्नेबारे विद्यालयमा पनि जनचेतना फैलाउने कामहरु भइरहेका छन् ।

बझाङको जिल्ला सदरमुकाम रहेको जयपृथ्वी नगरपालिका सहित आसपासमा रहेका ठाउँमा नै छाउप्रथा र भेदभावले जरा गाडेको छ । सदरमुकाम आसपासमा अहिले पनि छाउ भएको समयमा दही, मही, घ्यु, दुधजस्ता पौष्टिक तत्व खान दिइदैन । तर जिल्लाका अन्य ठाउँमा खान र बस्नमा कुनै समस्या छैन । केदारस्युँ गाउँपालिका वडा नं. ८ सुकानाउलाका परुली देवी बोहराले पहिलाको जस्तो अबस्था नरहेको बताईन् । उनले भनिन्, “पहिला छाउभएको बेला दहि, दुध खाने गरेको थिएन । अहिले त त्यस्तो अवस्था छैन् । पहिलाको भन्दा धेरै सुधार भईसकेको छ ।”newsofnepal



