खोरीबारीमा महिलाको शव उद्धार
खोरीबारी : खोरीबारी थाना अन्तर्गत स्थानीय बजारमा एउटी महिलाको अस्वाभाविक मृत्यु भएको छ। मृतक महिला मानसिक रूपले अस्वस्थ्य थिए। घटनाको खबर पाएर खोरीबार पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर अग्रिम कार्वाही शुरू गरेको छ। खोरीबारी थानाका ओसी पासाङ रेन्जिङ शेर्पाले बताएअनुसार उक्त शव थानामा लगेर मामिला दर्ता गरेको छ। आवश्यक कार्वाहीपछि शवलाई पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। उक्त महिलाको परिचय हालसम्म थाहा नलागेको बताइएको छ। मानसिक रूपले अस्वस्थ्य भएको कारण उक्त महिला खोरीबारी बजार क्षेत्रमा गत केही दिनदेखि घुमफिर गरिरहेको स्थानीय मानिसहरूले बताए।

विशिष्ट नाटककार बासु सरकारको निधन
सिलगढी : सिलगढीका विशिष्ट नाटककार बासु सरकारको 66 वर्षको उमेरमा आज निधन भएको छ। प्राप्त जानकारीअनुसार बासु सरकार धेरै समय अघिदेखि अस्वस्थ्य थिए। आज बिहान हाकिमपाड़ास्थित निवास्थानमा तिनले अन्तिम श्वास फेरे। नाटककार बासु सरकारले सत्यजीत राय र अर्पणा सेनसँग फिल्ममा काम गरेका थिए।

एउटै डोरीमा झुण्डिएर दुई मित्रले गरे आत्महत्या
राजगञ्ज : एउटै डोरीमा झुण्डिरहेको अवस्थामा दुईजना युवक 28 वर्षीय रथीन राय र 25 वर्षीय आनोयार हुसेनको शव राजगञ्जको कालीनगर इलाकाबाट उद्धार भएको छ। मृतकका परिवारका सदस्यहरूले बताएअनुसार कालीनगरको इत्यलाल रायको छोरा रथीन रायको एक महिना अघि बिहे भएको थियो। अर्कोतिर, धनेश्वरी ग्रामको आफाजद्दीनको छोरा अनोयरा हुसेन पेशाले व्यवसायीको आज बिहे रहेको बताइएको छ। ती दुईमध्ये प्रगाढ मित्रता थिय़ो। ती दुईजना बुधबार अपरान्ह घरबाट निस्केपछि साँझ कालीनगरदेखि एक किलोमिटर टाढा बेलडाङ्गी गाउँस्थित रुखमा एउटै डोरीमा पासो लगाएर झुण्डिरहेको अवस्थामा शव उद्धार गरेको बताइएको छ। शव नजिक एउटा बियरको बोतल पनि उद्धार गरिएको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर दुईजनाको शव उद्धार गरेर पोस्टमार्टमको लागि अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

किशोरीलाई दुष्कर्मको प्रयास गरेको आरोपमा दुईजना हिरासतमा
सिलगढी : चकलेटको प्रलोभन देखाएर एउटी किशोरीलाई अपहरण गरेर दुष्कर्म गर्ने प्रयास गरेको अभियोगमा पुलिसले दुईजना व्यक्तिलाई सोधखोजको लागि हिरासतमा लिएको छ। इस्टर्न बाइपास संलग्न ठाकुरनगर इलाकामा बुधबार बेलुकी सात बजी उक्त घटेको हो। प्राप्त जानकारीअनुसार गत बेलुकी तीनजना व्यक्ति उक्त किशोरीको घरमा गएर चकलेटको प्रलोभन देखाएर जबर्जस्ती गरेर बाहिर लैजाँदा स्थानीय मानिसहरूले देखेपछि तिनीहरू बाइक छोडेर घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। ती तीनजना व्यक्तिमध्ये एकजनाको उक्त इलाकामा जमिन रहेको साथै तिनीहरूले हिजो उक्त जमिनमा मदपान गरेपछि इलाका निवासी उक्त किशोरीलाई अपहरण गरेर दुष्कर्म गर्ने प्रयास गरेको अभियोग रहेको छ। बिहिबार बिहान एनजेपीथाना पुलिसले उक्त किशोरीको बयानको आधारमा तीमध्ये दुईजना व्यक्तिलाई सोधखोजको लागि हिरासतमा लिएको साथै अन्य व्यक्तिको खोजी शुरू गरेको बताइएको छ।siliguritimes/india



