(फाइल फोटो)
मोदी अनि ममतामाझ कोलकातामा बैठक हुने

कोलकाता : प्रधानमन्त्री नरेन्द्र मोदी अनि पश्चिम बंगालको मुख्यमन्त्री ममता ब्यानर्जीमाझ आज शनिबार साँझ कोलकातास्थित राजभवनमा एउटा औपचारिक बैठक गर्ने भएको छ। यसबाहेक आउँदो आइतबारको दिन कोलकाताको एउटा कार्यक्रममा पनि यी दुईजनाको उपस्थिति हुने तृणमूल पार्टी सूत्रले जनाएको छ। देशको विभिन्न राज्यहरूमा झैँ यता पश्चिम बंगालको विभिन्न ठाउँहरूमा सीएए-को विरोध भइरहेको समय आज प्रधानमन्त्री मोदी दुई दिने भ्रमणमा कोलकाता आउने भएका छन्। तृणमूल पार्टी सूत्रले दिएको जानकारीअनुसार मोदी आज अपरान्ह 4 बजी विमानमार्फत् कोलकाता आइपुगेपछि यहाँको राजभवनमा मुख्यमन्त्री ममता ब्यानर्जीसित एउटा महत्वपूर्ण बैठक गर्ने भएको छ। तथापि उक्त बैठक के विषयलाई लिएर गरिने हो भन्नेबारे खुलस्त भएको छैन।
बाघडुग्रामा दुष्कर्मपछि हत्याको घटनाविरुद्ध निकालिइयो र्याली

बाघडुग्रा : दक्षिण दिनाजपुर जिल्लाको कुमारगञ्ज इलाकामा 17 वर्षीय एउटी नाबालिकालाई सामूहिक दुष्कर्म गरेपछि जलाएर हत्या गरेको विरोधमा डीवाईएफआई र एआईडीडब्ल्युए बाघडुग्रा गोसाईपुर लोकल कमिटीद्वारा हिजो साँझ बाघडुग्रामा मोमबत्ती जुलूस निकालिइयो। उक्त जुलूसमा उपस्थित मानिसहरूले घटनाको विरोध गर्दै आरोपीहरूलाई कठोर सजाय दिनुपर्ने माग गरे। उक्त मोमबत्ती जुलूस बाघडुग्रास्थित पार्टी कार्यालयबाट शुरू गरेर अप्पर बाघडुग्रा हुँदै बिहार मोड़मा पुगेर समापन गरियो। मोमबत्ती जुलूसमा धेरै संख्यामा कार्यकर्ताहरू सामेल थिए। यस अवसरमा कार्यकर्ता शिवानी दास गुप्ताले बताएअनुसार हालै 17 वर्षीय नाबालिकाको हत्याको विरोधमा आफूहरूले उक्त मोमबत्ती जुलूस निकालेको साथै आरोपीलाई कठोर सजाय दिनुपर्ने तिनले माग गरिन्।
दोकानभित्र पस्यो अनियन्त्रित वाहन

सिलगढी : सिलगढीको देशबन्दुपाडाको गोपाल मोड इलाकामा शनिबार बिहान एउटा वाहन अनियन्त्रित भएर दोकानभित्र पस्दा इलाकामा आतङ्क मच्चियो। प्राप्त जानकारीअनुसार एउटा वाहन एनजेपीबाट यात्री लिएर आइरहेको समय अनियन्त्रित भएर गोपाल मोडस्थित एउटा दोकानमा पस्यो। स्थानीय मानिसहरूको सहयोगमा वाहनमा सवार 5 जना यात्रीहरूलाई सकुशल बाहिर निकाले। घटनापछि उक्त वाहनको चालकले घटनास्थलबाट सुइँकुच्चा ठोके। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर वाहनलाई आफ्नो नियन्त्रणमा लिएर थानामा लगेको बताइएको छ। घटनाको खबर पाएर स्थानीय काउन्सिलर स्वपन दास घटनास्थलमा पुगे। उक्त इलाकामा यस प्रकारको घटना प्रायःजसो भइरहने गरेकोले गर्दा स्थानीय मानिसहरू आतङ्कित बन्न पुगेको साथै यस विषयमा प्रशासनलाई अवगत गराउने तिनले बताए।
चोरीको घटनाहरूमा संलग्न चोर पक्राउ

सिलगढी : चोरीको विभिन्न घटनाहरूमा संलग्न रहेको आरोपमा साउथ कोलनी निवासी अब्दुल जफ्फार नामक व्यक्तिलाई एनजेपी पुलिसले पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। प्राप्त जानकारीअनुसार सिलगढीको एनजेपी थाना अन्तर्गत पर्ने इलाकामा भएको चोरीको घटनाहरूमा संलग्न रहेको आरोपमा पुलिसले धेरै समय अघिदेखि अब्दुल जफ्फारको खोजी गरिरहेको बताइएको छ। गत शुक्रवार अबेर राति कश्मीर कोलनी इलाकास्थित एउटा घरमा चोरी गरेर भागिरहेको समय एनजेपी थाना पुलिस अब्दुललाई पक्राउ गर्न सफल बन्यो।
siliguritimes/india



