
बिर्तामोड / नेपाली काँग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले अरु दललाई पनि लोकतन्त्र सिकाउने पार्टी नेपाली काँग्रेसले पार्टीको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन नसके जनअधिकार सुरक्षित नहुने बताएका छन् ।
नेपाली काँग्रेस बिर्तामोड नगर समितिले बिहीबार नगर पार्टी कार्यालय बिर्ताबजारमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै युवा नेता जोशीले सो कुरा बताएका हुन् ।
देशका हरेक परिवर्तनमा निरन्तर नेतृत्व गरेको नेपाली काँग्रेसले कम्युनिष्टहरुलाई समेत लोकतन्त्रको मूल धारमा ल्याउन सफल भएको उनको भनाई थियो ।
एकदलीय अधिनायकवादी चिन्तन भएकाहरुलाई लोकतन्त्र सिकाउने काँग्रेस पार्टीले आफ्नै कार्यकर्ता र सहकर्मीकाबीचमा लोकतान्त्रिक आचरण र व्यवहार देखाउन नसक्नु दुःखद पक्ष भएको भन्दै नेता जोशीले चिन्ता व्यक्त गरे ।
उनले महासमितिको बैठकले गरेका निर्णयलाई केन्द्रीय समितिले उल्लंघन गरेकोप्रति असन्तोष जनाउँदै पार्टी सभापति शेरबहादुर देउवालाई लोकतान्त्रिक विधि, प्रक्रिया र पद्धतिलाई अनुशरण गरेर सबै पक्षलाई समेटेर अगाडि बढ्न सुझाव दिए ।
कार्यक्रममा नेपाली काँग्रेसका अग्रज नेता डिल्लीप्रसाद सिटौलाले काँग्रेसको युवा नेतृत्वप्रति जनताको अपार विश्वास रहेको बताउँदै नेतृत्वको फेर समातेर उभिनेभन्दा जनताको मनमा स्थापित भएर अघि बढ्न आह्वान गरे ।
कार्यक्रममा पार्टीको चौधौं महाधिवेशन, विधानको धारा निलम्बन, वर्तमान कम्युनिष्ट सरकारले गरेका ठूला भ्रष्टाचार काण्डमा पार्टी नेतृत्वको स्पष्ट दृष्टिकोण आउनुपर्नेमा नेपाली काँग्रेस झापाका प्रचार विभाग प्रमुख कृष्ण हुमागार्इँ र महाधिवेशन प्रतिनिधि धर्मराज माझीले जोड दिएका थिए ।
नगर सभापति भोजराज सिटौलाको सभापतित्वमा भएको सो कार्यक्रममा २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, नगर सहसभापति भोला पौडेललगायतले मन्तव्य राखेका थिए । सो कार्यक्रमको सञ्चालन लक्ष्मी आचार्यले गरेका थिए ।janasamsaddaily



