गणतन्त्र दिवसको जोड़तोड़ले पूर्व तयारी

खोरीबारी: खोरीबारी, नक्सलबारी खण्डसहित सीमावर्ती क्षेत्र गलगलीयाका विभिन्न सरकारी तथा गैर सरकारी प्रतिष्ठानहरूमा गणतन्त्र दिवसलाई लिएर जोड़तोड़ले तयारी भइरहेको छ। विशेष गरेर यहाँका विभिन्न कार्यालय तथा स्कूलहरूमा झण्डोत्तोलनलाई लिएर साफ-सफाई अनि रंग-पचेरा लगाइने कार्यहरू भइरहेको छ। यसैगरी, केही स्कूलहरूमा गणतन्त्र दिवसको अवसरमा आयोजित गरिने सांस्कृतिक तथा मार्चपास आदि जस्ता कार्यक्रमहरूको लागि विद्यार्थीहरूले पूर्व अभ्यास जोडतोड़ले गरिरहेका छन्।
लिखेभीरमा दुर्घटनाग्रस्त वाहनसँगै निखोज तीनजनाको शव उद्धार
टिस्टा : राष्ट्रिय राजमार्ग 10 अन्तर्गत पर्ने टिस्टा नजिक लिखे भीरमा सडकबाट नदीमा खसेको वाहन लगायत त्यसमा सवार व्यक्तिहरू हिजो अबेर समयसम्म खोजी अभियान चलाउँदा पत्तो नलागे तापनि आज दोस्रो दिन चलाइएको खोजी अभियानमा एनडीआरएफ-का सदस्यहरू लगायत स्थानीय मानिसहरूको सहयोगमा ठुलो सफलता हात परेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार आज दोस्रो दिन बिहानैदेखि चलाएको खोजी अभियान पछि घटनास्थलबाट दुर्घटनाग्रस्त भएको वाहन लगायत त्यसमा सवार तीनजनाको शव टिस्टा नदीमा गाडी भित्रैबाट उद्धार गरिएको छ। तथापि, अन्य एकजनाको शव हालसम्म पनि निखोज रहेको बताइएको छ। उक्त निखोज व्यक्तिलाई खोजी निकाल्ने युद्ध स्तरमा खोजबीन जारी रहेको छ।

स्मरण रहोस्, हिजो गान्तोकबाट एउटा वाहनमा सवार भएर परिवारका सदस्यहरू क्रमैले पिता 43 वर्षीय चन्दन राई, माता तुलसी राई, 19 वर्षीय छोरा सरगम राई, 14 वर्षीय छोरी साक्षी राई लगायत वाहन चालक एउटा धार्मिक कार्यक्रममा अंश ग्रहण गर्नको लागि डुवर्सको वीरपाडा गइरहेको समय टिस्टा नजिक लिखेभीरमा वाहन अनियन्त्रित भएर सोझै टिस्टा नदीमा झरेको थियो। उक्त घटनापछि 14 वर्षीय साक्षीको शव घटनास्थलबाट फेला पारे तापनि वाहनमा सवार भएका परिवारका अन्य सदस्यहरूसँगै वाहनको खोजी हिजो बेलुकीसम्म खोजी गरे तर पनि कुनै पत्तो लागेको थिएन। मृतक परिवारका सदस्यहरू स्थायी रूपमा दार्जिलिङ सिंहमारी निवासी रहे तापनि हाल तिनीहरू सपरिवार गान्तोकमा बस्दै आइरहेका थिए।
सिलगढीमा एटीएम लुट्ने प्रयास
सिलगढी : सिलगढीको गोपालमोड इलाकामा आज केही दुष्कृतिहरूले एउटा गैर सरकारी ब्याङ्कको एटीएम लुट्ने प्रयास गरेको घटना प्रकाशमा आएको छ। ती दुष्कृतिहरूले उक्त एटीएम मशीनको डिस्पे खोल्न सफल भए तापनि त्यहाँ भएको रुपियाँ लैजान असफल भएको बताइएको छ। आज बिहान एकजना व्यक्तिले हातमा धारिलो हतियार लिएर उक्त एटीएमबाट बाहिर निस्केपछि त्यहाँबाट चम्पट कसेको स्थानीय मानिसहरूले बताए।

घटनाको खबर पाएर 30 नम्बर वार्ड काउन्सिलर स्वपन दास घटनास्थलमा पुगे। यसबारे पुलिसलाई खबर दिएपछि सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर छानबीन गरेपछि घटनाको जाँच शुरू गरेको बताइएको छ।
मिरिकमा दुई दिने उत्तरबंग उत्सव हुने
मिरिक : मिरिकमा आगामी 30 र 31 जनवरीको दिन भव्यताको साथमा उत्तर बङ्गाल उत्सव आयोजना गरिने भएको छ। शुक्रबार मिरिक नगरपालिका अध्यक्षको चेम्बरमा नगर अध्यक्ष एलबी राईको अध्यक्षतामा सम्पन्न एउटा महत्वपूर्ण बैठकमा उक्त निर्णय लिएको बताइएको छ। बैठकमा महकुमा अधिकारी, खण्ड विकास अधिकारी तथा विभिन्न विभागका शीर्ष प्रतिनिधिगण, नगरपार्षद-पार्षदिकाहरूको उपस्थिति रहेको थियो। उक्त सभामा आगामी 30 र 31 जनवरीमा आयोजना गरिने दुई दिवसीय उत्तरबङ्गाल उत्सव अवधि विविध सांस्कृतिक, साङ्गेतिक कार्यक्रमहरूको आयोजना गरिने निर्णय लिएको छ भने यस उत्सव अवधि विभिन्न स्टलहरू पनि राखिने निधो गरेको छ।
सिभिक भोलिन्टियरको मोबाइल छिनताई गर्ने युवक पक्राउ
सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको एनजेपी थाना अन्तर्गत पर्ने शक्तिगढ इलाकामा एकजना सिभिक भोलिन्टियरको मोबाइल छिनताई गरेको घटनामा एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक नीचपाडा झङ्कार मोड इलाका निवासी मोहम्मद आजादको रूपमा चिन्हित गरिएको छ। पुलिसले आरोपी मोहम्मदसँग केरकार गर्दा तिनले छिनताई गरेको उक्त मोबाइल एकजना युवकलाई बिक्री गरिसकेको बताइएको छ। आज आरोपीलाई जलपाईगढी अदालतमा पेश गरेपछि पुलिस हिरासतमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।







