मिरिकमा तमु ल्होसार पर्व हर्षोल्लासको साथमा पालन

मिरिक: गुरुङ समुदायले मङ्गलबार मिरिकमा तमु ल्होसार पर्व हर्षउल्लासको साथमा पालन गरे । यहाँको थर्बु प्रथामिक पाठशाला खेल मैदानमा विविध कार्यक्रमको साथमा तमु ल्होसार पर्व समारोह केबी गुरुङको अध्यक्षतामा अनि पश्चिम बङ्गाल गुरुङ विकास एवं सांस्कृतिक बोर्ड चेयरम्यान खगेन्द्र गुरुङको मुख्य अतिथिमा सम्पन्न भयो। यस समारोहमा विभिन्न विकास बोर्डका चेयरम्यान अनि भाइस चेयरम्यानहरुको साथमा मिरिक नगर अध्यक्ष एलबी राई विशिष्ट अथितिको रुपमा उपस्थित थिए ।
कार्यक्रममा गुरुङ जातिको सांस्कृतिक नृत्य, मादले नृत्य प्रस्तुत गरियो भने यस अवसरमा विभिन्न विधाका गुरुङ व्यक्तित्वहरुलाई सम्मान पनि जनाइयो। आमन्त्रित विभिन्न विकास बोर्डका नेतृत्ववर्ग अनि नगर अध्यक्षलाई पनि सम्मान जनाइयो । गुरूङ जातिका मानिसहरूले अति हर्षोल्लासको साथमा जातीय वेषभुषामा सजिएर तमु ल्होसार पर्व पालन गरे ।
सिलगढीका नैतिक ह्याकरले बटुले प्रशंसा

सिलगढी: सिलगढी बाबुपाड़ा निवासी सौरोजित मजुमदारले कलिलो उमेरमा नै नैतिक ह्याकर बनेर सबैलाई चकित पारेका छन्। तिनी भक्तिनगर सेन्ट जोसेफ उच्च विद्यालयको १०औं श्रेणीका विद्यार्थी हुन्। प्राप्त जानकारी अनुसार क्याम्ब्रीज विश्वविद्यालयको इन्टरनेट सेवाको सुरक्षा प्रणालीमा प्रमुख कमजोरीहरू पत्ता लगाउन सफल भएपछि तिनलाई सम्मानित गरियो। सौरोजितले यस सम्बन्धी क्याम्ब्रीज विश्वविद्यालयका सम्बन्धित अधिकारीहरुलाई खबर गरेपछि आफुले प्रशंसा प्राप्त गरेको बताए।
एनआरसी-सीएए विरूद्ध जुलूस

नक्सलबारी: नक्सलबारी टी स्टेट वर्कर्सको आयोजनामा मंगलबार एनआरसी अनि सीएए विरूद्ध एउटा सभाको आयोजना गरिनको साथै कमान क्षेत्रमा एउटा विशाल ऱ्यालीको पनि आयोजना गरियो। यस अवसरमा जुलूसमा भेला भएका व्यापक चिया श्रमिकहरूले विरोध प्रदर्शन गर्दै एनआरसी अनि सीएए विरूद्धमा नाराबाजी गरे। उक्त सभामा राजू सरकार, सुकरा उरांव, ललिता सौरिया लगायत धेरै संख्यामा चिया कमानका श्रमिक अनि कार्यकर्ताहरू उपस्थित थिए।
बजारमा कम्ती दामको विदेशी प्याज उपलब्ध

सिलगढी: लगभग तीन महिनादेखि प्याजको महँगाइले मानिसहरूलाई रुवाई रहेको थियो। निम्न तथा मध्यम वर्गीय मानिसहरूको लागि प्याज किन्न निकै गाह्रो परिरहेको थियो। तर अब बाजारमा विदेशी प्याज आएको छ। गत एक हफ्तादेखि नासिकबाट प्याजको आयात बढ़ेको व्यवसायीहरूले बताए। हाल उक्त प्याजको दाम प्रति किलो 90 रूपियाँ रहेता पनि विदेशी प्याजको तुलनामा आफ्नै देशको प्याजको माग ज्यादा रहेको बताइएको छ। आउँदो नयाँ वर्षमा प्याजको दाम कम्ती हुनेबारे थोक विक्रेता लगायत खुद्रा विक्रेताहरू आशावादी रहेको बताए।
siliguritimes/india



