
एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड इंग्ल्यान्डको सबैभन्दा पुरानो र चर्चित एफए कपको क्वाटरफाइन्लमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा म्यानचेस्टरले च्याम्पियनसिप क्लब डर्वी काउन्टीमाथि ३–० को सहज जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो ।
प्राइड पार्कमा म्याचेस्टरको सहज जितमा ओडिन इगहलोले दुई तथा लुका साले एक गोल थपे । खेलको सुरुवातदेखि नै घरेलु टोलीविरुद्ध बल पोजेसनमा पकड जमाएको म्यानचेस्टरले खेलको ३३औं मिनेटमा अग्रता लिन सफल भएको थियो । लुका साले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।
४२औं मिनेटमा इगहलोले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ७०औं मिनेटमा इगहलोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै म्यानचेस्टरलाई ३–० को सहज जित दिलाए ।
अब म्यानचेस्टरले क्वाटरफाइनलमा नर्विच सिटीसँग खेल्नेछ । नर्विचले बुधबार राति टोटेनहम हस्टपरलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै अन्तिम आठको यात्रा तय गरेको थियो । क्वाटरफाइनलमा लेस्टर सिटी र चेल्सी, न्यु क्यासल र म्यानचेस्टर सिटी तथा सेफिल्ड युनाइटेड र आर्सनलबीच प्रतिस्पर्धा हुदैछ । क्वाटरफाइनल २१ मार्चमा हुनेछ ।hamrokhelkud



