मूल खबर

शिक्षिकाले नै विद्यार्थीको ब्लेडले हात चिर्न लगाइन्

आजका राष्ट्रिय दैनिकहरुले कोरोनाभाइरस, सुरुङमार्ग, सडक र प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे समाचारहरुलाई प्राथमिकताका साथ छापेका छन् ।

कान्तिपुर दैनिकले ‘कोइलाखानीको सुरुङभित्र’ शीर्षकमा कोइलाखानीमा काम गर्ने एक जना कामदारको विषयमा समाचार लेखेको छ ।

यमबहादुर राना हरेक बिहान भगवान् सम्झिन्छन् । त्यसपछि उनै भगवान्लाई पुकार्दै कोइलाखानीको सुरुङभित्र पस्छन् । बाहिर निस्कने निश्चित हुँदैन । सुरुङ बाहिर आएर उज्यालो देख्न पाउनुलाई भाग्य ठान्छन् । परिवारलाई सुरुङमा पसेका आफन्त घर फर्किन्छन्रफर्किन्नन् दिनदिनै सुर्ता हुन्छ । चार सय मिटर गहिरो सुरुङमा बिना कुनै सुरक्षा दिनमा कैयौं पटक ओहोरदोहोर गर्छन् । भित्र पसेर पानी निकाल्छन्, कोइला खन्छन्, बोकेर बाहिर ल्याउँछन् । सुरुङ जोखिमपूर्ण छ । भत्किने त्रासले ठाउँठाउँमा काठका टेको लगाइएको छ । बोरा राखेर अड्याइएको छ । सुरुङभित्र सजिलै पानी जम्ने भएकाले कोइला निकाल्न सजिलो छैन। पानी फालेपछि बल्ल कोइला खन्न सुरु गर्छन् ।

घोराहीको उत्तरी पहाडमा रहेका कोइलाखानीमा सयौं कामदार दिनहुँ यसैगरी जोखिमपूर्ण काम गर्छन् । ‘बाँचे फर्कुंला भन्दै भित्र पस्छौं । बाहिर निस्केपछि ठूलो युद्ध जितेजस्तो हुन्छ,’ रानाले भने, ‘दिनदिनै मन ढुकढुक हुन्छ । कतिबेला के हुने हो केही भन्न सकिँदैन ।’

५४ वर्षीय रानाले यसैगरी सुरुङभित्र २४ वर्ष बिताइसके । घोराही उपमहानगरपालिका–१२ भलडाँडा निवासी उनी नै कोइलाखानीका पुराना मजदुर हुन् । अहिले पनि बिहान ८ बजे सुरुङभित्र पसिसक्छन् । शरीर पूरै कोइलाजस्तो, जता पनि कालै ।

आजको नागरिक दैनिकले नेपालमा गाँजाखेती कति सहज छ त भनेर समाचार लेखेको छ । नेपालमा गाँजाखेतीलाई वैध बनाउन बहस चलिरहेको छ। गाँजाखेती खुला गर्न नियमन तथा व्यवस्थापन गर्न भन्दै संसद्मा विधेयक दर्ता भएपछि बहस सुरु भएको हो।

गाँजाको औषधीय गुण र आर्थिक सम्भावना औंल्याउँदैसंसद्मा विधेयक दर्ता भएको छ। संसदभित्र र बाहिर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले सरुमा गाँजा खेती गर्न पाउनुपर्ने माग उठाएका हुन्। नेकपाकै सांसद शेरबहादुर तामाङले गाँजासम्बन्धी विधेयक संसद्मा दर्ता नै गराए।

गत वर्ष कर्णाली प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको आर्थिक वर्ष २०७५र७६ को वार्षिक नीति तथा कार्यक्रममा पनि गाँजा प्रजातिमा पर्ने भाँगोको खेती गर्ने र त्यसबाट तेल उत्पादन गरेर निकासी गर्न सकिने उल्लेख गरेको थियो। बुँदा नम्बर १०७ मा समेटिएको यो कार्यक्रमले गाँजाखेतीको विषय बहसमा ल्याएको थियो। सरकारले भाँगो खेतीलाई पनि प्रतिबन्ध लगाएको छ।

‘गाँजा भन्नाले भाङ (भाँगो) र सिद्ध समेत गाँजा मूलको जुनसुकै बोटको पात र फूल, चरेस तथा गाँजाको बोटबाट प्राप्त गरिएको प्राकृतिक खोटो, लिस्सा र चोप, माथि उल्लेख गरिएकामध्ये कुनै पदार्थ भएको सार, निस्सार, निष्कर्ष, मिश्रण तथा पेय पदार्थहरू सम्झनुपर्छ’, लागुऔषध (नियन्त्रण) ऐन २०३३ को दफा ३ मा उल्लेख गरिएको छ। यसले गर्दा भाँगोलाई पनि प्रतिबन्धित प्रजातिको बिरुवाका रुपमा लिइन्छ।

नयाँ पत्रिका दैनिकले ‘शिक्षिकाले नै कम नम्बर ल्याउने विद्यार्थीको ब्लेडले हात चिर्न लगाइन्’ शीर्षकमा समाचार लेखेको छ ।

परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिकाले ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी छिन् । हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौजना कक्षा ७ का छन् ।

१२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले गत साता ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन् । राम्रो नम्बर नल्याउनेको हात चिरिदिने भन्दै उनले परीक्षाकै वेला धम्की दिएकी थिइन् । धम्कीअनुसार नै उनले राम्रो नम्बर ल्याउन नसकेका विद्यार्थीलाई बिहीबार बेन्चमा उभ्याएर सिसाकलम तिखार्ने ब्लेडले हात चिर्न लगाएको पीडित विद्यार्थीले बताए ।

निर्देशन नमाने आफैँ चिरिदिने धम्की दिएपछि आ–आफ्नो हात काटेको विद्यार्थीले बताए ।

अन्नपूर्ण पोस्ट् दैनिकले ‘कालोबजारी रोक्न गृहमन्त्रीको निर्देशन’ शीर्षकमा समाचार छापेको छ ।

गृहमन्त्री रामबहादुर थापाले सीमा नाकामा कडाइसँगै निगरानी बढाउन निर्देशन दिएका छन्। कोरोना भाइरसको प्रभाव न्यूनीकरण, पूर्वतयारी तथा सहजीकरण समिति बैठकमा थापाले शुक्रबार यस्तो निर्देशन दिएका हुन्।

बैठकको अध्यक्षता गरेका थापाले सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई सीमाका बीओपीलाई सक्रिय बनाउन निर्देशन दिए। उनले नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई बजारमा कालोबजारी हुन नदिन विशेष सक्रियता बढाउन निर्देशन दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button