कलाभिडियो चौतारी

‘प्रेमगीत ३’ टिजरमा दर्शक प्रतिक्रियाः ‘नेपाली फिल्ममा नयाँ सुरुवात’

फिल्मीखबर, काठमाण्डौ
स्टार कास्टका कारण निर्माण अगावैदेखि चर्चामा रहेको यस वर्षको प्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ को चार दिनअघि सार्वजनिक भएको टिजरलाई दर्शकले निकै रुचाएका छन् । ‘सक्कीगोनि’ टेलिसिरियलका कारण सफलताको मानक मानिने यूट्युब ट्रेन्डिङमा उक्लन नसकेको फिल्मको टिजर अहिलेसम्म ६ लाखभन्दा बढीले हेरिसकेका छन् । भने, तीस हजार लाइक्स प्राप्त छ ।

टिजर हेरेर तीन हजारभन्दा बढीले कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया जनाएका छन् । जसमध्ये ९० प्रतिशत प्रतिक्रिया सकारात्मक छन् । टिजर हेरेपछि रुषा परियार लेख्छिन्, ‘अहिलेको समयमा पौराणिक विषयमा बनेको नेपाली फिल्म हेर्ने मन थियो, त्यो ‘प्रेमगीत ३’ ले पुरा गर्ने भयो ।’ अर्का यूट्युब प्रयोगकर्ता हर्षले बलिउडलाई टक्कर दिने फिल्म बनेकोमा खुसी व्यक्त गरेका छन् ।

अजय लामाले यूट्युबको कमेन्ट बक्समा कोरेका छन्, ‘नेपालको फिल्म क्षेत्रमा नयाँ बाटो देखायो ।’ त्यस्तै, सुरेन्द्र साउदले नेपाली फिल्म क्षेत्रमा ‘प्रेमगीत ३’ ले नयाँ इतिहास लेख्ने दाबी गरेका छन् । अर्का दर्शक अनमोल जंगले यो फिल्मलाई नेपाली फिल्मको नयाँ सुरुवातको रुपमा लिएका छन् भने अमृता भट्टले कमेन्ट बक्समा नेपालले गौरव गर्नुपर्ने फिल्म बनेको उल्लेख गरेकी छन् ।

तीन हजारभन्दा बढी कमेन्टमा प्रायः दर्शकले नेपालमा यस्तो विषयवस्तुमा फिल्म बन्नु र बनाउने हिम्मत गर्नु, नेपाली फिल्मलाई एउटा उचाइमा पुर्‍याउनु रहेको भन्दै प्रशंसा गरेका छन् । टिजरले दर्शकमा फिल्मप्रति अपेक्षा बढाएको छ । जसले गर्दा निर्माण टिममाथि चुनौती थपिएको छ । निर्माता तथा निर्देशक सन्तोष सेन दर्शकको अपेक्षालाई फिल्मले निराश नबनाउने दाबी गर्छन् ।

चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको हाइप टिजरले ह्वात्तै चुल्याएको छ । ‘हर यूग होस् प्रेमको गीतको’ र ‘हात्ती ढुंगामा’ गीतले पनि फिल्मको हाइप निर्माणमा ठूलो भूमिका खेलेको छ । हिट फिल्मको सिरिज भएका कारण ‘प्रेमगीत ३’ ले बक्सअफिसमा आक्रामक व्यापार गर्ने अनुमान गरिएको छ । फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन् ।

फिल्ममा शिव श्रेष्ठ, प्रदीप खड्का, मनिष राउत, क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारको अभिनय छ । फिल्मले डेढ सय वर्ष अगाडिको प्रेमकथा भन्छ । तीन करोडको लागतमा निर्मित फिल्मको कथा छेतेन गुरुङ र मन्दीप गौतमले लेखेका हुन् ।

टिजर हेर्नुहोस् :-

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button