स्वास्थ्य

कोरोना संक्रमण : यस कारण नडराऔं

मौसम परिवर्तन हुने समयमा एउटा प्रजातिका भाइरस सक्रिय हुन्छन् भने अर्को प्रजातिका भाइरस निष्क्रिय हुन्छन्। जाडो मौसममा सक्रिय भएका भाइरस गर्मी महिनामा र गर्मी महिनामा सक्रिय भएका भाइरस जाडो महिनामा निष्क्रिय हुन्छन्।

अधिकांश भाइरस मान्छे तथा पशुपक्षीमा सर्दा रुघाको रुपमा देखा पर्छन्। मौसमी फ्लु, भाइरल फ्लु, स्वाइन फ्लु, बर्ड फ्लु, इबोला संक्रमण, सार्स, मर्स लगायत धेरै किसिमका भाइरल संक्रमण रुघाखोकीको रुपमा देखा पर्छन्।

अहिले संसारलाई तर्साएको कोरोना संक्रमण पनि एक किसिमको रुघा नै हो। रुघाको लक्षण, घरेलु उपचार, औषधीय उपचार तथा रोकथाममा हामी अभ्यस्त भएका छौं। कोरोना संक्रमण पनि त्यस्तै हो।

यस्तो संक्रमण भएमा आराम गर्ने, झोलिलो पदार्थ खाने, मनतातो पानी खाने, अदुवा, बेसार, ज्वानो, कागती पानी, तुलसी पत्ता आदि पकाएर खाने, मह र अदुवा खाने, मुख बार्ने, ज्वरो आएमा तथा टाउको दुखेमा पारासिटामोल खाने, खोकी र रुघाको औषधि खाने, नाक बन्द भए न्याजल ड्रप राख्ने, श्वास फेर्न गाह्रो भए रोटाक्याप वा इन्हेलर प्रयोग गर्ने, गाह्रो भए उपचार गर्ने, बढी गाह्रो भए अस्पताल भर्ना हुने, रुघाखोकीबाट फोक्सोमा संक्रमण भए, निमोनिया भए आइसियुमा उपचार गर्ने, लाइफ सपोर्ट चाहिए भेन्टिलेटरमा रहने र त्यति गर्दा पनि निको नभए हजारौंमा एक हुने अर्थात् मृत्यु हुने यस्तै हुन्छ।

धेरै उमेर भएका, दीर्घ रोग लागेका, रोगसँग लड्न नसक्ने व्यक्तिको रुघाखोकीजन्य संक्रमणबाट संसारभर मृत्यु भइरहेको छ। प्रतिवर्ष लगभग ६ लाख मान्छेको यस्तै रुघाखोकीजन्य संक्रमणबाट मृत्यु हुन्छ। कोरोना संक्रमणबाट हालसम्म करिब ३५ सय जनाको मृत्यु भएको छ। यो तथ्यांक हामी आत्तिएभन्दा हजारौं गुणा कमी हो।

यही भाइरसका पुराना संस्करण सार्सको मृत्युदर १० प्रतिशत, मर्सको मृत्युदर ३० प्रतिशत छ भने नोबेल कोरोना भाइरस संक्रमणको मृत्युदर देश, काल र परिस्थिति अनुसार ०.७ देखि ३.४ प्रतिशत मात्र छ।

यस्तो कमजोर भाइरसले विश्वलाई नै प्यारालाइज गर्नुमा मिडियाको सबैभन्दा ठूलो हात छ। हामीहरु सत्यतथ्य नबुझेर धेरै डराएका छौं, आफ्ना काम गर्न छोडेका छौं, खुसी बिर्सेका छौं र आफ्नो देशमा हुँदै नभएको (एउटा केस, जो निको भइसकेको बाहेक) हाउगुजीसँग तर्सेका छौं।

भूतप्रेतसँग तर्सिने हामी भर्चुअल डरसँग तर्सनु स्वभाविक हो। डर, चिन्ता, तनाव, अनिद्रा, आहार तथा व्यायामको कमीले रोगसँग लड्ने क्षमता घटाउँछ। हामीले जानीजानी आफूलाई कमजोर बनाएका छौं।

नेपाल, भुटान, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका आदि देशमा किन कोरोना संक्रमण कमी छ? यो कुरा बुझ्नु जरुरी छ। खानपिनमा प्रयोग गर्ने मसलाहरू, हरेक छाक ताजा खाने बानी, घरमै पकाएर खाने बानी, खाना पकाउने हाम्रो तरिका, खाना खाने ठाउँ, चाडपर्वका खानपिन, टाढाबाट नमस्कार/सलाम गर्ने बानी तथा हाम्रा धार्मिक/सांस्कृतिक प्रचलनको कारण दक्षिण एसियामा कोरोना संक्रमण न्यून छ भन्न सकिन्छ।

योग, ध्यान, स्नान, ब्रत, पूजा, आशिर्वाद, चोखोपन, नाचगान आदिले पनि हाम्रो रोगप्रतिरोधात्मक क्षमता बढाएको छ। प्रकृतिसँगको मितेरी पनि अर्को सकारात्मक पक्ष हो। हुने कुरा कसैले टार्न सक्दैन, बाँच्ने र मर्ने कुरा माथि लेखिएको हुन्छ जस्ता आस्था पनि मनोबल बढाउन सहयोगी छन्।

आधिकारिक समाचारमात्र हेर्ने, विश्व स्वास्थ्य संगठनजस्ता आधिकारिक संस्था तथा चिकित्सक/जनस्वास्थ्यकर्मी आदिको मात्र भनाइलाई सत्य ठान्ने, झुट एवं सनसनी मच्याउने आधुनिक भूतप्रेतको ताण्डव नहेर्ने हो भने हाम्रो ८० प्रतिशत डर हराउँछ। रोकथामका उपाय अबलम्वनले १५ प्रतिशत डर हटेर जान्छ। बाँकी ५ प्रतिशत डर हाम्रो ‘स्टेट अफ माइण्ड’ को स्वभाव हो।

(डा पाण्डे जनस्वास्थ्य विज्ञ हुन्)swsthyakhabarpatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button