मूल खबर

कम्युनिस्ट महाराजहरूबाट महिला मुक्ति सम्भव छैन : मोहन वैद्य

काठमाडौँ : नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले महिला दिवस श्रमिक महिलाको दिवस रहेको र कम्युनिस्ट महाराजाहरूबाट महिलाको मुक्ति सम्भव नरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसरका अवसरमा आयोजित कार्यक्रममा नेता वैद्यले भने, ‘कम्युनिस्ट महाराजहरूबाट महिला मुक्ति सम्भव छैन। नयाँ जनवादी क्रान्ति, समाजवादी क्रान्तिको प्रक्रिया फेरि अगाडि बढ्छ । सम्पूर्ण सच्चा क्रान्तिकारीहरू र उत्पीडित महिला, जनजाति, मधेसी, मुस्लिम, थारूलगायत सबै शोषित र उत्पीडित वर्गहरूलाई एकताबद्ध तुल्याउनु पर्दछ । अन्ततः जनताको जित निश्चित छ ।’

उनले श्रमिकको प्रयोग गर्न छाडेर महिला दिवस मात्रै भन्ने गरिएकोमा आपत्ति प्रकट गरे । श्रम कार्यदिवस, श्रमको समान ज्याला, राजनीतिक मताधिकार, सबै प्रकारका भेदभावका विरुद्ध अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरिएको स्मरण गराउँदै वैद्यले भने, ‘सबैले यो दिवस मनाउनु राम्रो भए पनि महिला दिवसमा ‘श्रमिक’ शब्द छुटाइनु दुःखको कुरा हो ।’

उनले भने, ‘श्रमिक शब्द कता हरायो ? महिला मुक्ति श्रमिक महिला वर्गहरूलाई चाहिएको होइन र ?’

आदिम साम्यवादी समाजमा मातृसत्ता रहेको विभिन्न तथ्य र प्रमाणले पुष्टि गरेको र त्यसबेला शोषण–उत्पीडन नरहेको, शोषण–उत्पीडनको स्रोत निजी सम्पत्ति, परिवार र राज्यसत्ता भएको स्पष्ट पार्दै वैद्यले त्यहीँबाट पितृसत्ताको सुरुआत भएको बताए । उनले भने, ‘पितृसत्ताले महिलामाथि उत्पीडन सुरु गर्यो ।’

दासयुग, सामन्तवादी युग, पुँजीवादी युग सबै पितृसत्तामा आधारित राज्यव्यवस्था भएको चर्चा गर्दै नेता वैद्यले वास्तविक अर्थमा श्रमिक महिला वर्गको मुक्ति वैज्ञानिक समाजवाद हुँदै साम्यवादी युगमा मात्र हुने स्पष्ट पारे ।

नेता वैद्यले विश्वमा महिला मुक्ति आन्दोलनमा संसद्वादी, संशोधनवादी तथा अवसरवादी, नारीवादी र माक्र्सवादी गरी चारवटा धारा रहेको भन्दै क्रान्तिकारी श्रमिक महिलाहरूले संसद्वादी, संशोधनवादी तथा अवसरवादी र नारीवादी धाराले फैलाएको भ्रम चिर्दै आमूल परितर्वनकारी सिद्धान्त माक्र्सवादी धारामा आबद्ध भएर वैज्ञानिक समाजवाद तथा साम्यवादका निम्ति लड्नुपर्नेमा जोड दिए । ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button