कला

गुञ्जियो ‘सारङ्गी’ को धुनमा कोरोना’

सलिम अन्सारी,प्यूठान ।

एक समय थियो, गन्धर्वहरु सारङ्गी भिरेर गाउँ डुल्थे । घरघरमा पुग्थे। गीत सुनाउँथे। सारङ्गी धुन गुञ्जिन्थ्यो। त्यस्मा जीवन–जगतका यथार्थ घटनाको बयान हुन्थ्यो । ती गीतमा सुख दुःखका कथा हुन्थे। बिरह र बेदनाका भाव छल्कन्थ्यो। तर अब भने, गन्धर्वहरूले सामाजिक सचेतना,जागरण र संदेशका गीतहरू समेत गाउन थालेका छन् ।

प्राय, माया पिरतीका भाका सुनाउने आजभोली प्युठानको ऐरावती–५ सरङ्कोटका धुर्व गन्धर्व सहितको कलाकार समुह सारङ्गीको धुनसँगै चेतना र संदेशका गीत सुनाउँदै हिँड्ने गरेका हुन् । उनीहरु गाउटोलमा पुगेर सवैलाई एकैथलोमा भेला गर्छन।

कोरोना भाईरस र हिउदयाममा हुने बिपदका घटनाहरुबाट सतर्कता अपनाउनुपर्ने भन्दै गाँउटोलमा पुगेर संदेशमुलक गीत प्रस्तुत गर्छन । कोरोनाबाट आफु पनि बचौ र अरुलाई पनि बचाउँ भन्ने भाव सहित धुर्वले यसरी गीत गाउनुभयो :

आफ्नो जीवन राम्रो संग सजाउनु
आफु बांच्नु अरुलाई बचाउनु।

भाईरस हटाउ गौतमबुद्ध अनि सगरमाथा
भाईरसलाई आउनै नदिउँ पशुपतीनाथ
नपर्नलाई भाईरसको रोगमा
ऐरावती गापाको सहयोगमा

कोरोनापछि उहाँले आगलागीले ठुलो क्षती पुर्याउने भएकाले सचेत रहन आग्रह गर्दै यस्तो गीत गाउनुभयो ।

दिदि बहिनी हे मेरा दाजुभाई
यहि संदेश सुनाउछौ सबैलाई
हरियाली बन,
जोगाउँ है आफ्नो बन,यहि हो हाम्रो धन।

फागुन देखी जेठ सम्म आगो लाग्ने डर
ग्यास,सलाई,लाईटर सुरक्षाले राखौ आफ्नै घर।
बनस्पती,जडीबुटी,आगो लागे खान्छ
आफ्नै बनको सम्पती नै नोक्सान हुँदै जान्छ।
एकैछिनको लापरबाहिले ठुलो क्षती हुन्छ।
पशुपन्छी जीवजन्तुको साह्रै मन रुन्छ।
हेहेहे दिदि बहिनी …..

सारंगीका धुन सबैले रुचाउने भएकाले यसैमा सचेतना र संदेशको गीत तयार गरिएको धुर्वले बताउनुभयो ।‘हामी समाजको ऐना हौं । समाजका बिषयबस्तुलाई टपक्क टिपेर गीत बनाउँछौं ।’ उहाले भन्नुभयो, ’अब यस्तै खालका गीत सुनाउछौँ ।” बिपद सम्बन्धी सचेतनामुलक अभियानमा धुर्व संगै अर्जुन,पुर्ण, सन्तराम र सद बहादुर गन्दर्व सहित कलाकारको समुह सक्रिय छन् ।

प्यूठानको ऐरावती गाउँपालिकाले कोरोना भाइरसका बारेमा सचेतना जगाउन सारङ्गीको धुनलाई साहारा बनाएको हो । गाउँपालिकाका उपाअध्यक्ष बुद्ध बहादुर बस्नेतले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना र बिपदका घटनाबाट समयमै जोगिन नागरिकको सचेतनाका लागी यो अभियान सुरु गरेको बताउनुभयो।

यसले सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सहयोग र्पुयाउने उहाको बिश्वास छ। शनिबार देखी सुरु भएको यो अभियान आउदो चैत्र मसान्त सम्म संचालन हुने छ। गाउपालिका भित्रका ६ वटै वडामा यो सचेतनामुलक अभियान लगिने उहाले जानकारी दिनुभयो ।newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button