
एजेन्सी – ब्राजिली स्टार फरवार्ड नेयमार जुनियर नायक बन्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पुनरागमन जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पीएसजीले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई २–० ले पराजित गर्दै समग्रमा ३–२ को जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो । पीएसजी पहिलो लेगमा २–१ ले पछि परेको थियो ।

बुधबार राति पार्क डि प्रिन्सेस रंगशालामा दर्शकविना खेलिएको खेलमा पीएसजीको जितमा जुवान बर्नाटले अर्काे एक गोल थपेका थिए । खेलको २८औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । एन्जल डि मारियाको क्रसमा नेयमारले सिक्स यार्ड बक्समा डाइभिङ हेडिङ गोल गर्दा डर्टमन्डका गोलरक्षक रोमन बुर्कीले रोक्ने कुनै अवसर नै पाएन ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जुवा नबर्नाटले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । उनले पाब्लो सारावियाको पासलाई सदुपयोग गरेका थिए ।

२–० ले पछि परेपछि डर्टमन्डले दोस्रो हाफमा घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो । युवा स्टार अर्लिङ ब्राउट हालान्ड र जाडोन सान्चोका केही प्रयासलाई पीएसजीका गोलरक्षक केलर नाभासले विफल पारेका थिए ।

इन्ज्युरी समयतिर खेल तनावपुर्ण बन्न पुगेको थियो । ८९औं मिनेटमा पाहुना टोली १० खेलाडीमा समेटिएको थियो । नेयमारलाई अनावश्यक फउल गरेपछि रेफ्री टेलरले इम्री क्यानलाई सिधै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए । त्यसपछि पीएसजीका नेयमार मार्कुन्योस, एन्जल डि मारिया र केलियन एमबाप्पेले पहेँलो कार्ड दर्शन गरेका थिए ।
कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासका कारण खाली स्टेडियममा खेल हुदा स्टेडियम बाहिर पीएसजीका समर्थकको बाक्लो उपस्थिति रहेको थियो ।



