कला

‘प्रेमगीत ३’ रिलिज सर्दा निर्माता खुसी

फिल्मीखबर
केही दिनयता विश्वभर फैलिएको कोरोना भाइरसले त्रासदी फैलाएको छ । यो भाइरसका कारण हजारौंको मृत्यु भइसकेको छ भने विश्व नै प्रभावित भएको छ । डब्लूएचओले नेपाल पनि कोरोनाको उच्च जोखिमको सूचीमा राखेपछि अहिले भाइरसबाट बच्न उच्च सर्तकता अपनाइएको छ । नेपाल सरकारले सिनेमा हल बन्द गर्न र २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिइसकेको छ ।

कोरोना भाइरसबाट बच्न सरकारले बैशाख १८ गतेसम्म सिनेमा हलहरु बन्द गर्ने निर्णय गरेपछि नेपाली फिल्म क्षेत्रलाई ठूलो क्षती हुने देखिएको छ । बैशाख दोस्रो सातासम्मका सम्पूर्ण फिल्मको प्रदर्शन स्थगित भैसकेका छन् भने छायांकनरत फिल्म रोकिएका छन् । जसका कारण फिल्ममा काम गर्ने प्राविधिक/कलाकारदेखि हलका कर्मचारीसम्म बेरोजगार हुने जोखिम बढेको छ ।

सरकारले डेढ महिनासम्म सिनेका हल बन्द गर्ने निर्णय गर्दा फिल्मको प्रचार-प्रसारमा मोटो रकम खर्च गरिसकेका निर्मातालाई ठूलो मार परेको छ । ‘म यस्तो गीत गाउँछु २’ का निर्माताले प्रचारमा मात्र २० लाख खर्च गरिसकेका थिए । तर, कोरोनाका कारण प्रदर्शन स्थगित गर्दा लाखौं नोक्सान भएको छ । अब, नयाँ मितिमा प्रचारका लागि पनि निर्माण टिमले मोटो रकम खर्च गर्नुपर्नेछ ।

‘नीरफूल’, ‘लक्का जवान’, ‘चपली हाइट ३’ टिमले पनि प्रचार-प्रसारमा केही रकम खर्च गरिसकेको अवस्थामा कोरोनाका कारण प्रदर्शन स्थगित गर्नुपर्‍यो । बिहीवारबाट सिनेमा हल बन्द भएपछि ‘प्रेमगीत ३’ को पनि अनिश्चितकालका लागि प्रदर्शन रोकिएको छ । जसकारण दुई गीत र टिजर सार्वजनिक गरेर प्रचार समेत थालिसकेको निर्माण टिमलाई ठूलो आर्थिक क्षती भएको छ ।

फिल्मको रिलिज सर्दा आर्थिक नोक्सान बेहोर्नु परे पनि पोस्ट प्रोडक्सनमा थप समय दिन पाएकोमा निर्माता सन्तोष सेनले खुसी व्यक्त गरेका छन् । बिहीवार फेसबुक लाइभमा उनले भनेका छन्, ‘हामीले केही दिनअघि मात्र केही दृश्य र गीतको छायांकन सक्यौं । रिलिज मिति नजिकिँदै गर्दा पोस्ट प्रोडक्सनमा हतार गरिरहेका थियौं । अब पर्याप्त समय दिन पाउने भएका छौं ।’

कोरोनाका लागि आफूहरुलाई पोस्ट प्रोडक्सनमा राम्रोसँग काम गर्न समय मिलेको उनी बताउँछन् । ‘सिनेमा हल बन्द नभएको भए कुनै हालतमा फिल्म चैत २८ मै लाग्थ्यो । तर, हामीले जुन मिहेनतका साथ काम गरेका थियौं त्यसका लागि पोस्ट प्रोडक्सनमा पर्याप्त समय दिन सक्दैन थियौं । कोरोनाका कारण पोस्टमा काम गर्न हामीलाई समय मिलेको छ,’ निर्माता सेनले भनेका छन् ।

छेतेन गुरुङ र सन्तोष सेन निर्देशित फिल्ममा शिव श्रेष्ठ, प्रदीप खड्का, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारको अभिनय छ । यो फिल्मबाट क्रिस्टिना गुरुङले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । ‘प्रेमगीत ३’ ले डेढ सय वर्ष अगाडिको प्रेमकथा वाचन गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button