
देवबहादुर कुँवर, काठमाडौँ / राममणि दाहाल, हेटौँडा
काठमाडौँ, चैत १२ गते । शान्तिसुरक्षासम्बन्धी सूचना सङ्कलन गर्न खटिएका सादा पोसाकका (घुमुवा) प्रहरी असुली र आपराधिक गतिविधिमा संलग्न हुने गरेको गुनासो आएपछि केही दिनअघि ७४ जनाभन्दा बढी प्रहरी जिम्मेवारीबाट हटाइए । महानगरीय प्रहरी कार्यालयले यसरी हटाइएका सबैलाई महाराजगञ्जस्थित २ नम्बर गणमा हाजिर गराउने निर्णय ग¥यो । तीमध्ये केही प्रहरी राजनीतिक शक्तिको आडमा जिम्मेवारीबाट हटेनन् भने कोही बिरामीको बहाना बनाई गणमा नपुगी फिर्ता भए ।
राजनीतिक शक्तिको आडमा नहटेका मध्ये महानगरीय प्रहरी वृत्त दरबारमार्गका घुमुवा प्रहरी जाजरकोट शिवालयका २७ वर्षीय वीरबहादुर बस्नेत पनि एक हुन् । जवान बस्नेत एकजना पूर्व गृहमन्त्रीका आफन्त हुन् ।
महानगरीय प्रहरी दरमार्गमा घुमुवाको रूपमा काम गरेका प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्र बसेल, जवान बस्नेतसहित तीन प्रहरी र एकजना सञ्चारकर्मी मकवानपुरको पालुङमा लुटपाटको अभियोगमा आइतबार पक्राउ परेका छन् ।
पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार सार्वजनिक गरेको छ । उनीहरूको साथबाट एक थान पेस्तोल, सोका गोली, लुटिएको हीरा, सञ्चारसेट, डिटेक्टर हाते मेसिन र मोबाइल बरामद गरिएको छ ।
महानगरीय प्रहरीले कोरोना भाइरसविरुद्ध उपत्यकामा सरसफाइ सचेतना अन्तर्गत साबुन पानीले हात धुने अभियान सञ्चालन गरिरहेको मौका छोपी असई बसेल, जवानद्वय बस्नेत, हिमकान्त पुन मगर र सञ्चारकर्मी बताउने सुजन आचार्य हीरा लुट्न मकवानपुर पुगेका थिए ।
महानगरीय प्रहरी प्रमुख विश्वराज पोखरेलले ‘डिउटी’ छोडेरे हीरा लुट्ने कार्यमा संलग्नलाई प्रहरी सेवाबाट निलम्बन गरिएको जानकारी दिनुभयो। एकजना वृद्ध महिलासँग रहेका हीरा लुटेर भाग्दै गरेको अवस्थामा उनीहरूलाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको थियो ।
‘रक्षक नै भक्षक’
पक्राउ पर्ने प्रहरीमा असई बसेल सुर्खेतको वीरेन्द्रनगर, बस्नेत जाजरकोटको शिवालय, पुनमगर दाङको सिजुवा र आचार्य ललितपुरको भैँसेपाटी निवासी हुन् । असई बसेल यसअघि कमलादीस्थित एक जुवा अखडाबाट ७० हजार रुपियाँ घुस विवादमा मुछिएका थिए ।
त्यसपछि बसेललाई घुमुवाबाट हटाएर महानगरीय प्रहरी कार्यालयअन्तर्गत रहने गरी सीआरभीमा खटाइएको थियो । उनी दरमार्ग वृत्तअन्तर्गत परिचालन हँुदै आएका थिए । बसेल पनि एकजना पूर्वमन्त्रीकै आफन्त हुन् । शादा पोसाकमा खटिने प्रहरीले गर्ने अपराधको यो ज्वलन्त उदाहरण हो ।
सञ्चारकर्मी बताउने आचार्यको गाडीमा सवार अभियुक्तले सुरुमा आफू हीरा किन्ने ग्राहक भएको भन्दै ती वृद्ध महिलालाई हीरा देखाउन आग्रह गरेका थिए । हीरा हातमा परेपछि ‘हामी त प्रहरी हौँ, यस्तो सामान राख्न पाइँदैन कारबाही हुन्छ’ भन्दै डर, त्रास देखाएर हीरा लुटेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशीलसिंह राठोरका अनुसार उनीहरू हीरा लुटेर भागेको करिब एक घण्टापछि स्थानीय प्रहरीले गाडीसहित चारै जनालाई नियन्त्रणमा लिएको हो । पीडित धनलक्ष्मी गुरुङले दिएको सूचनाअनुसार पक्राउ परेकाको साथबाट ६१.३ क्यारेटको १२.२६ ग्राम हीरा बरामद भएको छ ।
उनीहरूको साथबाट बरामद फोर्डको प्रदेश ३.०१.०२२ च ३३६२ नं. को कार सञ्चारकर्मी आचार्यको भएको बताइएको छ । २२ वर्षीय आचार्यले कार चढ्ने हैसियत कसरी बनाए रहस्यमय रहेको भनाइ प्रहरीको छ ।गोरखापत्र अनलाइन



