ललितपुर । भारतीय भूमीमा रोकिएका नेपालीलाई प्रवेशमा रोक नलगाउन माग गर्दै सर्वोच्च अदालतमा आज रिट दायर गरिएको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले लगाएको लकडाउनका कारण महाकालीपारि भारतीय भूमिमा रोकिएकालाई स्वेदश फर्काउन माग गर्दै अधिवक्ता मनीष श्रेष्ठ, रामदत्त ओझा, मणिराम उपाध्याय, देवीकुमारी जोशी, दीपकराज जोशी र कीर्तिनाथ शर्माले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
सो रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीको कार्यालय र उपप्रधानमन्त्रीको संयोजकत्वमा गठित कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समन्वय समितिको कार्यालयलाई विपक्षी बनाइएको छ ।
उक्त रिटमा नेपाली जनतालाई नेपाल प्रवेशमा रोक नलगाउन परमादेश माग गरिएको छ।
यो समयमा सरकारले उचित कदम नचाले सीमापारि रहेकाहरू जोखिमपूर्ण तरिकाले नेपाल प्रवेश गर्ने सम्भावना रहेको र त्यसले झन् भयावह स्थिति निम्त्याउने रिटमा उल्लेख गरिएको छ।




