स्वास्थ्य

हामी सहिद बनेर भए पनि जनताको सेवा गर्नेछौँ, हामीबाहेक गर्ने अरू कोही छैन, कोरोनाविरुद्धको लडाइँमा मृत्युको परबाह नगरी जनताको सेवामा जान निर्देशन दिने बुबालाई डाक्टर छोराको जबाफ

अशोक सुवेदी

काठमाडौँस्थित सिभिल अस्पतालमा कार्यरत आफ्नो डाक्टर छोरा विप्लव लामिछानेलाई मङ्गलबार दिउँसो सिन्धुलीबाट अग्रज कानुन व्यवसायी, वामपन्थी बुद्धिजीवी तथा जर्बुट्टा कलाकार विश्वम्भर लामिछानेले लेखेको देशभक्तिपूर्ण भावनाले ओतप्रोत मार्मिक वैचारिक पत्र इरातो खबर अनलाइनमा प्रकाशित भएपछि त्यसले राष्ट्रिय/अन्तर्राष्ट्रिय बहस चलायो । बाबुले भर्खर जागिरमा लागेको होनहार डाक्टर छोरालाई मृत्युको परबाह नगरी जनताको सेवामा लाग्न दिएको निर्देशन अत्यन्त अर्थपूर्ण थियो । फेरि बाबुले दिएको निर्देशन छोराले मानिहाल्छन् वा मान्नैपर्छ भन्ने पनि त छैन किनकि समाज अत्यन्त स्वेच्छाचारी बन्दै गएको छ । जनसेवा भन्ने कुरा भाषण र पुस्तकमा मात्र सीमित बन्दै गएका छन् । देशभक्त, वामपन्थी बाबुले दिएको निर्देशन चिकित्सक छोराले कसरी पालना गर्लान् ? स्वीकार गर्लान् वा अस्वीकार गर्लान् भन्ने जिज्ञासा पनि धेरैतिरबाट उब्जिरहेको थियो किनकि हिजो देश र जनताको सेवाका लागि भन्दै राजनीति गरेर सत्तामा पुगेकाहरू रातारात भ्रष्ट बनेर बदनाम भइरहेको र कारबाहीमा परिरहेको अवस्था छ । कतिपय समयमा भाइरल बने/बनाइएका पात्रहरूको नाकमुखसम्म देखिएको छैन । भर्खर अध्ययन सकेर काम सुरु गरेको युवा चिकित्सकले देश र जनताको सेवा गर्ने विषयलाई कत्ति गम्भीरतापूर्वक लिएको होला ? चिकित्सा क्षेत्रलाई सेवाका रूपमा पनि लिएको होला कि जागिरका रूपमा मात्रै ? यस्ता थुप्रै जिज्ञासाका बीच चिकित्सक विप्लव लामिछानेले एउटा देशभक्त, वामपन्थी बाबुको निर्देशन स्वीकार्दै आफू सहिद बनेर पनि जनताको सेवा गर्न तयार रहेको प्रत्युत्तर दिएका छन् । युवा वर्गका लागि यो धेरै उत्साह र आशाको विषय हो ।

दलाल पुँजीवादी सत्ता र सामाजिक फासिवादी सरकारले कोरोनाविरुद्ध लड्न चिकित्सकहरूलाई बिनाऔषधी, बिनाऔजार निर्देशन दिएको र विदेशबाट ल्याइएको भनिएको केही कीट र औषधी पनि भ्रष्टाचारका कारण नक्कली ठहर भएपछि स्वास्थ्यमन्त्रीविरुद्ध मुद्दासमेत परेको अवस्थामा डाक्टर विप्लव लामिछानेले बुबालाई कारुणिक, वैचारिक र मार्मिक प्रत्युत्तर लेखेका छन् । त्यो प्रत्युत्तर इरातोखबर अनलाइनलाई प्राप्त भएको छ । डा. विप्लव लामिछानेले प्रत्युत्तरपत्रमा आफू सहिद बनेर भए पनि कोरोनाविरुद्ध जनताको उपचार र सेवामा खटिन तयार रहेको उल्लेख गरेका छन् । पढ्नुस् प्रत्युत्तरपत्रको पूर्ण अंश :

प्रिय बुबा !

मलाई थाहा छ, यो चिठी मलाई मात्र नभई सम्पूर्ण नेपाली स्वास्थ्यकर्मीलाई हो । सेवा नै धर्म हो । बिरामीहरूको सेवा हामी सम्पूर्ण युवा स्वास्थ्यकर्मी त्यत्तिकै उच्च प्राथमिकता साथ गर्नेछौँ जसरी पहिलेदेखि गर्दै आएका छौँ । । यसो गर्दागर्दै सहिद भइएछ भने पनि गर्वको कुरा हो ।

तर त्यो युवा डाक्टर आफँै बिरामी भए के गर्ने ? किनकि रोग लागेको डाक्टर त अब रोग सार्ने कीरा हुन्छ । जतिको जाँच गरिन्छ उतिलाई रोग सार्दै जाने स्थिति हुन्छ । आफ्ना सहकर्मी साथीलाई पनि सार्छ । उसले लगेर आफ्नै घरमा पनि सार्छ । यसरी मर्दा त डाक्टर बिरामीको अनुपात यो महामारी अन्त्यमा १ः१०००० नभई १ः१०,००,००० हुन आउला !

हाम्रो प्रिय ‘कम्युनिस्ट’ सरकारका स्वास्थ्यमन्त्रीज्यूले स्वास्थ्यकर्मीलाई पीपीई दिने कुरा हप्ता दिन बितिसक्दा पनि प्रत्यक्ष देख्न पाइएको छैन, बरु यो पीपीई के हो ? भात पकाउने एप्रोन हो ? भनेको सुन्न पाइयो । अनि एक नेताका परिवारले पीपीई लगाएर फेसबुकमा तस्बिर हालेर नाचेको देख्न पाइयो । त्यो पीपीई नेपालकी एक फ्लारेन्स नाइटिङ्गेललाई दिएको भए हुन्थ्यो ।

मैले युवा डाक्टर किन भनेको छु भने इटालीमा रोग लागेर मृत्यु हुने डाक्टर प्रायः सबै ५० वर्ष नाघेका विशेषज्ञ डाक्टर परेकाले नेपालका कतिपय विशेषज्ञ डाक्टरहरू पनि हामी मरे त नेपालमा विशेषज्ञता प्राप्त डाक्टर नरहलान् भनेर मुसाको दुलोमा पसिसक्नुभएको छ जसलाई सेल्फ क्वारेन्टाइन भनिन्छ ।

तैपनि आशा छ, सरकारले परिवारलाई मरेपछि २५ लाखको लोभले हैन, अहिले नै सबै अस्पतालमा पीपीई दिइयोस् र बस्ने व्यवस्था मिलाइदेओस् ता कि हाम्रो परिवार र सधैँ क्वारक्वार गर्ने घरधनीलाई पनि नसरोस् । तबसम्म हामी सम्पूर्ण स्वास्थ्यकर्मी हनुमान कट्टु लगाएर हातमा गुलेली बोकी त्यो तोप–बारुद (पीपीई) बिना अङ्ग्रेजविरुद्ध सिन्धुलीगढीमा गोरखालीले लडेझैँ लड्नेछौँ । बिरामीको सेवा गर्न पछि पर्नेछैनौँ किनकि हामीले नगरे गरिदिने अरू कोही छैन ।२०७६, १९ चैत्र बुधबार ई-रातो खबर

डा. विप्लव लामिछाने
सिभिल हस्पिटल, बानेश्वर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button