कला

वर्षका अन्तिम फिल्म बने ‘आमा’ र ‘सेन्टी भाइरस’

फिल्मीखबर, काठमाडौं
कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न सरकारले दोस्रो पटक थप ८ दिनका लागि ‘लकडाउन’ गरेको छ । शुक्रवारसम्म ७ जनामा यो भाइरसको संक्रमण देखिसकेका कारण ‘लकडाउन’ को अवधि तेस्रो पटक पनि थपिने सम्भावना छ । कोरोनाको संक्रमणबाट बच्न जनतालाई घरभित्रै राख्नुभन्दा अरु विकल्प नभएकापछि सरकारले यो निर्णय लिन बाध्य भएको हो ।

‘लकडाउन’ को घोषणा गर्नुभन्दा अगाडि नै सरकारले बैशाख १८ गतेसम्मका लागि देशभरका सम्पूर्ण सिनेमा हल बन्द गर्ने निर्णय गरेको थियो। फिल्म हेर्न हलमा दर्शकको भीडभाड रहने भएकाले भाइरसको संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै सरकारले सिनेमा हल बन्द गर्ने घोषणा गरेको थियो । हल बन्द हुँदा नेपाली फिल्म क्षेत्रलाई करोडौंको नोकसान भएको छ ।

सिनेमा हल बन्द भएपछि चैतदेखि बैशाखसम्म प्रदर्शनमा आउने तयारीमा रहेका आधा दर्जन फिल्मको रिलिज स्थगित भयो । कोरोनाको प्रभाव सामान्य रहँदा प्रदर्शनमा आएका थिए, ‘आमा’ र ‘सेन्टी भाइरस’ । प्रदर्शनको दुई हप्तासम्म यी दुई फिल्मको व्यापारमा कोरोनाले खासै ठूलो असर गरेन । तर, तेस्रो हप्ताबाट यो भाइरसको डरले हलमा दर्शक नै आउन पूर्ण रुपमा छाडे ।

तेस्रो हप्ताबाट ‘सेन्टी भाइरस’ प्रायः हलबाट उत्रिसकेको थियो । इनिसियल व्यापार आक्रामक गरे पनि कमजोर ‘वर्ड अफ माउथ’ का कारण फिल्म दोस्रो हप्ताबाट बक्सअफिसमा कमजोर बनेको थियो । यसको फाइदा ‘आमा’ ले उठायो । किनकि, यो फिल्मको माउथ पब्लिसिटी तगडा थियो । दोस्रो हप्ताबाट हलमा दर्शकको फ्लो बढ्दा निर्माताको अनुहारमा खुसी छाउन थालेको थियो ।

तर, ‘आमा’ रिलिजको तेस्रो हप्ताबाट देशमा कोरोनाको त्रास कुन हदसम्म फैलियो भने हलमा दर्शकको नाकमुखै देखिएन । हलमा दर्शक आउन छाडेपछि निर्माण कम्पनीले एक विज्ञप्ती जारी गर्दै फिल्मको लगानी सुरक्षित भएको जानकारी गराउँदै दर्शकलाई धन्यवाद प्रकट गर्‍यो । सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेको अघिल्लो दिनसम्म फिल्म हलमा प्रदर्शनरत थियो ।

सिनेमा हल बन्द र ‘लकडाउन’ नभएको भए यस वर्षका अन्तिम ‘प्रेमगीत ३’, ‘चपली हाइट ३’ र ‘माइकल अधिकारी’ हुने थिए । यी फिल्म चैत २८ मा प्रदर्शन हुँदै थिए । तर, कोरोनाका कारण सिनेमा हल बन्द भएपछि यी तीनै फिल्मको रिलिज रोकियो । ‘आमा’ र ‘सेन्टी भाइरस’ पछि प्रदर्शन हुन लागेका ‘म यस्तो गीत गाउँछु २, नीरफूल, लक्का जवान’ को रिलिज पनि स्थगित भए ।

फागुन ९ गतेपछि कोरोनाको त्रासले नयाँ नेपाली फिल्म प्रदर्शनमा नआएपछि यस वर्षका अन्तिम फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ बनेका छन् । रामबाबु गुरुङ निर्देशित ‘सेन्टी भाइरस’ ले घरेलु बक्सअफिस, ओभरसिज र डिजिटल राइट्सबाट लगानी सुरक्षित गरेको छ भने ठूलो बजेटमा निर्माण नभएका कारण दीपेन्द्रे के. खनाल निर्देशित ‘आमा’ ले हलकै कमाईबाट लगानी उठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button