
काठमाडौं
विश्वभर फैलिएको कोरोना भाइरसका कारण अहिले नेपाल लकडाउनमा छ । शनिवार थप तीन जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएपछि सरकार लकडाउनको अवधि तेस्रो पटक पनि लम्ब्याउने तयारीमा छ । यो समयमा घरभन्दा बाहिर निस्कन नपाइने हुँदा कोरोनाको संक्रमण फैलिन पाउँदैन । तर, लकडाउनले श्रमिकको परिवारमा भने आर्थिक समस्या उत्पन्न भएको छ ।
कोरोनाका कारण एक महिनायता नेपाली फिल्मका सम्पूर्ण गतिविधि ठप्प भएपछि फिल्ममा ज्याला मजदुरी गर्ने प्राविधिकहरुलाई बिहान बेलुकाको छाक टार्नै धौधौ परेको छ । प्राविधिकहरुको साझा संस्था चलचित्र प्राविधिक संघले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका प्राविधिकहरुलाई सहयोग गर्न अपिल गरेपछि अहिले विभिन्न व्यक्तिबाट सहयोग रकम जुटिरहेको छ ।
दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले १ लाख १० हजार प्राविधिकलाई सहयोग गर्ने घोषणा गरेपछि अन्य फिल्मकर्मीहरुले पनि सामाजिक सञ्जालको माध्यमबाट सहयोग रकम घोषणा गरिरहेका छन् । अभिनेता पल शाहले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे लगत्तै अभिनेत्री पूजा शर्माले पनि २ लाख बराबरको खाद्यन्न प्राविधिकको परिवारलाई वितरण गर्ने भएकी छन् ।
अभिनेत्री शर्माले २ लाख बराबरको खाद्यन्न सामाग्री किनेर प्राविधिकहरुलाई सहयोग गर्न लागेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए । त्यस्तै, अभिनेत्री वर्षा राउतबाट ५१ हजार सहयोग रकम प्राप्त भएको पनि उनले बताए । बिहान बेलुकाको छाक टार्नै समस्या हुने प्राविधिकहरुलाई सहयोगका लागि प्राविधिक संघले विपन्नता व्यवस्थापन कोष समेत खडा गरेको छ ।
आइतवारबाट प्राविधिकहरुको घरमै राहत सामाग्री पुर्याउने तयारी गरिएको अध्यक्ष लामाले जानकारी दिए । प्राविधिकलाई ३ हजार रुपैयाँ बराबरको राहत प्याकेज स्वरुप एक बोरा चामल, दाल, खाने तेल, नुनजस्ता अत्यावश्यक खाद्यन्न सामाग्री प्रदान गरिने उनले बताए । संघमा आबद्ध १३ सय सदस्यमध्ये आइतबार र सोमबार गरि तीन सय जनालाई राहत वितरण गरिँदैछ ।फिल्मीखबर,



