
काठमाण्डौ
अहिलेको समयमा आफूलाई डिमान्डेड अभिनेत्रीको रुपमा उभ्याएकी वर्षा राउतले फिल्म अभिनयमा पाइला राखेको चार वर्ष वितेको छ । विकासराज आचार्य निर्देशित फिल्म ‘नाईं नभन्नू ल ४’ बाट उनले अभिनेत्रीको रुपमा सुखद डेब्यू गरेकी थिइन् । यो फिल्म निर्माण भएको बुधवारबाट चार वर्ष पूरा भएको छ । यसमा उनको अभिनयको दर्शक तथा समीक्षकले प्रशंसा गरेका थिए ।
उनको चार वर्षे फिल्म यात्रा उतार-चढावपूर्ण रह्यो । यो अवधिमा उनी अभिनीत फिल्म ‘छक्का पन्जा, छक्का पन्जा २, जात्रा, जात्रै जात्रा, दाल भात तरकारी र मिस्टर झोले’ ले सफलता हात पारे भने ‘मेरो पैसा खोइ ?, गोपी र चौका दाउ’ डिजास्टर सावित भए । उनी अभिनीत पछिल्लो रिलिज फिल्म ‘जात्रै जात्रा’ हो । यो फिल्मको सफलताले उनको करिअरमा ठूलो राहत मिलेको छ ।
चार वर्ष लामो फिल्म करिअरमा उनको खातामा फ्लपभन्दा हिट फिल्मकै संख्या बढी छ । यस हिसाबमा उनको चार वर्षे फिल्म यात्रालाई सफल मान्न सकिन्छ । तर, यो अवधिमा उनकै भरमा फिल्म चल्ने अवस्था भने बनेन । ‘जात्रा’ सिरिजबाहेक उनी अभिनीत जति पनि फिल्मले बक्सअफिसमा व्यवसायिक सफलता हासिल गरे, त्यसको श्रेय पनि अरुकै पोल्टामा गयो ।
अहिले उनको पाइपलाइनमा ‘२ नम्बरी, के घर के डेरा र नाईं नभन्नू ल ६’ छन् । कोरोना भाइरसको त्रासका कारण यी फिल्मको छायांकन स्थगित भएका छन् । स्थति सामान्य भएपछि उनी ‘२ नम्बरी’ को छायांकनमा व्यस्त हुनेछिन् । चार वर्षे फिल्म यात्रामा आफूले दर्शकको माया, उत्कृष्ट निर्देशकहरु र कलाकारको साथ पाएकोमा अभिनेत्री वर्षा राउतले खुसी व्यक्त गरेकी छन् ।फिल्मीखबर,



