
अर्जुन अधिकारी
काठमाडाैं
नयाँ पत्रिका विस्तृत रिपोर्ट : अप्रेसन र थेरापी रोकिएर क्यान्सरबिरामी पीडामा, चार घन्टा डायलाइसिस गर्नुपर्ने मिर्गौला बिरामीको दुई घन्टा मात्र डायलाइसिस । श्वासप्रश्वास, मुटु, मधुमेह, उच्च रक्तचापलगायतका जोखिमपूर्ण रोगसँग लडिरहेका विपन्न बिरामी अस्पताल पुग्न सकेनन्
विश्व स्वास्थ्य संगठन भन्छ, ‘श्वासप्रश्वास, मुटु रोग, मिर्गौला रोग, मधुमेह, उच्च रक्तचाप र क्यान्सरलगायतका दीर्घरोगबाट पीडित बिरामीहरू कोरोनाबाट उच्च जोखिममा छन् ।’ यता, नियमित औषधि–उपचार पनि नपाउँदा यस्ता दीर्घरोगी अर्को जोखिममा परेका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९ बाट मृत्यु भएकामध्ये १३.२ प्रतिशत मुटुरोग, ९.२ प्रतिशत मधुमेह, ८.४ प्रतिशत उच्च रक्तचाप, ८ प्रतिशत श्वासप्रश्वास र ७.६ प्रतिशत क्यान्सरपीडित छन् ।
रोगप्रतिरोधी क्षमता कमजोर हुने यो समूहका व्यक्ति संक्रमणको उच्च जोखिममा रहेको भन्दै स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय संघसंस्थाले सचेत गराइरहेका छन् । तर, नेपालमा भने नियमित औषधि–उपचार नपाएर उनीहरूको जीवन जोखिममा परेको छ ।
स्वास्थ्य सेवा विभागको एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमार्फत देशभरका अस्पतालबाट प्राप्त तथ्यांकअनुसार ११ लाख ५३ हजार दुई सय ५३ दीर्घरोगी छन् । त्यस्तै, ०७५/७६ मा चार लाख १२ हजार दुई सय ३० गर्भवती भएको तथ्यांक थियो । महाशाखाका तथ्यांक अधिकृत वीरबहादुर रावल गर्भवतीको अवस्था हरेक वर्ष उस्तै हुने गरेको बताउँछन् ।
रावलका अनुसार देशभर उच्च रक्तचापको समस्या भएका बिरामी मात्रै पाँच लाख ७५ हजार १२ जना छन् । तर, लकडाउनका कारण उनीहरूले नियमित सेवन गर्नुपर्ने औषधि नै पाउन छाडेका छन् । अधिकांश औषधि पसल बन्द हुँदा समस्या भएको छ । बिरामीलाई स्वास्थ्य संस्था वा औषधि पसल पुग्न यातायातको समेत समस्या छ ।
मिर्गौला रोगीका समस्या उस्तै छन् । सातामा दुईपटक नियमित डायलाइसिस गराउनुपर्ने कतिपय बिरामी लकडाउनका कारण अस्पताल पुग्न सकेका छैनन् । बल्लतल्ल अस्पताल पुग्नेहरूलाई पनि आवश्यक स्वास्थ्य सामग्री अभाव भएको भन्दै अधुरो डायलाइसिस गरेर फर्काइदिने गरिएको छ ।
विश्वभर कोभिड–१९ बाट मृत्यु
-मुटुरोगी– १३.२%
-मधुमेह– ९.२%
-उच्च रक्तचाप– ८.४%
-श्वासप्रश्वास– ८%
-क्यान्सर–७.६%
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले एक हप्ता लकडाउनको अवधि बढाए मिर्गौला रोगीले नियमित सेवन गर्ने औषधि पाउनै छाड्ने र बिरामी बचाउनै समस्या पर्ने बताए ।
‘समस्या देखिन थालिसकेको छ । अहिले हामीले बिरामीलाई जुन औषधि भेटिन्छ, त्यही खानु भनेर अनुरोध गरेका छौँ । बचाउनकै लागि औषधि परिवर्तन गरेर भए पनि खान भनेका हौँ,’ डा. काफ्लेले भने, ‘भारत र नेपालले लकडाउन बढाए भने मिर्गौला रोगीको उपचारमा थप समस्या हुन्छ, बचाउनै मुस्किल पर्छ ।’
वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ डा. अर्जुन कार्की दीर्घरोगीले अत्यावश्यक नियमित सेवा छुटाउनै नहुने बताउँछन् । ‘औषधि थप्ने मात्रै हो भने चिकित्सकसँग फोनबाटै परामर्श लिन पनि सकिन्छ, तर नआई नहुने बिरामी आउनैपर्छ,’ उनले भने, ‘नियमित औषधि र उपचार छुटाए त्यही रोगले ज्यान जान सक्छ । यो अवस्थामा कोरोनासँग बच्न अस्पताल आउँदा उच्च सतर्कता भने अपनाउनुपर्छ ।’
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बराल क्यान्सर, मुटु र मिर्गौलाका बिरामीले नियमित खानुपर्ने औषधि बजारमा अभाव हुन थालेको बताउँछन् । ‘क्यान्सरका सबैजसो औषधि भारतबाट आउने हो, अहिले रोकिएको छ । मौज्दात भएका औषधि पनि सकिन थालेका छन्,’ डा. बरालले भने, ‘भारतबाट कहिले आवतजावत खुल्ने यकिन छैन । यसले क्यान्सरपीडितको उपचारमा विकराल अवस्था आउँछ । हामी पनि कहिलेसम्म अस्पताल जाने भन्ने अन्योल छ । उपत्यकाबाहिरबाट आउनुपर्ने बिरामी पनि लकडाउनले रोकिएका छन् । शल्यक्रियादेखि केमो गर्नसमेत समस्या आएको छ ।’
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बिरामीको उपचारमा कुनै अवरोध नगर्न अस्पताल र औषधि पसललाई भनिएको बताउँछन् । ‘अत्यावश्यक स्वास्थ्य सेवा सञ्चालन गर्न र औषधि पसलहरू खोल्न सबैलाई आग्रह गरिएको छ,’ डा. देवकोटाले भने, ‘दीर्घरोगका बिरामीलाई चौबिसै घन्टा सेवा दिन अस्पतालहरू तयार हुनुपर्छ । प्रदेश र स्थानीय तह पनि तयार हुनुपर्छ ।’ तर, अस्पताल पुग्नै बिरामीलाई समस्या परिरहेको छ । जसोतसो गरेर अस्पताल पुगेकाले पनि उपचार नपाएको अवस्था छ । सरकारले समन्वय र कडाइ गरेको छैन ।
मौज्दात औषधि सकिँदै छ, दीर्घरोगी औषधिबाट वञ्चित हुँदै छन् : डा. राजेन्द्र बराल
अध्यक्ष, सार्क फेडरेसन अफ अंकोलोजिस्ट
क्यान्सर, मुटु, मिर्गौलाका बिरामीले नियमित खानुपर्ने औषधि बजारमा अभाव हुन थालेको छ । क्यान्सरका सबै औषधि आउने भारतबाटै हो, लकडाउनले अहिले रोकिएको छ । मौज्दात औषधि पनि सकिन थालेका छन् । कहिले आवतजावत खुल्ने यकिन छैन । लकडाउनले बाहिरबाट उपत्यका आउनुपर्ने बिरामी पनि रोकिएका छन् । नियमित उपचारमा भएको अवरोधले थप समस्या ल्याउने देखिएको छ । यसले क्यान्सरपीडितको उपचारमा विकराल अवस्था आउँछ । हामी पनि कहिलेसम्म अस्पताल जाने अन्योल छ । शल्यक्रियादेखि केमोथेरापी गर्नसमेत समस्या आएको छ ।नयाँ पत्रिका,




