मूल खबर

मजदुर सडकमा छन्, तर चुनावका वेला बसका बस भरेर मान्छे गाउँमा उतार्ने दलका नेता कहाँ छन् ?

मजदुर सडकमा छन्, तर चुनावका वेला बसका बस भरेर मान्छे गाउँमा उतार्ने दलका नेता कहाँ छन् ?
मजदुरको सेवामा जुटेका सुन्दर मनलाई सलाम !
पसिना बगाउन र देश बनाउन सहर पसेका मजदुर लकडाउनले अलपत्र परे, भोकले छटपटाउँदै राजमार्गमा निस्किएका यात्रुलाई खाना खुवाउन ठाउँठाउँमा स्थानीय आफैँ जुटे । तर, चुनावका वेला बसका बस भरेर मान्छे ओसार्ने राजनीतिक दल भने कुनै दृश्यमा देखिएका छैनन्।

चुनाव आउन पाएको हुँदैन, राजनीतिक दलका नेताले बसका बस बुक गरेर हजारौं कार्यकर्ता गाउँमा उतार्छन् । त्यस्तै जनताको मतको आधारमा शक्तिमा पुग्न प्रतिस्पर्धा गर्ने दलका नेताहरू सहरमा मजदुर अलपत्र पर्दा तमासे छन् ।

सरकारले लकडाउन घोषणा गरेर घरभित्रै बस्न आदेश दिएको छ, तर हजारौं मजदुरले तलब पाएका छैनन, छाक टार्न सकेका छैनन् । सहरमा अलपत्र परेपछि ताँति लागेर गाउँ फर्कदैछन् । भोकले छटपटाउदै राजमार्गमा निस्किएका यात्रुलाई खाना खुवाउन ठाउँठाउँमा स्थानीय आफै जुटेका छन् । स्वतस्र्फुत सेवामा जुटेका यी मनकारी भन्छन– दाल चामलको मूल्य होला, तर मानवसेवा अमूल्य छ ।

अहिले ठाउँठाउँमा व्यक्ति, समूह र संस्थाहरूले खाना, खाजा, पानीदेखि चप्पलसम्म बाँडिरहेका छन् । कतिपयले गाडीको व्यवस्था गरेर थकितहरूको यात्रा केही छोट्याइदिएका छन् । केही मनकारीले आफ्नै क्षेत्रमा समस्यामा परेका विपन्नलाई राहत बाँडिरहेका छन् ।

चितवन : चितवन सदरमुकाम भरतपुरको पुल्चोकमा स्थानीय उद्यमी युवाले बटुवालाई सोधीखोजी गर्दै खाना खुवाइरहेका छन् । भोकै–तिर्खै घरतिर लम्किँदै गरेकाहरूलाई २३ चैतदेखि खाना खुवाउँदै आएका छन् । उनीहरूले स्थानीय प्रहरीको सहकार्यमै खाना वितरण गरिरहेका छन् ।

युवा दाताराम घिमिरेका अनुसार साकाहारी बिर्यानी, रोटी र तरकारी खुवाइएको छ । एक व्यक्तिले एक बोतल पानी पनि पाउँछन् । ‘लकडाउन कायम रहेसम्म सेवालाई निरन्तरता दिनेछौँ,’ घिमिरेले भने । झापा, दोलखा, धादिङ, काठमाडौं, दैलेख, बर्दियालगायत जिल्लामा हिँडेकाहरू पुल्चोकमा भेटिने गरेको उनले बताए ।

युवाहरूले पुल्चोकमै अटोमेटिक स्यानिटाइजिङ मेसिन पनि राखेका छन् । बटुवा तथा अत्यावश्यक काममा सवारीसाधन लिएर हिँडेका यात्रुहरूलाई पूरै शरीर शुद्धीकरण गरी पठाउने उद्देश्यले मेसिन राखिएको घिमिरेले बताए । मेसिनमा एकपटकमा चारजना छिर्न सक्ने र १० सेकेन्डमा सबै शुद्धीकरण हुने उनले बताए ।

नवलपरासी : ‘सफा सुन्दर हरियाली गैँडाकोट’ अभियानले बुटवाहरूका लागि राजमार्गस्थित भृकुटी चोकमा खाना वितरण गरिरहेको छ । हालसम्म पाँच सय बटुवालाई खाना खुवाएको संयोजक गणेश सापकोटाले बताए । फ्राइड राइस, तरकारी र पानी वितरण गरिरहेको छ ।

गैँडाकोट नगरपालिका– २ नारायणीनदीको पुलनजिकै लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकी र वातावरण विकास तथा अनुसन्धान केन्द्रकोे संयुक्त पहलमा समस्यामा परेकाहरूलाई निःशुल्क खाजाको व्यवस्था गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने उक्त सडकमा उनीहरूले दैनिक बिहान ८ देखि राति १० बजेसम्म बटुवालाई चाउचाउ, बिस्कुट र पानी वितरण गर्दै आएका छन् ।

सिराहा : काठमाडौंबाट पूर्वको यात्रामा लम्किएकाहरूलाई सिराहाको मिर्चैया र बन्दीपुरमा स्थानीयले खाजाका पोका बाँडेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कर्जन्हा नगरपालिका– २ बन्दीपुरमा स्थानीय युवा र मिर्चैया नगरपालिकामा स्थानीय व्यवसायीले चाउचाउ, बिस्कुट र पानी सहयोग गरेका हुन् ।

‘पैदलयात्रुलाई खाजाको व्यवस्था’ लेखेरै उनीहरूले खाएर जान आग्रह गरेका छन् । चाउचाउ, पानी र भुजा वितरण गरिएको बन्दीपुरका स्थानीय युवा जितेन्द्र यादवले बताए । आफूहरूले खाना नै खुवाउने योजना बनाए पनि प्रहरीले अनुमति नदिएपछि खाजा सहयोग गरेको यादवले बताए । बुधबारदेखि तीन सय पैदलयात्रुले खाजा खाएको उनले बताए ।

त्यस्तै, मिर्चैयामा उद्योग वाणिज्य संघ मिर्चैयाको अगुवाइमा चाउचाउ, बिस्कुट र पानी वितरण गरिएको संघका सचिव भरत महासेठले बताए । दुई दिनमा एक सय ३५ पैदल यात्रुले सेवा लिएको सचिव महासेठले बताए ।

म्याग्दी : सदरमुकाम बेनीमा स्थानीय युवा नेता बालकृष्ण सुवेदीको परिवारले सडकमा अलपत्र भेटिएकालाई निःशुल्क खाना खुवाइरहेको छ । बेनीका सडकमा अलपत्र र बेवारिसे अवस्थामा भेटिएका आठजनालाई जिल्ला प्रहरी कार्यालयको अगुवाइमा उद्धार गरी खुलामञ्चस्थित टहरामा राखिएको र आफूहरूले निःशुल्क खाना खुवाएको सुवेदीले बताए ।

‘संक्रमण नहोस् र बसाइ सहज होस् भनेर उनीहरूलाई खुलामञ्चको टहरामा राखिएको छ,’ सुवेदीले भने, ‘हामी घरमै खाना पकाएर यहीँ ल्याएर खुवाउँछौँ ।’ बेलीको लिटल गार्डेन एकेडेमीका संस्थापक र म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष सुवेदी नेकपाका युवा नेता पनि हुन् ।

सुर्खेत : विभिन्न ठाउँबाट हिँडेर सुर्खेत आइपुगेकाहरूलाई स्थानीय व्यापारी हरि विष्टले यात्रामा सहयोग गर्ने गरेका छन् । स्थानीय कलाकार तथा व्यापारी विष्टले बिहीबार मात्रै चारजनालाई गाडी रिजर्भ गरेर छिन्चुबाट गन्तव्यसम्म पुर्‍याइदिएका थिए । सिलगुडीदेखि आएका दैलेखका चित्रबहादुर शाही, लक्ष्मी शाही तथा विशालकुमार योगी र लक्ष्मी वलीको उद्धार गरेका हुन् । भारतबाट आएका उनीहरूलाई मोरङमा १४ दिन क्वारेन्टाइनमा राखेपछि जिल्ला प्रशासन कार्यालय मोरङले सुर्खेत र बर्दियाको सिमाना बबईमा ल्याएर छाडिदिएको थियो । विष्टले लकडाउनका वेला अँगेनो सल्काउन समस्या भएकाहरूलाई राहत पनि वितरण गरिरहेका छन् । शुक्रबारसम्म उनले वीरेन्द्रनगर र आसपासका ६० परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

सुर्खेतका पत्रकार नगेन्द्र उपाध्यायले पनि विभिन्न व्यक्ति तथा संघसंस्थासँग सहयोग जुटाएर तीन सयभन्दा बढी परिवारलाई खाद्यान्न वितरण गरेका छन् । ०७१ मा आएको बाढीले घरवास उठेपछि सुर्खेतका विभिन्न अस्थायी शिविरमा बस्दै आएकाहरूलाई खाद्यान्न बाँडेको उनले बताए । प्रतिपरिवार ३० केजी चामल, पाँच केजी दाल, पाँच केजी पिठो, एक केजी नुन र तेल बाँडेको उनले बताए ।

पाल्पा : पाल्पा हुँदै दैनिक ५० व्यक्तिले गन्तव्य तताइरहेका छन् । तानसेन गरपालिका– ८ डुम्रेका केही स्थानीय बटुवाको सेवामा जुटेका छन् । जितबहादुर सिलवालको नेतृत्वमा पैसा संकलन गरेर पानी, चाउचाउ, भुजा र बिस्कुट वितरण गरिरहेका छन् ।

‘वृद्धवृद्धादेखि बालबालिकासमेत भोकभोकै हिँडिरहेको देख्दा मनै कटक्क खायो । लकडाउन भन्दै कति झ्यालबाट उनीहरूका दुःख हेरेर बस्ने भन्ने लाग्यो । त्यसपछि हामीले मिलेर आर्थिक संकलन गर्‍यौँ, अनि सहयोगमा जुट्यौँ,’ दीपक कार्कीले भने, ‘भोका पेटले खान पाएपछि खुसी हुँदै धन्यवाद दिँदा ठूलै धर्म गरेजस्तो लाग्दोरहेछ ।’ बुधबारदेखि राजमार्गमा हिँडेका तीन सय पैदलयात्रुलाई पानी र खाजा खुवाएको उनले बताए ।

स्थानीयले नै पैसा उठाएर प्रहरीसँग समन्वय गरेर गाडी व्यवस्था गरी कतिपय मजदुरलाई गन्तव्यमा समेत पुर्‍याएका छन् । ‘सोमबार पोखराबाट हिँडेर शुक्रबार दिउँसो डुम्रे आइपुगेका सुर्खेतका ३६ मजदुरलाई ट्रक व्यवस्था गरेर पठाएका छौँ,’ कार्कीले भने ।

त्यस्तै, तानसेन नगरपालिकाले पोखराबाट हिँडेर आएका ४१ मजदुरलाई प्रहरीसँगको समन्वयमा बस चढाएर गन्तव्यमा पठाएको छ । ‘हेर्दा लखतरान थिए, घरमै जाने भए गाडीमा पठाउनुपर्छ भन्ने लाग्यो,’ मेयर अशोककुमार शाहीले भने ।

विराटनगर : विराटनगर सरोचियाका हरि अधिकारीले श्रीमती र दुई सन्तान रिक्सा चलाएरै पालेका थिए । लकडाउनपछि भने उनी समस्यामा पर्न थाले । तर, विराटनगरका युवाहरूले सडकमा बस्नेलाई खाना खुवाउन थालेपछि उनलाई राहत मिलेको छ । ‘बिहान त यहाँ खाइन्छ, बेलुका जसोतसो टार्नुपर्छ,’ उनले भने ।
अधिकारीसहित समस्यामा परेका सयजतिले यहाँ खाना खान्छन् । स्थानीय वसिम आलम, पेसिर सुवेदी, पप्पु अन्सारीलगायत युवाले समस्यामा परेकाहरूलाई खाना खुवाएपछि उनीहरूलाई राहत मिलेको हो ।

‘सडकमा भोकै भौँतारिएको देखेपछि खाना खुवाउन सुरु गरेका हौँ,’ अभियानको नेतृत्व गरेका विद्यार्थी नेता वसिमले भने, ‘सुरुमा हामी आफैँले पैसा उठाएर खुवाएका थियौँ, अहिले चामल र दाल सहयोग आएको छ ।’ उनीहरूले पप्पुको रोयल बिर्यानी हाउसमा खाना पकाएर वितरण गर्दै आएका छन् । पप्पुले खान पकाउन होटेल र स्टाफ सहयोग गरेका छन् । प्रत्येक दिन बिहान ९ बजेदेखि खाना बाँडिने वसिमले बताए । लकडाउनभर सहयोग गर्ने उनीहरूको योजना छ ।

त्यस्तै, प्रदेश सांसद बिन्दिया कार्कीले कोसी अस्पतालमा बिरामीका कुरुवालाई खाना खुवाउन थालेकी छिन् । उनले गत सोमबारदेखि साँझको खाना खुवाउन थालेकी हुन् ।

बाँके : नेपालगन्जस्थित गुरुद्वाराको अगुवाइमा शिख समुदायले लकडाउनमा अलपत्र मजदुरलाई नियमित खाना, खाजा र पानी खुवाएका छन् । रिक्सा तथा ठेलागाडा चलाउने तथा आर्थिक रूपमा विपन्न परिवारलाई लक्षित गरेर नियमित भोजन गराउँदै आएको शिख धार्मिक गुरु अमरजित सिंहले बताए ।

नेपाल–भारत सीमानाकामा अलपत्र परेका एक सय ८१ जनालाई पनि जिल्ला प्रशासन कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाको आग्रहमा बिहान–बेलुका खाना, दिउँसो नास्ता र पानीको व्यवस्था गरेको सिंहले बताए ।

‘अप्ठ्यारोमा परेका नागरिकको सेवा गर्नु, दीनदुःखीलाई खाना खुवाउनु वा सहयोग गर्नु हाम्रो परम्परा हो,’ उनले भने । भारतबाट सीमामा आएका नेपालीलाई खाना र पानीको समस्या भएको जानकारी पाउनासाथ निःशुल्क व्यवस्था गरेको उनले बताए । उनीहरूले क्वारेन्टाइनमा बसेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई पनि निःशुल्क खाना र खाजा खुवाए । बाहिरबाट आएर अलपत्र परेकाहरूलाई पनि खुवाएको सिंहले बताए ।

शिख अगुवा हरिनाम सिंहले आफैँ खाना र खाजा बनाएर अलपत्र परेकाहरूलाई खुवाउने गरेको बताए । ‘हामी जात, धर्म, समुदाय हेर्दैनौँ,’ उनले भने, ‘असहाय, दीनदुःखी, अलपत्र परेका बेसहारालाई लक्षित गरी भोजन गराउँछौँ । लकडाउनका वेला करिब १५ सयजतिलाई खाना र नास्ता खुवाइसकेका छौँ ।’

धनगढी : धनगढीमा अलपत्र बझाङ, डडेल्धुरा र डोटीका २४ जनालाई स्थानीय युवा यादव जोशीले गन्तव्यमा पुर्‍याइदिएका छन् । लकडाउनको तीन दिनपछि उनीहरू भारतबाट विभिन्न नाका हुँदै आएका थिए । जोशीले तीनवटा गाडी व्यवस्था गरेर गन्तव्यमा पुर्‍याएका हुन् । विभिन्न व्यक्तिबाट सहयोग संकलन गरेर गाडीको बन्दोबस्त गरेको उनले बताए ।

उनकै अगुवाइमा ६० जनालाई भोजनको व्यवस्था पनि गरेका थिए । उनको बोलन्या थली सामाजिक मञ्चले धनगढीमा मेस सञ्चालन गरेको थियो । यो संस्थाले बिरामीहरूलाई घरघरमै औषधि पुर्‍याएर पनि सहयोग गरिरहेको छ । संयोजक जोशीले मिर्गौला, मधुमेह, रक्तचापलगायत एक सय १२ दीर्घरोगीलाई आफ्नै खर्चमा घरमै गएर औषधि वितरण गरेको बताए ।

सिन्धुली : काठमाडौंबाट बिपी राजमार्ग हुँदै घर फर्किने यात्रुलाई सुनकोसी गाउँपालिकाले गाडी व्यवस्था गरेर उद्धार गर्दै आएको छ । गाडीबाट सम्बन्धित जिल्लासम्म पुर्‍याइदिने गरेको हो । अहिलेसम्म आठ हजार पैदलयात्रुलाई उद्धार गरेको गाउँपालिका अध्यक्ष दीपा बोहराले बताइन् । सिरहा, सप्तरी, सुनसरी, झापा, धनुषा, महोत्तरी, सर्लाही, भोजपुर, ओखलढुंगा, खोटाङलगायत जिल्लाका नागरिकको उद्धार भएको उनले बताइन् ।

लहान : दिनरात पैदल हिँडेर घर फर्किरहेका यात्रुलाई सिराहाका विभिन्न ठाउँका मनकारीहरूले स्वस्फुर्त रूपमा खना खुवाउनुका साथै खाजा र पानी बाँडिरहेका छन् ।

उद्योग व्यापार संघले २० चैतदेखि गोलबजारमा यात्रुहरूलाई खाजा र पानी बाँडिरहेको छ । ‘पैदलयात्रुहरूको भोक मेटाउन प्याकिङ गरिएको भुटेको चिउरा, दालमोट, अचार, नुन र पानी दिँदै छौँ,’ संघका अध्यक्ष भरत अग्रवालले भने, ‘गोलबजारको प्रहरी बिटछेउमै साबुनपानीले हात धोएर स्यानिटाइज गरेपछि यात्रु आफैँले खाजा लिने व्यवस्था गरेका छौं ।’ हिँड्ने वेलामा कसैले बाटोका लागि लैजान चाहेमा इच्छाअनुसार थप खाजा र पानी लैजान सक्ने गरी व्यवस्थापन गरिरहेको उनले बताए ।

अध्यक्ष अग्रवालका अनुसार संघमा आबद्ध व्यवसायीले आफ्नो क्षमताअनुसार सहयोग गरिरहेका छन् । शुक्रबारसम्म सन्दीप अग्रवाल, एफसी होटेल, रामसगुन यादव, राजु गुप्ता, परमेश्वर साह, महेश साहलगायतका व्यवसायीले पानी र खाजा सहयोग गरेका छन् ।

संघले नगर क्षेत्रमा रहेका अतिविपन्न परिवारलाई एक हजार बोरा मन्सुली चामल बाँड्ने योजना बनाएको छ । तर, स्थानीय सरकारले रोकिरहेको गुनासो अध्यक्ष अग्रवालले बताए । ‘संघका कोषाध्यक्ष विजय साहले आफ्नो व्यक्तिगत खर्चमा दुई सय १० परिवारलाई २५ किलोको दरले चामल बाँडेपछि नगरपालिकाले रोक्यो,’ उनले भने, ‘संघमार्फत २५ किलो तौलको एक हजार बोरा चामल बाँड्ने तयारीमा छौँ, तर एकद्वार प्रणालीबाट बाँड्नुपर्छ भन्दै नगरले रोकेको छ ।’

त्यस्तै, मिर्चैयाका व्यापारीले पनि पैदलयात्रुलाई बिहीबारदेखि खाजा खुवाउन थालेका छन् । रामनगर मिर्चैया उद्योग वाणिज्य संघका अध्यक्ष हरिशंकर साहका अनुसार कटारीचोकनजिक बिस्कुट, चाउचाउ र पानी राखिएको छ । ‘लकडाउनले सवारीसाधन नचलेपछि मिर्चैया हुँदै जाने पैदलयात्रुलाई खाजा खुवाउन थालेका छौँ,’ उनले भने ।

धनगढीमाईमा व्यक्तिगत खर्चमा खाना
धनगढीमाई नगरपालिका– १० पोल्ट्री व्यवसायी प्रकाश पंजियारले व्यक्तिगत खर्चमा पछिल्लो पाँच दिनदेखि पैदलयात्रुलाई खाना खुवाइरहेका छन् । दैनिक ३०–३५ जनालाई खाना खुवाइरहेको उनले बताए । ‘बाटोमा भोकै–प्यासै हिँड्नेहरूको ताँतीले मन पोल्यो,’ पंजियारले भने । बिहान सबेरैदेखि नौ बजेसम्म आउनेहरूलाई चिया–बिस्कुट खुवाएपछि खाना खुवाएर बिदा गरिरहेको उनले बताए । उनकै छिमेकी गाउँ श्यामपुरका युवाहरूले पनि गाउँका हरेक घरबाट भात, दाल, तरकारी पकाएर चोकमा ल्याएर पैदलयात्रुलाई खुवाइरहेको स्थानीय दोरङ लामाले बताए ।

सर्लाही : हरिवन नगरपालिका– ९ सुखेपोखरीमा अस्पताल चलाउँदै आएका मनकारी अमृता मैनाली र अर्जुन मैनालीको परिवारले भोकभोकै हिँडिरहेका यात्रीलाई आफ्नै खर्चमा खाना र वासको व्यवस्था गर्ने मात्रै होइन, उपचारसमेत गरिरहेको छ । वास बस्नुपर्ने यात्रुलाई उनीहरूले आफूले सञ्चालन गरेको जीवन अस्पतालमै सुत्ने व्यवस्था गरेका छन् ।

मैनाली परिवारले पैदल हिँडिरहेका बिमारी, गर्भवती तथा सुत्केरीहरूलाई आफ्नै एम्बुलेन्समा राखेर गन्तव्यसम्म पनि पठाइरहेका छन् । हिँड्न नसक्ने भएकालाई केही दिन राखेर उपचारपछि समेत पठाएका छन् । धेरै हिँडेर बिमारी भएकाहरू केही समय आराम गरेर जाने गरेको अमृता बताउँछिन् ।

लकडाउनयता यात्रुलाई खाना र खाजा खुवाउन सुरु गरेका उनीहरूले कतिलाई सेवा दिए लेखाजोखा गरेका छैनन् । तर, दैनिक ४५ देखि सयजनासम्मलाई खाना खुवाएको उनीहरूको अनुभव छ । ‘कहिले त दैनिक सयजनासम्म आउँछन्,’ अमृताले भनिन्, ‘रौतहटको चपुरदेखि नै यहाँ खाना खान पाइन्छ भनेर देखाइदिन्छन रे ।’

उनीहरू खाना खानेलाई अस्पतालमै डाकेर दाल, भात, तरकारी र अचार बनाएर खुवाउँछन् । भात नरुचाउनेलाई रोटी, परौठा दिन्छन् । ‘ठूलो झोला बोकेका, थकित भएर हिँडिरहेका जोकोहीलाई देखेपछि खाना खान आउनुस्, पैसा पर्दैन भनेर बोलाउँछौँ,’ अर्जुनले भने, ‘धेरै त आउँछ्न्, कोही–कोही अप्ठ्यारो मान्छन् ।’ यसरी खाना खुवाएको देखेर उनीहरू नै छक्क पर्ने गरेको अर्जुनको अनुभव छ ।

आपतमा परेका पैदलयात्रुलाई आफ्नै खर्चले केही सहयोग गरौँ भनेर निःशुल्क खाना खुवाउन सुरु गरेका मैनालीदम्पतीलाई पछिल्लो समय स्थानीय समाजसेवीहरूले खाद्यान्न सहयोग गर्न थालेको अमृताले बताइन् । ‘हामीलाई चिन्ने–जान्नेहरू केही सहयोग चाहिन्छ भने भन्नुस् है भन्नुहुन्छ, तर हामीले कसैले सहयोग गर्लान् भन्दा पनि आफूले जे सकिन्छ, गरौँ भनेर सुरु गरेका हौँ । कसैलाई केही भनेका छैनौँ, तैपनि केही व्यक्ति चामल–दाल बोकेर आइपुग्नुहुन्छ,’ अमृताले भनिन् ।

मैनालीदम्पती बिहान उठ्नेबित्तिकै खाना पकाएर हटकेसमा राख्छन् । भोकले ओठमुख सुकेर आएका पैदलयात्री खाना खाएपछि दंग परेर जाँदा आफ्नो मनमा छुट्टै आनन्द महसुस हुने गरेको अर्जुनले बताए । ‘बुढाबुढी मात्र भएकाले एकैपटक धेरै मान्छे आउँदा भने गाह्रो हुन्छ,’ अर्जुनले भने ।

यात्रुहरू आउनेबित्तिकै बाटोमै साबुनपानीले हात धुने व्यवस्था गरिएको छ । त्यसपछि मैनलीदम्पतीले केहीबेर आराम गर्न भन्छन् । अनि, बुढाबुढी भान्सामा खानाको तयारीमा लाग्छन् । लामो बाटो हिँडेर आएकाहरूले पेटभरि खाना खान नसक्ने गरेको उनीहरूले बताए । ‘निकै उत्साहित हुँदै खाना खान बस्छन्, तर धेरै दिनको भोको भएर होलान् त्यति धेरै खान पनि सक्दैनन्,’ अमृताले भनिन् ।

शुक्रबार सप्तरीका धीरेन्द्र यादव काठमाडौं छोडेको चार दिनपछि बल्ल भात खान पाएको भन्दै निकै भावुक बने । काठमाडौंबाटै बोकेको थोरै चिउरा र चाउचाउ खाँदै पानीले आन्द्रा भिजाउँदै यहाँसम्म आइपुगेको बताए । ‘खान पाइएन भनेर काठमाडौं छाडेको भोकले झन्डै बाटैमा मरिएन,’ यादवले भने, ‘मान्छेले मान्छेलाई दुःख पर्दा सहयोग गर्ने रहेछन् भन्ने लागेको छ, म पनि कुनै दिन यस्तो अवसर पाए पक्का सेवा गर्नेछु ।’

उता, सर्लाही र रौतहटको सीमामा बागमती युवा क्लबले पनि पैदलयात्रीलाई नि:शुल्क खाजाको व्यवस्था गरेको छ । क्लबले पैदलयात्रुलाई निःशुल्क बोटलको पानी, दालमोट, चिउरा, भुजा, बिस्कुट, चाउचाउ खुवाउने गरेको छ । ‘सयौँ मान्छे भोकभोकै हिँडेको देखेर क्लबको आन्तरिक खर्चबाट खाजा खुवाउने व्यवस्था गरेका छौँ,’ क्लबका अध्यक्ष किस्मतराज मैनालीले भने, ‘उनीहरूलाई खाजा खाँदै आराम गर्ने व्यवस्था गरेका छौँ ।’

हेटौँडा : हेटौँडाका व्यवसायी ध्रुव अधिकारीले विभिन्न सहरबाट घर फर्किएकाहरूलाई खाजा र पानी खुवाएका छन् । काठमाडौं, पोखरा, चितवन, बुटवललगायत सहरबाट हिँडेर तराईका विभिन्न जिल्ला जानेहरूलाई सहयोग गरेका हुन् ।

लकडाउन सुरु भएको तेस्रो दिनदेखि चैत २६ गतेसम्म करिब सात हजार बटुवालाई खाजा (चाउचाउ, बिस्कुट, तरकारी, चिउरा) र प्रशोधित पिउने पानी खुवाएको उनले बताए । उनी पानी उद्योग र रोयल पार्टी प्यालेस सञ्चालक हुन् ।

‘लकडाउनको केही दिनपछि धेरै मानिस हिँडेर आएका थिए । मैले आफ्नै पार्टी प्यालेसमा उनीहरूलाई आराम गराएर खाजा र पानी खुवाएँ,’ उनले भने, ‘वृद्धदेखि बालबालिकासमेत खुट्टा सुन्निनेगरी हिँडेको देख्दा मन थाम्न सकिनँ अनि पार्टी प्यालेसअगाडि खाजा र पानी वितरण गरेको हुँ ।’

त्यस्तै, लायन्स क्लबहरूले राजमार्गका नाकाहरूमा खाजा वितरण गरेका छन् । रातोमाटे, बसामाडी, त्रिभुवन राजपथअन्तर्गत चौकीटोललगायत स्थानमा खाजा बाँडेका छन् । हेटौँडा उपमहानगरपालिकाले पनि दुई सय बटुवालाई खाना खुवाएको जनाएको छ । मेयर हरिबहादुर महतले त्रिभुवन राजपथमा रहेको अन्नपूर्ण भोजनालयमा खाना पकाउन लगाएर खुवाएको बताए ।

पोखरा : पोखरा महानगरपालिका– २० का अध्यक्ष सिम गुरुङले आफूले पाउने सुविधाको रकमबाट लकडाउनमा खाद्यान्न संकट भोगेका मजदुर र अतिविपन्न परिवारलाई राहत दिएका छन् । शुक्रबारसम्म उनले ७९ परिवारलाई खाद्य सामग्री दिएका छन् । स्थानीय टोल विकास संस्थाहरूको सिफारिसका आधारमा आफूले राहत वितरण गरेको अध्यक्ष गुरुङले बताए । निर्वाचन लड्दा गरेको आफूले पाउने सबै तलब भत्तालगायतका सुविधा कल्याणकारी काममा लगाउने घोषणाअनुरूप राहत वितरण गरेको उनले बताए । पहिलो चरणमा एक लाख १९ हजार सात सय रुपैयाँबराबरको खाद्यान्न खरिद गरेको उनले बताए ।

नवलपरासी : सुनवलका व्यवसायीले पैदलयात्रीलाई खाना, खाजा र पानीको व्यवस्था गरेका छन् । शुक्रबार बिहान मात्रै एक सयभन्दा बढी यात्रुलाई सामूहिक रूपमा खाना खुवाइएको छ । लकडाउनका कारण पूर्व–पश्चिम राजमार्गमा सयौँ व्यक्ति भोकभोकै हिँडेर कष्टपूर्ण यात्रा गरिरहेका छन् । पछिल्लो चार दिनदेखि यात्रुहरूलाई खाना खुवाएर गन्तव्यतर्फ पठाउने गरेको ओम मिष्ठान भण्डारका सञ्चालक भाविश्वर न्यौपानेले बताए ।

यसैबीच, पूर्वी नवलपरासीको कावासोतीमा बिहीबार राति अलपत्र परेका ६२ मजदुरलाई खाना खुवाएर गन्तव्यतर्फ पठाइएको छ । कावासोती– ३ का वडाध्यक्ष अमृत श्रेष्ठको पहलमा उनीहरूलाई होटेल ब्लु हेभनमा खाना खुवाइएको थियो । कावासोतीको लक्ष्मी ट्रेड लिंकले उनीहरूलाई पानी, चाउचाउ, बिस्कुट, साबुन र मास्क उपलब्ध गराएको थियो । त्यस्तै, फोर एस सप्लायर्सले ट्रकमा राखेर पूर्वी नवलपरासीको सीमा क्षेत्र दाउन्नेसम्म पुर्‍याएको थियो ।

कालीगण्डकी करिडोरमा काम गर्ने ती मजदुर नवलपुरको बौंदीकालीबाट एक दिन हिँडेर कावासोती आइपुगेका थिए । उनीहरू हिँडेरै बर्दिया, दैलेख, अछाम र कालिकोटस्थित घर फर्कँदै थिए । स्थानीय प्रशासनले ठेकेदार कम्पनीलाई मजदुरहरू जहाँ छन्, त्यही खान बस्नको व्यवस्था गर्न निर्देशन गरे पनि ठेकेदारले वास्ता नगरेका कारण भोकै मर्नुभन्दा घर हिँडेको उनीहरूले बताए । सडकमै सुतिरहेको अवस्थामा भेटिएपछि उद्धार गरेर पठाइएको वडाध्यक्ष श्रेष्ठले बताए ।

धरान : धरान उपमहानगरपालिका– १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रवीण)को नेतृत्वमा स्थानीय व्यवसायीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिमारी लिएर आएका कुरुवालाई एक सातादेखि खाना खुवाउँदै आएका छन् ।

अस्पताल वरपरका होटेलहरू पनि बन्द हुँदा कुरुवाहरू भोकै बस्नुपरेको खबर सुनेपछि अध्यक्ष राईले खानाको प्रबन्ध गर्न थालेका हुन् । अहिले दैनिक चार सयजनालाई खाना खुवाउँदै आएको उनले बताए । स्थानीय औषधि व्यवसायी र समाजसेवीहरूले पनि सहयोग गरिरहेको उनले बताए । स्थानीय चन्द्र गुरुङले आफ्नो जन्मदिनको अवसरमा दुई दिन खाना खुवाएका छन् । औषधि व्यवसायी संघ इकाइ इटहरीका अध्यक्ष नवीन गौतमले पनि एक दिन खुवाएको अध्यक्ष राईले बताए ।

वडा कार्यालय परिसरमा तीनजना कुक नै राखेर पकाएको खाना गाडीमा राखेर अस्पतालको गेटसम्म पु¥याउने गरिएको छ । अध्यक्ष राईले दुई सय २३ विपन्न परिवारलाई राहत पनि वितरण गरेका छन् ।

काभ्रे : लकडाउनका कारण सहरबाट घर हिँडेका पैदलयात्रीलाई बनेपाको पानस पार्टी प्यालेसले सडकमै खानाको व्यवस्था गरेको छ । काभ्रे उद्योग वाणिज्य संघको समन्वयमा विमल सोनाम, विकास श्रेष्ठ, इन्द्र श्रेष्ठ, नवीन वैद्य, निरन्जन तिमल्सिना, दीपक दाहाल, दिनेश दाहाल, अरुण थापालगायतको सहयोगमा खाना र पानीको व्यवस्था गरिएको पार्टी प्यालेसका प्रोपाइटर सूर्य श्रेष्ठले बताए ।

प्रत्येक यात्रुलाई प्याकेटमा तयारी खाना र एक बोटल मिनरल वाटर दिने गरिन्छ । दैनिक पाँच सयभन्दा धेरै व्यक्तिका लागि खाना तयार गरिने प्रोपाइटर श्रेष्ठले बताए । तयारी प्याकेटमा खाना, आलु, काउली र राजमाको अलग–अलग तरकारी, अचार र सलाद राखिएको छ । अहिलेसम्म करिब दुई हजार प्याकेट खाना खुवाएको श्रेष्ठले बताए ।

केही दिनअघिसम्म धुलिखेलमा पैदलयात्रुका लागि जुत्ता र खाजाको व्यवस्था पनि गरिएको थियो । तर, लकडाउनको म्याद थप गरिएसँगै सुरक्षाकर्मीले यात्रुलाई भक्तपुर र काभ्रेको सिमाना साँगामा रोकेपछि सडकमा खाजा र जुत्ताको व्यवस्था हटाइएको छ । त्यस्तै, काभ्रे भञ्ज्याङमा पनि पैदल यात्रुहरूका लागि जुत्ता र खाजा–पानीको व्यवस्था गरिएको छ ।

पैदलयात्रीहरूलाई कांग्रेसको विद्यार्थी संगठन नेविसंघले पनि खाना खुवाइरहेको छ । ‘तीन दिनदेखि दैनिक दुई सय २० जनासम्मले खाना खाइरहनुभएको छ,’ संघका काभ्रे अध्यक्ष नृपेश वादेले भने, ‘बनेपामा खान छुट्नेलाई राजमार्गमा खोजेर पनि खाना खुवाएका छौँ, यो क्रमलाई निरन्तरता दिन्छौँ ।’

धुलिखेलमा नेपाल यातायात मजदुर संगठन धुलिखेल रुट इकाइले पनि केही दिनदेखि पैदलयात्रीलाई खाना खुवाइरहेको छ । ‘करिब दुई सयभन्दा बढीलाई खाना खुवायौँ । चाउचाउ, बिस्कुट, पानी पनि वितरण गरिरहेका छौँ,’ रुट इकाइ अध्यक्ष अर्जुन लामाले भने ।

नमोबुद्ध नगरपालिकास्थित भकुण्डेबेंसीमा स्थानीय व्यापारीले सहयोग जुटाएर ६ दिनदेखि टाढा–टाढा जाने पैदलयात्रीलाई जुस, पानी, बिस्कुट, चाउचाउ वितरण गर्दै आएका छन् । करिब ६ सयजनालाई खाद्य र खाजा वितरण गरिएको व्यापारी ज्ञानेन्द्र श्रेष्ठले बताए । रोसी गाउँपालिकाले पनि बिपी राजमार्ग हुँदै तराईका जिल्ला जाने पैदलयात्रीलाई खाजा र पानी उपलब्ध गराएको अध्यक्ष दलबहादुर (डिबी) लामाले बताए ।

नमोबुद्ध नगरपालिका– ६ का युवाले पैदलयात्रुलाई मिनीट्रकमा राखेर जिल्लाको सिमाना नेपालथोकसम्म पुर्‍याउने व्यवस्था गरेका छन् । सहरबाट विभिन्न स्थानका लागि हिँडेका यात्रुहरूलाई भकुण्डेदेखि नेपालथोकसम्म पुर्‍याइरहेको स्थानीय नवराज रेग्मीले बताए । यो काममा नवराजसँगै राजकुमार रेग्मी, सुजन भण्डारी, सुजन न्यौपाने र पुष्कर न्यौपानेलगायतका युवा सक्रिय छन् । सडकमा हिँडेका यात्रुको कष्टपूर्ण अवस्था देखेर मन थाम्न नसरी उद्धारमा लागेको नवराजले बताए । हालसम्म चार सयभन्दा बढीको उद्धार गरेको उनले बताए ।

यसअघि रोसी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले आफैँ गाडी चलाएर यात्रुको उद्धार गरेका थिए । तर, केही व्यक्तिले गाउँपालिका अध्यक्षले नै लकडाउन तोड्यो भन्ने आरोप लगाएपछि छाडेका थिए । जिल्ला प्रशासन कार्यालयले पनि यात्रुलाई गाडी चढाएर नलान अनुरोध गरेपछि त्यो काम छोडेको अध्यक्ष लामाले बताए ।

बागलुङ : प्युठानको गौमुखी गाउँपालिका– ३ का प्रेम बुढामगर पोखराबाट १५ घन्टा हिँडेर बिहीबार बाग्लुङ सदरमुकाम आइपुगेका थिए । उनीसँगै अर्घाखाँची र रुकुमका अरू केही साथी पनि थिए । बाग्लुङ नगरपालिका र उद्योग वाणिज्य संघको सहयोग तथा जिल्ला प्रहरी कार्यालयको समन्वयमा आश्रयस्थलमा खाने–बस्ने व्यवस्था गरिएका उनीहरूलाई शुक्रबार प्रहरीको गाडीमा जिल्लाको सिमानासम्म पुर्‍याइएको छ ।

बिहीबार र शुक्रबार मात्र पोखरा हुँदै बाग्लुङ आएका २२ जना मजदुरलाई आश्रय दिइएको छ । शुक्रबार १२ जनालाई पठाइएको छ । बाँकी रहेकालाई पनि गाडीको व्यवस्थापन गरी पठाइने बाग्लुङ उद्योग वाणिज्य संघका महासचिव नरेश कँडेलले बताए ।

त्यस्तै, गलकोट नगरपालिकाले पनि पैदलयात्री मजदुरका लागि खाना र आवश्यक औषधिको व्यवस्था गरेको छ । म्याग्दीको बेनीदेखि दाङ हिँडेका ६ जना र पर्वतको कुश्माबाट नेपालगन्जका लागि हिँडेका दुईजना मजदुरलाई खाना खुवाएर नगरपालिकाको गाडीमा खरवाङसम्म पुर्‍याएको नगर उपप्रमुख रेनुुका काउचाले बताइन् ।

‘चर्को घाममा पैदल हिँडेका मजदुरको अवस्था ज्यादै दयनीय बनेको छ । यस्तो अवस्थामा नगरपालिकाबाट केही खानासहित सहजीकरण गरेका हौँ,’ उपप्रमुख काउचाले भनिन्, ‘हटिया बजारमा दूरी कायम गरी खाना र खाजा खुवायौँ, उनीहरूलाई अत्यावश्यक औषधि जीवनजल, सिटामोल पनि दियौँ । पछि, हाम्रै गाडीले खरवाङसम्म छोड्ने काम गर्‍यौँ ।’(नयाँ पत्रिका दैनिकबाट साभार)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button