
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडबाट लोनमा रियल सोसीडाड पुगेका मिडफिल्डर मार्टिन ओडेगार्डले निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनी अर्को सिजन म्याड्रिडमै खेल्ने भन्नेमा भने क्लबका अर्का मिडफिल्डर लुका मोड्रीचमा निर्भर छ ।
सोसीडाडले ओडेगार्डलाई दुई वर्षका लागि लोनमा अनुबन्ध गरेको हो । तर लिगकै उत्कृष्ट मिडफिल्डर रहेका ओडेगार्डलाई म्याड्रिडले एक सिजन अघि नै फिर्ता बोलाउने सम्भावना पनि रहेको छ । उनको उत्कृष्ट लय र मोड्रीचको बढ्दो उमेरसँगै खस्कँदो प्रदर्शनले रियल उक्त विकल्पतर्फ पनि अध्ययन गरिरहेको छ ।
मोड्रीचले अर्को सिजन पनि क्लबमै बस्ने निर्णय लिएको अवस्थामा सम्भवत ओडेगार्ड सोसीडाडकै जर्सीमा अर्को सिजन देखिनेछन् । तर मोड्रीचका लागि अन्यत्रबाट राम्रो प्रस्ताव आएमा रियलले उनलाई पठाएर ओडेगार्डलाई फिर्ता बोलाउन सक्छ । यसले रियललाई दोहोरो फाइदा हुने देखिन्छ ।
मोड्रीच सिजनको मध्यतिर इटालियन क्लब एसी मिलानसँग नजिकिएको खबर आएको थियो । तर मिलानले क्लबका निर्देशक बोबानलाई पदमुक्त गरेसँगै त्यो सम्भावना पातलिएको छ । बोबान मोड्रीचका नजिकका साथी थिए ।
त्यसो त रियलले यस ट्रान्सफर विन्डोमा मोड्रीचभन्दा पहिले ग्यारेथ बेल, हामेस रोड्रीग्वेज र मारियानो डियाजको अवस्थालाई सुल्झाउनु पर्नेछ । कोरोनाका कारण आर्थिक मन्दी बढेकाले रियललाई थप समस्या हुने देखिन्छ । हामेसलाई डेविड बेकह्यामले मेजर लिग सकरको आफ्नो टोली इन्टर मायमीमा अनुबन्ध गर्ने प्रयास गरेका छन् । बेल र मारियानोको स्थिति भने अझै प्रष्ट भएको छैन ।hamrokhelkud/from



