तत्कालीन समाजवादी पार्टी (हाल जनता समाजवादी) का सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको अभियोगमा उजुरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ।
सतारुढ दल नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी उजुरी दर्ता गर्न प्रहरी परिसर काठमाडौंले अस्वीकार गरेको हो।
पार्टी फुटाउने उद्देश्यले नेकपा नेताहरुले जनकपुरमा रहेका आफ्ना सांसद डा. सुरेन्द्र यादवको अपहरण गरी काठमाडौं ल्याएको आरोप समाजवादी पार्टीले लगाउँदै आएको छ। यसबारे महेश बस्नेत र सर्वेन्द्र खनालले डा. सुरेन्द्र यादव आफूखुसी काठमाडौं आएको बताउँदै आएका छन्।
उजुरी दर्ता गर्न जनता समाजवादीका अध्यक्ष बाबुराम भट्टराई, सांसद डा.यादवलगायत नेताहरू आज प्रहरी परिसर पुगेका थिए। तर, प्रहरी परिसरले उजुरी दर्ता गर्न नमानेको भन्दै अध्यक्ष भट्टराईले ट्विटरमार्फत् आक्रोश व्यक्त गरेका छन्।




