मूल खबर

बागमती प्रदेशका १३ वटै जिल्लामा पत्रकारका लागि स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । कोभिड १९ नामक भाइरसको महामारी वेला अग्रपंक्तिमा रहेर बागमती प्रदेशमा काम गर्ने पत्रकारका लागि स्वास्थ्य सुरक्षासँग सम्बन्धित सामग्री वितरण गरिएको छ ।
नेपाल पत्रकार महासंघ प्रदेश समिति र उपत्यका समितिको संयोजनमा सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले मंगलबार १३ वटै जिल्लामा कार्यरत करीव पाँच सय पत्रकारका माक्स, स्यानेटाइजर र पञ्जा बितरण गरेको हो ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, धादिङका अध्यक्ष नवराज छत्कुली,नुवाकोटका लागि प्रदेश समिति सदस्य रामहरि गजुरेल र रसुवाका अध्यक्ष हेमनाथ खतिवडालाई सम्बन्धित जिल्लाका पत्रकारका लागि नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष प्रताप बिष्टले ती सामग्री हस्तान्तरण गर्नु भएको हो ।
नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्की, रामेछापका अध्यक्ष रमेश ढुंगेल ,दोलखाका लागि प्रदेश समितिका सदस्य बद्री नयाँघरे, काभ्रेपलाञ्चोकका अध्यक्ष मोतीराम तिमिल्सिना,सिन्धुपाल्चोकका अध्यक्ष महेश श्रेष्ठ, काठमाडौका अध्यक्ष शान्तराम बिडारी,भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेललाई सम्बन्धित जिल्लाका पत्रकारका लागि सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटा, नेपाल पत्रकार महासंघ प्रदेश समितिका उपाध्यक्ष यदु गौतम, महासचिव कृष्ण सारुमगर र उपत्यका समितिका महासचिव श्रीजन झाले ती स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा मार्फत ती सामग्री सम्बन्धित जिल्लामा कार्यरत पत्रकारलाई हस्तान्तरण हुनेछ । क्यामरापर्सन र फोटो पत्रकार, टेलिभिजन,रेडियो,अनलाइन र पत्रिकामा काम गर्ने पत्रकारलाई प्राथमिकताका आधारमा ती सामग्री वितरण गर्न नेपाल पत्रकार महासंघका जिल्ला शाखालाई अनुरोध गरिएको छ ।
यसैगरी फोटो पत्रकार क्लबका अध्यक्ष बिकास कार्कीलाई ती सामग्री हस्तान्तरण गरिएको छ ।सञ्चार रजिष्ट्रार कार्यालयमा आइपुग्न सक्ने केहि पत्रकारले पनि ती सामग्री प्राप्त गरेका छन् ।
आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले सोमबार हेटौडामा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिलाई हस्तान्तरण गरिएका सामग्री मंगलबार १३ वटै जिल्लामा पुरयाउने व्यवस्था मिलाइएको हो । लकडाउनका कारण एक ठाउँमा वितरण गर्न कठिन भएका कारण सम्बन्धित जिल्ला र नजिकका स्थानमा नेपाल पत्रकार महासंघका शाखाका पदाधिकारीलाई बोलाएर ती सामग्री हस्तान्तरण गरिएको हो ।
सिन्धुपाल्चोक, काभ्रे,काठमाडौ,भक्तपुर र ललितपुरका पत्रकार महासंघका अध्यक्षलाई सञ्चार रजिष्ट्रारको कार्यालय काठमाडौबाट ती सामग्री वितरण गरिएको थियो । दोलखा र रामेछापका लागि खुर्कोटमा, रसुवा र नुवाकोटका लागि गल्छीमा,धादिङका लागि मलेखुमा ती सामग्री हस्तान्तरण गरिएका थिए । चितवन,मकवानपुर र सिन्धुलीका पत्रकारका लागि सम्बन्धित जिल्लामा ती सामग्री हस्तान्तरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button