खबर

सरकार गठन-विघटनमा कांग्रेस सहभागी नहुने

काठमाडौँ। सत्तारुढ दल नेकपाभित्र विवाद चर्किरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको वैधानिकतामाथि प्रश्न उठाएको छ। उसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए पनि प्रधानमन्त्रीको राजीनामा भने मागेको छैन। सरकार गठनकै बेलादेखि निरन्तर संविधानमाथि प्रहार भइरहेको भन्दै कांग्रेसले अध्यादेशले त सरकारले वैधानिकता गुमाएको दाबी गरेको छ।

पछिल्लो राजनीतिक विकासक्रम र कोरोना भाइरसबारे छलफल गर्न बुधबार केन्द्रीयसमिति बैठक बसेको थियो। बैठकले सरकार सञ्चालनको वैधानिक र नैतिक आधार गुमाएको निष्कर्ष निकालेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित अधिकांश केन्द्रीय सदस्यले प्रधानमन्त्रीको कार्यशैलीको आलोचना गरेका थिए।

सभापति देउवाले कोरोना भाइरस नियन्त्रण गर्न सरकारले ठोस कार्यक्रम ल्याउन नसकेको बताए। कोरोना संक्रमणको लामो समय बिते पनि स्वास्थ्यकर्मी अत्यावश्यक स्वास्थ्य उपकरणबिनै जोखिम मोलेर काम गर्न बाध्य भएको उनको भनाइ थियो।

‘लकडाउन लम्ब्याउने कामबाहेक सरकारले कोरोना रोकथाम गर्न कुनै उल्लेख्य गरेको छैन’, उनले भने, ‘स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल गिराउने काम सरकारबाट भइरहेको छ। अहिलेसम्म राहतका कार्यक्रम ल्याएको छैन।’

कोरोना महामारीविरुद्ध लड्नुपर्ने बेला सरकार संविधानको मर्मविपरीत हुने गरी दल विभाजन र प्रतिपक्षीको भूमिकालाई कमजोर बनाउने काममा सक्रिय भएको आरोप नेताहरूले लगाएका थिए। उनीहरूले राष्ट्रपतिको भूमिकालाई लिएर पनि आपत्ति जनाएका थिए।

‘एकातिर त्यस्ता अध्यादेश जारी गर्ने, त्यससँगै अर्काको पार्टी तोड्न सांसद अपहरण गर्न बाहुबलीहरु खटाउने र लकडाउनमा जनकपुरको गाउँमा बसिरहेको सांसदलाई आस, त्रास देखाउँदै काठमाडौंं ल्याउने कार्य गर्नु रक्षक नै भक्षक बनेको हो कि होइन ? ’, वरिष्ठ नेता पौडेलले भने, ‘संविधानका संरक्षक राष्ट्रपति नै धृतराष्ट्र बनेपछि हस्तिनापुरको संरक्षण कसले गर्ला? ’

उनले स्वास्थ्य उपकरण खरिदमा भएको अनियमितता, गाउँ फर्किन नपाएर अलपत्र परेका नागरिकका समस्यादेखि राहत नपाएको विषयमा लिखित धारणा राखेका थिए। उनले चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी समूहसँग भएको सम्झौतामा अनियमितता देखिएपछि हतारमा ठेक्का रद्ध गरेको दाबी गरे। खगेन्द्र भण्डारीले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button