खेलकुद

मनकारी एलिनाः पुरस्कारको आधा रकम विपन्नलाई राहत

काठमाडौं (हाम्रो खेलकुद) – गतवर्ष नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा टेवल टेनिसतर्फ कास्यपदक जित्न सफल एलिना महर्जनले आफुले प्राप्त गरेको पुरस्कार रकमको ५० प्रतिशत रकम बराबरको खाद्यान्न सामग्री महामारीको रुपमा लिएको कोरोना भाइरसका (कोभिड–१९) र लकडाउनका कारण विपदमा परेका परिवारलाई हस्तान्तरण गरेकी छिन् ।

विभागीय नेपाल पुलिसमा कार्यरत एलिनाले सागमा टेबल टेनिसतर्फ महिला टिम इभेन्ट्समा कास्य जितेकी थिइन् । नेपाल सरकारले टिम इभेन्टसमा कास्य जित्न सफल खेलाडीलाई जनही २ लाख नगद दिने घोषणा गरेको थियो । घोषणा गरे बमोजिम नै एलिनाले वैशाख पहिलो साता आफ्नो खाता २ लाख रुपैया प्राप्त गरेकी थिइन् ।

एलिनाले सोही पुरस्कारको ५० प्रतिशत (एक लाख रुपैयाँ) बराबरको खाद्यान्न सामग्री काठमाडौं महानगरपालिका वडा नम्वर १७ खुशिबुका विपन्न परिवारलाई हस्तान्तरण गरेकी हुन् । उनले ५ केजी चामल, १ किलो दाल, चिउरा, नुन र तेल २ सय घर परिवालाई हस्तान्तरण गरेकी हुन्। एलिनाले वडा नम्वर १७ को स्वीकृतिमा वडाका सदस्यहरु समेत राखेर वडाले संकलन गरेको तथ्यांकको आधारमा राहत सामग्री वितरण गरिएको बताइन् ।

विपन्न परिवारलाई सहयोग हस्तान्तरण गरेपछि एलिनाले आफुले सक्ने सहयोग गरेको सहयोग गर्न पाउदा खुसी लागेको बताइन् । ‘एकदमै खुसी लागेको छ । केही परिवारलाई केही दिनको लागि भएपनि खाना खान पाउने अवस्था बनाएको छु । थोरै भएपनि राहत पाउने परिवारहरु एकदमै खुशी देखिएको थियो,’ एलिनाले भनिन्, ‘तर, मलाई दुःख पनि लागेको छ । त्यहाँको सबै परिवारलाई सहयोग गर्न सकिन । एक्लैले धेरै सहयोग गर्न नसकिने रहेछ । धेरैले मन दुखायो । मेरो मन पनि खिन्न भयो । तर, म सकेको सहयोग अझै गर्नेछु ।’

एलिनाले यस्तो विपदमा रहेका परिवारलाई आर्थिक स्थिति राम्रो भएकाहरुले सहयोग गरिदिन समेत आग्रह गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button